Logo

युवा उद्यमी सम्मेलनमा ३५० सहभागी

बुटवल– रुपन्देहीमा तेस्रो युवा उद्यमी सम्मेलन सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीद्वारा आयोजित सम्मेलनमा साढे ३ सय युवाहरूको सहभागिता रहेको थियो । सम्मेलनमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले युवाहरूलाई सम्मेलनले सकारात्मक ऊर्जा प्रदान गरेको बताए । उनले नेपालमै उद्यम, व्यवसाय गर्न प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले नेपालमा धेरै अवसर रहेको र सो अवसरलाई सदुपयोग गरेर देशमै आम युवाहरू रहने वातावरण बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।

नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष साहारा जोशीले युवाहरूलाई सीप, लगानी, व्यवस्थापन र बजार सम्बन्धी वातावरण दिलाउन सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्ने धारणा राखिन् । कार्यक्रममा निम्बस ग्रुपका अध्यक्ष आनन्द बगरियाले अब पुरानो ढर्राले नचल्ने र नयाँ सोचका साथ योजनाबद्ध तरिकाले उद्यमशीलताको अभियानलाई अगाडि बढाउनु पर्ने बताए । उनले नेपाली मौलिक उत्पादन गरी संसारभर प्रवद्र्वन गर्नुपर्नेमा जोड दिए ।

सम्मेलनमा सहभागीहरूलाई स्वागत गर्दै नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले युवाहरूलाई उद्यमशीलतामा प्रवेश गर्नको लागि उत्साह, ऊर्जा, आइडिया र आत्मविश्वास प्रदान गर्ने उद्देश्यले तेस्रो युवा उद्यमी सम्मेलन–२०२४ आयोजना गरेको जानकारी दिए । उनले उद्यमशीलता विकासको अभियानमा सम्मेलन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

सम्मेलनमा वेस्टर्न एग्रो प्रोसेस इण्डिस्ट्रिजका प्रबन्ध निर्देशक एवं नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका सस्थापक अध्यक्ष आनन्द ओझा, एनएमबि बैंकका एसएमइ/ एम–एसएमइ प्रमुख उत्सव घिमिरे, श्रम मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र अनुजाराज भण्डारीले युवाहरूलाई उद्यमशीलतामा प्रवेश, उद्यमशीलताको विकास र त्यसबाट दिगो प्रतिफल दिने गरी व्यवसाय सञ्चालनबारे धारणा राखेका थिए ।

दराज नेपालका प्रमुख बजार व्यवस्थापक र पूर्व मिस नेपाल अनुश्का श्रेष्ठले आफ्नो प्रेरणादायी संघर्षको कथा सुनाउँदै इमानदार प्रयास र निरन्तरताले मात्र सफल भइने उल्लेख गरेका थिए । ग्रीन प्लान्ट इनर्जी प्रालिका प्रबन्ध निर्देशक प्रसान्त बुर्लाकोटी, हाइ–लाइफ फुड्स तथा पहाडी फुड्सका सहसस्थापक प्रसान्त घिमिरे, ओहो केक्सका सिइयो सन्तोष पाण्डेले आफ्नो उद्यमशीलताको प्रेरणादायी सफल यात्राबारे बताएका थिए ।

उनीहरूले धैर्यता गरेर समय अनुसार बजारको आवश्यकता बुझेर उद्यम गरे सफल भइने धारणा राखे । सम्मेलनमा इनोभेसन एन्ड चेन्ज किङस कलेज नेपालका प्रमुख आलोक खत्रीले व्यापारमा आर्टिफिसियल इन्टेलिजेन्टको आवश्यता र प्रयोगबारे जानकारी दिएका थिए । सम्मेलनमा विभिन्न उत्पादन तथा सेवासँग सम्बन्धित १४ वटा स्टल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्