Logo

ठेक्काको मिति सकिँदा पनि पुल निर्माण सुरु भएन

सुर्खेत– आइतबार जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको कच्ची झोलुंगे पुलबाट लडेर मृत्यु भयो । नलगाड नगरपालिका र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको नलगाड नदीमा रहेको कच्ची लथालिंग पुलबाट नदी पार गर्न लाग्दा राजुको मृत्यु भएको थियो । राजु त अहिले देखिएको प्रतिनिधिमूलक पात्र हुन् । यो ठाउँबाट यात्रा गर्दा धेरै मानिसले जिन्दगी हत्केलामा राखेर वारपार गर्नुपरेको नलगाड नगरपालिका–५ का खम्मान सिंहले जानकारी दिए ।

यो पुल मर्मतका लागि तत्कालीन जिल्ला विकास समितिले विभिन्न संस्थाको सहयोगमा पुलका सामान थुपारे पनि बीचमै छाडिएको थियो । उक्त समयमा पुलका ल्याइएका सामानको ढुवानी भाडासमेत नपाएको नलगाड–५ का कौशीबहादुर सिंहले बताए । सोही ठाउँमा झोलुंगे पुल मर्मत हुन नसकेपछि पक्की पुल निर्माण गर्नका लागि २०७८ फागुन १५ गते तत्कालीन जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले उक्त पुलको ठेक्का गरेको थियो । नेपाल मेघा सिस्ने जेभी नेपालगन्ज–२ बाँकेले उक्त पुलको ठेक्का तीन करोड नौ लाखमा लिएको थियो । २०७८/४/२९ मा सम्झौता भएको उक्त पुलको अन्तिम कामसक्ने मिति २०८०/४/२८ रहेको छ । निर्माण अवधि सकिँदासम्म पुलको काम नै सुरु नै नहुँदा समस्या हुँदै आएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटले निर्माण व्यसायलाई धेरै पटक पत्र पठाए पनि मतलव नभएको कार्यालय प्रमुख सोहेन्दर यादवले बताए ।

शिलान्यास गरेको दिनदेखि हालसम्म समय हेर्दा पुल निर्माण भइसक्नु पर्ने थियो । तर पुल निर्माणको काम अहिलेसम्म जहाँको त्यहीं रहेपछि दैनिक सर्वसाधारण जीर्ण झोलुंगे पुलमाथि जिन्दगी धरापमा राखेर यात्रा गरिरहेका छन् । यातायातका साधन आवतजावत गर्नका लागि भन्दै बहुवर्षे ठेक्कामार्फत पक्की पुलको बोलपत्र भई ठेक्का लागि शिलान्यास भएको पुल अहिलेसम्म निर्माण नहुँदा दैनिक सास्तीमात्र भएको छैन, दिगो विकासको लक्ष्यसमेत अवरुद्ध हुँदै आएको छ ।

मन्त्री सिंह हुँदा भएको ठेक्का अहिलेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले पहलकदमी नलिँदा कामले गति लिन सकेको छैन । मन्त्री वेदराज सिंहको घरबाट साघुतरास्थित पुल निर्माणस्थल पुग्न आधा घण्टा लाग्ने गर्दछ । घर जाँदा र आउँदा यही ठाउँलाई केन्द्र बनाउने भए पनि उक्त पुल निर्माणलाई तीव्रता दिन चासो नदिएको गुनासो छ । पूर्वमन्त्री गणेशले सुरु गरेका योजना हालका मन्त्री वेदराजले ध्यान नदिँदा आफूहरूले चाहेको विकास प्रयोग गर्न नपाएको बारेकोट–८ का प्रवीण केसीले बताए ।

पुल निर्माणमा अवरोध आएमा स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेर विकास निर्माणलाई तीव्रता दिनुपर्नेमा जनप्रतिनिधि कानमा तेल हालेर चुपचाप बसेको उनको आरोप छ । नलगाड नगरपालिका–५ का वडाध्यक्ष र बारेकोट गाउँपालिका–५ का वडाध्यक्षले समेत पुल निर्माण गर्नका लागि कुनै दबाब नदिएको स्थानीयबासी मनसुर सिंहले आरोप लगाए । पूर्वमन्त्री सिंहले उक्त पक्की पुल निर्माण गर्नका लागि आफूले धेरै पटक निर्माण व्यवसायी र स्थानीयबासीसँग छलफल गरेको बताए ।

विकास निर्माण गर्ने बाचासहित आएका नयाँ जनप्रतिनिधि जिम्मेवारी ढंगले लागेमा कामले तीव्रता पाउने कुरामा दुईमत नरहे पनि कमिसन आउने काममा मात्र ध्यान दिँदा विगतका योजना अलपत्र परेको स्थानीयबासी रामबहादुर सिंहले बताए । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जाजरकोटस्थित पूर्वाधार विकास कार्यालयले लगाएको उक्त ठेक्का अहिले अलपत्र पर्दै आएको छ । सो समयभन्दा पछाडि जाजरकोटमा एक कार्यालय प्रमुख बदलिएका छन् ।

प्रवीण कार्की कार्यालय प्रमुख हुँदा खोलिएको उक्त ठेक्का अहिलेका कार्यालय प्रमुख सोहेन्दर यादव बहाल हुँदा कार्यालय प्रमुख बदलिए पनि पुलको विकास जहाँको त्यहीं रहेको पाइएको छ । मन्त्री वेदराज सिंहले पहिले ठेक्का लागेको पुललाई ओझेलमा पार्दै सेपुखोलामा बेलिब्रिज निर्माणका लागि बजेट विनियोजन गर्दा साघुतरा–सिर्केको पुल निर्माण कम प्राथमिकतामा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जानकारी दिए ।

उनले पुल निर्माण गर्नका लागि बाटो आवश्यक भएकाले सो कार्यमा आफूले फिल्डमै खटेर समाधान गरे पनि सम्बन्धित कार्यालयले मतलव नगरेको बताए । पुराना योजना निर्माणभन्दा पनि नयाँ योजनालाई ध्यान दिँदा समस्या आएको अध्यक्ष गिरिले बताए । सेपुखोलामा निर्माण हुने बेलिब्रिज मन्त्री सिंहको घर छेउमा रहेको छ । सेपुखोलामा बेलिब्रिज निर्माण भएमा लैखत, सेघुतराको मोटरेबल पुल ओझेलमा पर्ने देखिन्छ । दूरीको हिसाबले आधा घण्टा पैदल रहेको उक्त ठाउँमा मन्त्रीपिच्छे घरपायक बनाउँन खोज्दा दिगो विकास हुन नसकेको सरोकारवाला बताउँछन् ।

सेपुखोलाभन्दा लैखमको पुल धेरै राम्रो भए पनि किन अवरोध गर्न खोजिँदैन मैले बुझेको छैन अध्यक्ष गिरिले बताए । सेपुखोलाको बेलिब्रिज नलगाड जलविद्युत आयोजना निर्माण हुँदा ड्यामस्थलभित्र पर्दछ भने साघुतरा–सिर्केको बीचमा रहेको नलगाडको पुल डुबान क्षेत्रभित्र पर्दैन । जिल्लामा भारी मात्रामा विकास निर्माणका काम लथालिंग भए पनि सरोकारवाला निकाय कानमा तेल हालेर बसेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्