Logo

नेपालगञ्ज–मानसरोवर चार्टर्ड उडान सुरु

काठमाडौं– निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत (मानसरोवर)मा माउन्टेन फ्लाइट सुरु गरेको छ । यो सेक्टरमा पहिलोपटक उडान भएको हो ।

कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सिआरजे–७०० विमानले नेपालगन्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरी कैलाश पर्वत तथा मानसरोवर दर्शन सम्पन्न गरेको छ ।’ यसबाट नेपाल हँुदै कैलाश मानसरोवरको यात्रा गर्न चाहनेका लागि सहजीकरण गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए । उनले भने, ‘उडानमार्फत भारतीय र तेस्रो मुलुकका समेत धार्मिक पर्यटक आकर्षित गर्न सकिने र आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास छ ।’

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया र सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा २७ हजार फिट उचाइबाट कैलाश उडान गरिएको हो । नेपालको भू–भागबाट यसरी उडान गरिएको यो पहिलो पटक हो । क्याप्टेन प्रफुल्ल वैद्य र राजेश श्रेष्ठको नेतृत्वमा भएको उडानमा ४४ जना यात्रु र चालक दल ५ सदस्य थिए । विन्डो सिटबाट ३५ जनाले कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न सक्ने एयरलाइन्सले जनाएको छ । नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याएर पशुपतिसमेत दर्शन गराउने योजना कम्पनीको छ ।

लामो प्रयासपछि नेपालगञ्जबाट मानसरोवर उडान सफल भएको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका डाइरेक्टर केशव न्यौपानेले बताए । उनले भने, ‘नेपालगञ्जबाट सुरु भएको कैलाश मानसरोवरको दूरदर्शन रुटले नेपालगञ्जको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरेका छौं ।’

वार्षिक २० देखि २५ हजार भातीय पर्यटक नेपालगञ्ज, सिमीकोट हुँदै हिल्सा नाकाबाट र काठमाडौं, रसुवागढी हुँदै केरुङ नाकाबाट धार्मिक स्थल कैलाश मानसरोवरको यात्रामा निस्किने गरेको तथ्यांक छ । चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवर हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र हो ।

प्रतिक्रिया दिनुहोस्