Logo

पशु पहिचान प्रणाली पाइपलाइनमा

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले पशु पहिचान प्रणाली पाइपलाइनमा रहेको बताएका छन् । पशु पहिचान प्रणाली कार्यान्वयनमा आएपछि पशुपालनमार्फत् गुणस्तरिय जीविकोपार्जनमा योगदान पुग्ने उनले बताएका हुन् ।

पशुपन्छी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्द्धन केन्द्र, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्था (आईएलआरआई) बीच बुधबार भएको द्विपक्षीय सम्झौतामा पौडेलले उक्त कुरा बताएका हुन् । पौडेलले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्याहरूलाई समाधान गर्न अनुसन्धानात्मक कार्यहरूलाई स्तरीय र अन्तर्राष्ट्रिय परिवेश अनुकूल बनाउनु चुनौती रहेको बताए ।

उनले भने,‘यस संस्थासँगको सहकार्यले हाम्रा आगामी अनुसन्धनात्मक तथा विकास कार्यहरू बढी फलदायी हुने छ । अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारमा नेपालका पशुजन्य उत्पादनहरूलाई पहुँच वृद्धि गर्नका लागि साझेदारी अझ बढी सार्थक हुने अपेक्षा छ ।’ उनले विश्वमा कुनै पनि चुनौतीका समाधानको लागि सम्बन्धित सरोकारवालाहरू लगायत अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारी अपरिहार्य रहेकोमा कुनै सन्देह नरहेकोले यस कार्यले साझेदारी तथा सहकार्यका ढोकाहरू अझ खुल्दै जाने र यस सहकार्यबाट अधिकतम फाइदा लिन विज्ञहरू लाग्नु पर्ने बताए ।

सचिव पौडेल र आईएलआरआईको तर्फबाट डा.सर्ले तारावालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्द्धनलगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गरिने सम्झौता पत्रमा उल्लेख छ । आईएलआरआई एक विश्वव्यापी रूपमा पशुपन्छीको उत्पादन प्रवर्द्धनलगायत पशुपन्छीको क्षेत्रमा वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने एक अनुसन्धान मूलक अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्शदाता समूह (सीजीआईएआर) अन्तर्गतका १५ वटा कृषि अनुसन्धानका केन्द्रहरूमध्ये एक हो ।

केन्यामा मुख्यालय रहेको यो एक गैरलाभकारी अन्तर्राष्ट्रिय सार्वजनिक संस्था हो । आईएलआरआईले सन् २०१३ देखि अफ्रिका र एशियाका कम र मध्यम आय भएका देशका सरकारसँगको सहकार्यमा ती देशहरूमा विभिन्न स्तरका पशुपन्छी क्षेत्रका गुरु योजना र लगानी योजना विकास गर्न प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आईएलआरआईले नेपालमा पहिले नै परियोजनाहरू सुरु गरिसकेको छ ।

जसमा सीजीआईएआर स्याम्पिलिंग कार्यक्रम, भैंसीको दुग्ध मूल्य श्रृंखला, पशुधन लगानी योजना, क्षमता विकास र लम्पी स्किन रोग नियन्त्रण सम्बन्धी कार्यशाला, पानीको सदुपयोग, मिथेन ग्यास उत्सर्जन, एकीकृत पोषण प्याकेज स्केलिङ सम्बन्धी अन्य परियोजनाहरू समावेश छन् । दुवै पक्ष नेपालमा जलवायु परिवर्तन, जनसंख्या वृद्धि र गरिबीबाट उत्पन्न चुनौतीहरूलाई सम्बोधन गर्न समर्पित छन् । यो साझेदारीले नेपालको कृषि विकास रणनीतिमा योगदान पुर्‍याउने उद्देश्य राखिएको पौडेलले जानकारी दिए ।

अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानका सहायक महानिर्देशक डा.तरावलीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई रूपान्तरण गर्न पशुपन्छी उत्पादनको महत्व हुने बताए । उनले यी उद्देश्यहरू हासिल गर्नका लागि सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरू, द्विपक्षीय विकासका साझेदारहरू र अन्तर्राष्ट्रिय एजेन्सीहरू बीचको समन्वयको आवश्यकतामा जोड दिए ।

तरावलीले नेपाल सरकारसँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै उक्त समझदारीले सही दिशामा ठूलो फड्को मारेको बताए । उनले उच्च आर्थिक वृद्धिका लागि दिगो उत्पादनमार्फत खाद्य र पोषण सुरक्षाको राष्ट्रिय लक्ष्यले प्रमाणित गरेको कृषि र पशुधन विकासमा नेपालको प्रतिबद्धतालाई स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्