Logo

हिउँ नपर्दा निर्माण तीव्र

हुम्ला– हिउँदको पुस महिनादेखि फागुनसम्म हिमपात हुने हुम्लाका अधिकाँश बस्तीमा विकास निर्माणका कामले गति लिएको छ । यस वर्ष हुम्लामा हिमपात नहुँदा विकास निर्माणका काम रोकिएका छैनन् । हिउँदमा माइनस तापक्रम भएता पनि दिउँसोको समयमा आयोजनाका काम धमाधम भइरहेका छन् ।

जाडो महिनामा चिसोको कारण देखाउँदै निर्माण बन्द हुने हिल्सा–सिमकोट सडक आयोजनाको निर्माण यस वर्ष भने जारी छ । हिमपात नहुनु र सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएको मितिभन्दा अगाडि नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइरहेको छ ।

नाम्खा गाउँपालिकाको याल्वाङ गौडाबाट हिलिङ लेकसम्मको नौ दशमलव चार किलोमिटर सडक निर्माण जिम्मा लिएको कुशेश्वर एचकेएम् जनजागृत जेभीका स्थानीय प्रतिनिधि सरोज रावतले काठमाडौंबाट केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हिल्साबाट निर्माणस्थलमा मेसिन आइपुगेपछि काम जारी रहेको बताए । निर्धारित मितिमै सम्पन्न गर्न कामलाई तीव्रता दिएको रावतले बताए । हिमपात नभएका कारण पनि काम गर्न सहज भएको छ । हिमपात भए पनि केही दिन काममा अवरोध हुने र कामलाई निरन्तरता दिने सोच बनाएको उनको भनाइ छ ।

निर्माणाधीन हिल्सा–सिमकोट खण्डको सडक १० मिटर चौडा निर्माण गरिनेछ । हाल याल्वाङ भीरबाट निर्माण सुरु गरेर सो क्षेत्रकै भालु खोलामा चट्टानी भीर फुटाउने कार्य भइरहेको छ । अर्को मेसिनसमेत ल्याउने तयारीमा निर्माण कम्पनी लागेको छ । सडक सञ्जाल नजोडिएका कारण दोस्रो मेसिन पनि कम्पनीले केरुङ नाकाबाटै ल्याउनुपर्नेछ । ०७९ साल चैत ३० गते सम्झौता भएर निर्माण भइरहेको उक्त योजना ०८२ साल असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ । भ्याटसहित १७ करोड ९८ लाख लागत लाग्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको हो ।

हिल्सा–सिमकोट सडकको प्रगति ३९ प्रतिशत
हिल्सा–सिमकोट सडक आयोजनाले आर्थिक वर्ष सुरु भएको ६ महिनामा ३९ प्रतिशत प्रगति हासिल गरेको छ । आयोजनाले सडक स्तरोन्नति, पुल र कल्भर्ड निर्माण गरेर उक्त प्रगति हासिल गरेको हो । आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले चालु वर्षमा आयोजनाको प्रगति ३९ प्रतिशत रहेको बताए ।

आयोजनाले गत वर्षभन्दा यस वर्ष प्रगति विवरणमा भने वृद्धि गरेको छ । गत वर्ष यही समयमा २० प्रतिशतमात्र प्रगति थियो । समयमा ठेक्का लाग्नु, हिमपात नहुनु, निर्माण व्यवसायीले पनि कामलाई तीव्रता दिएका कारण यो प्रगति हासिल भएको हो । जति प्रगति हुनुपर्ने थियो त्यो भने हुन नसकेको भन्दै अब कामलाई तीव्रता दिइने नेपालीले बताए । हिल्सा–सिमकोट सडक आयोजनाका हाल १५ वटा योजना सञ्चालनमा छन् । सबै योजना बहुवर्षीय छन् ।

योजनालाई सातवटा प्याकेज सिमकोटबाट उत्तरतर्फ हिल्सासम्म छन् भने आठवटा प्याकेज सिमकोटबाट दक्षिण सलीसल्लासम्म रहेका छन् । प्याकेज योजनामा पाँचवटा पक्की पुल, तीनवटा कल्भर्ट, एउटा नयाँ सडक निर्माण र ६ वटा सडकको स्तरोन्नति गरिएको छ । नाम्खा गाउँपालिका–५ को नारा क्षेत्रको सडक स्तरोन्नति गर्नेबाहेक अन्य सबैमा हाल काम सञ्चालन भइरहेको छ । यसका लागि चालु वर्षमा ३० करोड ५० हजार बजेट विनियोजित भएको छ । विनियोजित बजेट अपुग हुने देखिएपछि सडक विभागसँग माग गरिएको उनले बताए ।

अनिश्चितकालीन सडक बन्द
हिल्सा–सिमकोट सडक आयोजनाले च्याछरामा सडक निर्माण तीव्र पारेका कारण यातायात सेवा अवरुद्ध भएको छ । सडक निर्माणकार्य तीव्र पारिएकोले कामलाई अवरोध सिर्जना नहोस् भन्नका लागि यातायात सेवा बन्द गरिएको हो । निर्माणकार्य भइरहेको क्षेत्रमा वैकल्पिक सडक निर्माणका लागि अन्य विकल्पसमेत नभएकाले सडक बन्द गर्नुको अन्य उपाय आयोजनासँग नभएकाले सडक बन्द भएको हो ।

चारैतिर चट्टाने भीर भएका कारण वैकल्पिक सडक निर्माण गर्न सम्भव नहुँदा सडक अनिश्चितकालका लागि बन्द भएको हो । सडक बन्द भएपछि यातायातका साधन ठप्प भएका छन् । ओसिस इन्जिनियरिङ एण्ड बिल्डर्सले च्याछरामा ५० जना कामदार लगाएर ग्याबिन भर्ने कार्य भइरहेको र मेसिनबाट पनि काम जारी रहेको जनाएको छ । सडक बन्द भएपछि हुम्लाको उत्तरी गाउँपालिका नाम्खा सदरमुकाम सिमकोटसँग सम्पर्क विच्छेद भएको छ ।

प्रतिक्रिया दिनुहोस्