Logo

बाँकेमा ६ महिनाकाे विकास खर्च एक चौथाई

नेपालगञ्ज– चालु आर्थिक वर्ष २०८०/०८१ को आधा अवधी सकिँदा बाँकेमा संघ र प्रदेशको कुल विकास बजेट खर्च झण्डै एक चौथाई मात्र भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका अनुसार पुस मसान्तसम्म २७.३३ प्रतिशत विकास बजेट खर्च भएको हो ।

आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि जेठ १५ मै बजेट आएपनि विकास खर्च भने अपेक्षाकृतरुपमा हुन सकेको छैन । जिल्लामा चालू आर्थिक वर्ष संघ र प्रदेशको गरी पुँजीगततर्फ ६ अर्ब ९ करोड ५४ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्षको ६ महिना सकिँदा जिल्लामा एक अर्ब ६६ करोड ७ लाख अर्थात् २७.३३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका सूचना अधिकारी शरदकुमार बरालले जानकारी दिए ।

कार्यालयले सो अवधीमा चालु खर्च भने ४३.४२ प्रतिशत गरेको छ । बरालका अनुसार संघ र प्रदेशको गरी चालुतर्फ कुल १२ अर्ब २४ करोड ३० लाख बजेट विनियोजन भएकोमा पाँच अर्ब ३१ करोड ७१ लाख रुपैयाँ खर्च भएको हो । चालु आर्थिक वर्ष २०८०÷०८१ को आधा अवधी सकिँदा जिल्लामा संघतर्फ भने ३२ प्रतिशत विकास बजेट खर्च भएको छ । कोलेनिकाका अनुसार कुल तीन अर्ब ९० करोड ७१ लाख विकास बजेट छुट्याइएकोमा पुस मसान्तसम्म एक अर्ब २६ करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै चालुतर्फ १० अर्ब ७९ करोड बजेट विनियोजन भएकोमा पाँच अर्ब ३४ करोड रुपैयाँ खर्च भएको कोष तथा नियन्त्रक कार्यालय बाँकेले जनाएको छ । ६ महिनाको अवधिमा प्रदेशतर्फ भने १८ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तगर्तका जिल्ला कार्यालयका लागि दुई अर्ब १८ करोड ८२ लाख र पुँजीगत बजेट विनियोजन भएकोमा ३९ करोड ६७ लाख मात्र खर्च भएको छ । यस्तै चालुतर्फ एक अर्ब ४५ करोड २९ लाख बजेट विनियोजन भएकोमा २८ करोड २४ लाख मात्र खर्च भएको बरालको भनाइ छ ।

तीन विकास आयोजनाको खर्च सन्तोषजनक
चालु आर्थिक वर्षको पुस मसान्तसम्म केही ठूला विकासे आयोजनाले भने सन्तोषजनक खर्च गरेका छन् । सबैभन्दा बढी विकास बजेट खर्च गर्नेमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्ज रहेको छ । चालु आर्थिक वर्षको ५ महिनामा कार्यालयले ८१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । आयोजनाको कुल पुँजीगत बजेट ६२ करोड विनियोजन भएकोमा पुस मसान्तसम्म ५० करोड ८१ लाख खर्च भएको कोलेनिका बाँकेले जनाएको छ ।

यसैगरी पुल योजना पश्चिम सेक्टर नम्बर ३ ले ६ महिनाको अवधिमा ५४.१२ प्रतिशत खर्च गरेको छ । कार्यालयका लागि यस वर्ष २९ करोड १५ लाख बजेट विनियोजन भएकोमा १५ करोड ७७ लाख बजेट खर्च भएको हो । यस्तै सडक डिभिजन बाँकेको ३५ करोड ८१ लाख बजेट रहेकोमा पुससम्म १४ करोड २१ लाख अर्थात ३९.६९ प्रतिशत खर्च भएको छ । विकास बजेट कम खर्च गर्नेमा राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजना रहेको छ ।

आयोजनाले पुस मसान्तसम्म करिव २१ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको हो । कोलेनिकाका अनुसार सिक्टा सिँचाई आयोजनामा कुल पुँजीगत बजेट ७५ करोड ४८ लाख विनियोजन भएकोमा १५ करोड ८४ लाख मात्र खर्च भएको छ । कार्यालयका लागि यस वर्ष ज्यादै न्युन बजेट विनियोजन भएको थियो । गत आर्थिक वर्षमा एक अर्ब ८५ करोड पुँजीगत बजेट विनियोजन भएकोमा यस वर्ष ७५ करोड ४८ लाख मात्र विनियोजन हुँदा आयोजनाका महत्वपूर्ण विकास निर्माणका काम प्रभावित भएका छन् ।

सवा १२ अर्ब राजस्व असुली
बाँकेका सरकारी कार्यालयहरुले चालु आर्थिक वर्षको ६ महिनामा सवा १२ अर्ब राजस्व असुली गरेका छन् । कोलेनिका बाँकेका अनुसार जिल्लास्थित संघीय र प्रदेश अन्तगर्तका कार्यालयले १२ अर्ब २५ करोड ४५ लाख राजस्व संकलन गरेका हुन् ।

जसमध्ये संघतर्फका कार्यालयले ११ अर्ब ८३ करोड र प्रदेशतर्फका कार्यालयले ४२ करोड ३७ लाख राजस्व असुली गरेका छन् ।
यस वर्षको पुससम्मको राजस्व संकलन हेर्दा गत वर्षको भन्दा ५७ करोड २३ लाख बढी असुली भएको छ । गत आर्थिक वर्ष यस अवधिमा संघतर्फ ११ अर्ब २८ करोड ८० लाख र प्रदेशतर्फ ३९ करोड ४० लाख गरी कुल ११ अर्ब २१ करोड रुपैयाँ राजस्व आम्दानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्