Logo

आशा जगाउँदै राँके–रवि–भेडेटार सडक

पाँचथर– राष्ट्रिय राजनीतिमा पकड राख्नसक्ने पूर्वनेता स्व. सुवास नेम्वाङ तथा वसन्त नेम्वाङ र कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको निर्वाचन क्षेत्रमा पर्ने राँके–रवि–भेडेटार सडक खण्ड चार वर्षयता नाजुक अवस्थामा छ । पटकपटक चुनावी एडेन्डासमेत बन्ने यो सडक बर्खाको समयमा यात्रुले निकै सास्ती खेप्नुपर्ने अवस्था छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलीयतपूर्ण ऋण दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेबाट यो सडक निर्माण सुरु भयो । भारतको एक्जिम बैंकले सहुलियतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो ।

तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक बिल्डर्स नामक कम्पनीले करिब चार वर्ष सडक निर्माणलाई गति दिन सकेन । भेडेटार–रवि–राँके सडक निर्माणकार्यले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०१ किलोमिटर लामो सडक निर्माण कार्यमा धनकुटातर्फ प्रगति देखिएको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरु भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा पार्ने कार्य सम्पन्न भएको छ । उक्त खण्डको करिब ४५ किलोमिटर सडकमा सडक चौडा पार्ने कार्य सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाललगायतका भौतिक संरचना निर्माणकार्य अघि बढेको छ । यस्तै इलाम–पाँचथर खण्डको राँकेबजार–घुर्विसेपञ्चमी खण्डमा समेत निर्माणकार्यले गति लिएको छ ।

भेडेटार–रवि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ । ‘पछिल्लो १० महिनामा मात्रै हामीले निर्माणकार्यमा २७ प्रतिशत प्रगति हासिल गरेका हौं,’ रजकले भने, ‘यस वर्ष वर्षायाममा सवारी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यसहित कामअघि बढेको छ ।’

अहिले सडकको ७० किलोमिटर क्षेत्रमा निर्माणकार्य भइरहेको आयोजना प्रमुख रजकले बताए । ‘अहिलेको गति कायम राख्न सके निर्माणकार्य सम्पन्न गर्न धेरै लामो समय लाग्दैन,’ उनले भने, ‘विगतमा कोभिड–१९ महामारी, वातावरणीय प्रभाव मूल्यांकन, रुख कटानी र संरचना हटाउने कुरामा अड्चन आएको छ ।’ उनका अनुसार हालसम्म आयोजना निर्माणमा चार पटक म्याद थप भएको छ । पछिल्लो पटक थप गरिएको म्याद आगामी भदौ १२ गतेसम्म छ ।

आयोजना प्रमुख रजकका अनुसार पछिल्लो पटक मुख्य निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालि आफैंले आयोजनालाई अघि बढाइरहेको छ । यस्तै आयोजनाको परामर्शदाता कम्पनीलाई समेत हटाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतबाटै परामर्शको समेत काम गर्ने व्यवस्था मिलाइएपछि निर्माणकार्यले गति लिएको हो । यस्तै आयोजनाको रुख कटानी, निर्माण सामग्रीको उत्खनन् तथा प्रयोग, भौतिक संरचना विस्थापनसहितका कार्य सम्पन्न भएकाले आयोजना अघि बढाउन कुनै समस्या नरहेको उनको भनाइ छ ।

‘ग्राबेल र नाली बनाइसकेको अवस्थामा इलाम–पाँचथरबासीले पाउने गरेको दुःख अब हुँदैन । त्यो दुःख यो वर्षामा हटाउन सक्छौं भन्ने मैले विश्वास लिएको छु,’ रजकले भने तर पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ हुलाकका डिल्ली राई सडक कालोपत्रे हुने कुरामा आफूलाई विश्वास लाग्न छाडेको बताउँछन् । ‘कालोपत्रे हुने भनेको यत्तिका समयमा पनि यहाँ कुनै काम हुन सकेको छैन । बर्खा लाग्नासाथ पैदल हिँड्नुपर्ने अवस्था आउँछ,’ राईले भने ।

यो सडक धनकुटामा ४५.३९ किमि, पाँचथरमा ३०.१८ किमि, इलाममा २२.१९ र इलाम–पाँचथर सीमामा २.०६ पर्छ । उच्च पहाड हुँदै निर्माणाधीन सडक बर्खा लाग्नासाथ हिलाम्य हुने हुँदा सवारी सञ्चालन ठप्पप्रायः हुन्छ । कुल तीन अर्ब ६५ करोड ८४ लाख लागतमा एक सय दशमलव ३६७ किलोमिटर सडक नौ मिटर चौडा र कालोपत्रे गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्