Logo

भूकम्प प्रभावित क्षेत्रमा खानेपानी समस्या

सुर्खेत– जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी पूर्णकला रानालाई यतिबेला खानेपानीको जोहो कसरी गर्ने भन्ने पिरालोले सताइरहेको छ । रिम्नाको डाँडागाउँमा धारामा पानी नआउँदा पिउने, शौचालय लिने, सरसफाइ गर्ने र पशुचौपायालाई खुवाउने पानीको हाहाकार भएको हो । पानी जुटाउन निकै समस्या भइरहेको उनले गुनासो गरिन् । बिहान बेलुका खानेपानी जुटाउँदैमा समय बित्छ उनले भनिन्, ‘चर्पीमा लिने पानी नहुँदा जंगलमा खुल्ला शौच गर्न बाध्य छौं ।’

जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले मुहान सुकेपछि जिल्लाको भेरी नगरपालिका–१ रिम्ना गाँउमा खानेपानीको हाहाकार भएको छ । गाउँदेखि माथि रहेको बुदबुदी खानेपानी मुहानको पानी भूकम्पका कारण भासिएपछि धारामा पानी आउन छोडेको हो । उक्त मुहानको खानेपानी बन्द भएपछि स्थानीय एक घण्टा टाढा रहेको भेरी नदीको पानीले गुजारा चलाउन बाध्य छन् ।

उकालो बाटोमा पैदलै बोकेर धेरै पानी ल्याउन सकिँदैन गाग्रीमा बोकेको पानीले आफू प्रयोग गर्ने कि पशुचौपायालाई खुवाउने ? बढो समस्या भयो । भूकम्पले घर र चर्पी दुवै भत्किएपछि त्रिपालमा बसाइँ सरेको छ । अस्थायी चर्पी भए पनि पानी नहुँदा प्रयोगविहीन छन् । धेरैजसो स्थानीय खुला जंगलमा गएर दिसापिसाब गर्न थालेका छन् स्थानीय दिलिप रानाले भने, ‘भूकम्पपछि त्रिपालको बसाइँ, हिउँदको चिसो त्यहीमाथि खानेपानीको निकै समस्या छ ।’ खानेपानी समस्याकै कारण सरसफाईको अभावले पखाला, रुघाखोकी, टाइफाइड लगायतका समस्या देखिन थालेका छन् ।

रिम्ना गाउँमा डेढ सय घरपरिवार छन् । तल्लो भेग जहाँ बजार क्षेत्र पर्छ त्यहाँ नदी नजिकै पर्ने भएकाले पनि त्यति समस्या नभए पनि अलि माथि डाँडाटोलमा करिब ३० घर परिवारका लागि पानीको निकै समस्या रहेको वडा सदस्य प्रजित रानाले बताए । रिम्ना बजारमा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा पनि खानेपानीको समस्या रहेको प्रधानाध्यापक प्रेमबहादुर पुनले बताए । ४५० विद्यार्थी रहेको उक्त विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीलाई निकै समस्या भएको छ ।

खानेपानी नहुँदा सबैभन्दा शौचालय प्रयोगमा समस्या देखिएको छ । भूकम्पले विद्यालय, शौचालय र खानीपानीका ट्यांकी भत्किएपछि अहिले केही संघसंस्थाको सहयोगमा बनाइएका अस्थायी सिकाइ केन्द्रमा पढाइ भइरहेको भए पनि खानेपानी र शौचालयमा कसैले ध्यान नदिँदा समस्या भएको प्रधानाध्यापक पुनले बताए । विद्यालयमा आउने पानीको मुहान नै भासिएपछि खानेपानीको समस्या भएको उनले बताए ।

त्यस्तै सोही वडाको कोलचौर गाँउमा पनि भूकम्पपछि खानेपानीको निकै समस्या देखिएको छ । करिब अढाइ सय घरधुरी रहेको कोलचौरमा आपूर्ति हुँदै आएको खक्सेनी खोलाको पानीको मुहान भूकम्पपछि सुकेको छ । पानी भासिएपछि धारामा पानी आउँदैन निकै समस्या भयो स्थानीय देवी चनाराले भनिन् । खानेपानी नहुँदा निकै समस्या छ । एक गाग्री पानी लिन घण्टौं समय लाग्छ । चिसोले त सताइरहेको थियो ।

‘पानी नहुँदा सरसफाइ गर्न, शौचालय लिन र वस्तुभाउ (गाईभैंसी)लाई खुवाउन पनि निकै समस्या भयो,’ उनले भनिन्, ‘सबैले अस्थायी आवासमात्र भन्छन् । अस्थायी आवास पनि अहिलेसम्म बन्न सकेका छैनन् । बन्दैछन् तर शौचालय र खानेपानीको समस्या समाधानमा कसैले चासो दिँदैनन् तर समस्या ठूलो छ ।’ सोही वडाको रिठापानी गाउँमा पनि खानेपानीको निकै समस्या देखिएको स्थानीयको भनाइ छ ।

रिठापानी गाँउमा २० घरधुरी छन् । त्यस गाउँका मानिसले प्रयोग गर्दै आएको जस्यापानी मुहान पनि सुक्न थालेको छ । ट्यांकी चर्किएपछि धारामा पानी आउन छोडेको छ । जसका कारण खानेपानीको निकै समस्या रहेको स्थानीय लोककुमारी विकले बताइन् । गाउँमा खानेपानी नहुँदा निकै समस्या परिरहेको उनले बताइन् । भूकम्पपछि भेरी नगरपालिका वडा नम्बर १, २ र ३ का धेरै मुहान सुकेका छन् ।

नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा भने धेरै ठाँउमा मूल फुटेको वडाध्यक्ष बद्री पन्तले बताए । उनले नलगाड नगरपालिकामा केही ठाँउमा मूल फुटेको र केही ठाँउमा पानीका मूल सुकेपछि खानेपानीको अभाव देखिएको बताए । जिल्लाका धेरै ठाँउका मुहानमा क्षति पुगेको भए पनि कति ठाउँमा खानेपानीका मुहानमा क्षति पुगेको भन्ने बारे हालसम्म सम्बन्धित निकायले तथ्यांक राखेको छैन ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले अझै पनि के कति क्षति भएको छ भन्ने एकिन तथ्यांक दिन सकेको छैन । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग भूकम्प प्रभावित क्षेत्रमा भएको क्षतिका विषयमा विवरण माग्दा अझै पनि उपलब्ध हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्