सामन्तवाद अन्त्य नभएसम्म समृद्धि असम्भवः भट्टराई «

सामन्तवाद अन्त्य नभएसम्म समृद्धि असम्भवः भट्टराई

सिन्धुली-समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामन्तवाद र राजतन्त्रवादको अन्त्य नभएसम्म देश समृद्ध नहुने बताएका छन् । तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम सिन्धुलीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा एउटै जातीको नेतृत्व रहुन्जेलसम्म नेपाली समाजको रुपान्तरण नहुने बताएका हुन् ।
सत्तामा रहेका नेताहरुले राजामहाराजा जस्तो व्यवहार देखाएकाले देशमा अझै क्रान्ति गर्न बाँकी रहेको बताए । नेतृत्वहरुले आम जनताको हितका लागि भन्दापनि चरम भष्टाचार गर्ने, आसेपासेहरुलाई पोस्ने काम भइरहेकाले जनताहरुले संघियताको आभाष गर्न नपाएको बताए ।
भट्टराईले समाजवादी पार्टी शक्ति र न्यायको लागि लड्ने मान्छेहरुको अग्रगामी विचार भएको पार्टि भएकाले यहि पार्टीले मात्र देशको परिवर्तन गर्न सक्ने जिकिर गरे । “हाम्रै पालामा समृद्धि सम्भव छ,” उनले भने, “दबाबमूलक राष्ट्रिय अभियान सञ्चालन गर्न सबै जनतालाई सचेत गराउदै छौँ । जसको बलमा संविधानमा भएका क्रुटिहरु सच्याउन सकिन्छ । तब मात्रै जनताहरुमा समानताको प्रत्याभूति हुनेछ ।”
देशमा प्रयाप्त स्रोत साधन भएपनि त्यसको सहि सदुपयोग नभएका कारण बेरोजगारी र गरिबी नघटेको भन्दै उनले समाजवादी पार्टीले अबको ४० वर्षमा देशलाई अमेरीका जस्तै बनाउने बताए ।
कार्यक्रममा समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राई, केन्द्रिय सचिव गंगानारायण श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । समायोजनपछि समाजवादी पार्टी सिन्धुलीमा मोदनाथ तिमल्सिनाको अध्यक्षतामा १५१ सदस्य कार्य समिती गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्