पुंगी खोलाको सौन्दर्यकरण र सीमांकन निर्माणकार्य तीव्र

चितवन– भरतपुर महानगरको मुख्य सहरी क्षेत्र भएर बघ्ने पुंगी खोलाको सौन्दर्यकरण र सीमांकन निर्माणकार्य एकसाथ अघि बढेको छ । करिब १० महिनाअघि सुरु भएको सीमांकन र पुंगी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ ।
खोलाको वडा ३, ४ मा पर्ने करिब पाँच किलोमिटर सीमांकन कार्य पूरा भइसकेको छ भने वडा नम्बर २ र ११ को एक किमिमा सीमांकन कार्य हुँदैछ । ६ किलोमिटर लम्बाइ रहेको पुंगी खोलाको चौडाइ १० देखि ४० मिटरसम्म छ । वर्षात्को समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुवै कार्यलाई तीव्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
‘सीमांकन पूरा गरेर काम गर्छुभन्दा अझै समय लाग्ने भयो,’ उनले भनिन्, ‘दुवै काम एक साथ बढाउँदा जनतामा उत्साह थपिन्छ । सुन्दर र हरियाली सहर बनाउने संकल्प पूरा हुन्छ ।’ भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सकृय सहयोग गर्न प्रमुख दाहालले अनुरोध गरेकी छन् । आफ्नै कार्यकालमा संघ, प्रदेश र महानगरपालिकाको बजेटबाट काम पूरा गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
पहिलो चरणको निर्माण कार्यअन्तर्गत पुंगीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् । गरुयोजनाअनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो ।