सिमिकोटले सुरु गर्याे स्थानीय पाठ्यक्रम

हुम्ला– सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन ०७६ अनुसार स्थानीय पाठ्यक्रम तयार गरिएको हो । यसअघि सिमकोटको मानसरोवर नमुना माध्यमिक विद्यालयले मात्र पाठ्यक्रम निर्माण गरी पठनपाठन गराउँदै आएको थियो ।
गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले स्थानीय पाठ्यक्रमको नाम ‘हाम्रो सिमकोट’ राखिएको र हुम्लामै पहिलो पटक सिमकोट गाउँपालिकाले तयार पारेको बताए । पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका हरेक आधारभूत विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागु हुनेसमेत भएको छ । हुम्लाका अन्य ६ वटा गाउँपालिकाले हालसम्म यसरी स्थानीय पाठ्यक्रम तयार पार्न सकेका छैनन् ।
सिमकोट गाउँपालिकाले पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि पुस ७ गते सरोकारवाला पक्षसँग राय सुझाव मागेको थियो । अब स्थानीय पाठ्यक्रम तयार भएको र फागुन २ गतेबाट शिक्षण संस्था सञ्चालन भएपनि गाउँपालिकाका २५ वटै सामुदायिक र संस्थागत विद्यालयमा लागू हुनेछ । पाठ्यक्रमलाई गाउँपालिकाले आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको छ भने सबै विद्यालयलाई समेत पुस्तक प्रदान गर्नेछ । पाठ्यक्रम एक सय पृष्ठ लामो छ ।
स्थानीय पाठ्यक्रममा अंग्रेजी विषय पढाइँदै
सिमकोट गाउँपालिकाबाहेक अन्य ६ वटा स्थानीय तहले कक्षा १ देखि ८ सम्मको आधारभूत तहको स्थानीय पाठ्यक्रमको साटो अंग्रेजी विषयको पठन पाठन गर्दै आएका छन् । हालसम्म स्थानीय विषयको पाठ्यक्रम स्थानीय तहले तयार नगर्दा विद्यालयहरुले अंग्रेजी विषयको पठनपाठन गरेका हुन् । स्थानीय विषयमा नेपाल सरकारले त्यस स्थानीय तहको बोलीचालीको भाषा, संस्कृति, सीप, कला, कौशल लगायतका विषयमा ज्ञान दिन व्यवस्था गरेको भएपनि अंग्रेजी विषय अध्यापन गराउँदा विद्यार्थीलाई अझ थप गाह्रो भएको छ ।