Logo

मुग्लिन–पोखरा सडककाे पश्चिम खण्ड कालोपत्रे सुरु

तनहुँ– मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा पहिलोपटक कालोपत्रे सुरु भएको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्रे सुरु गरेको हो ।

पश्चिम खण्डका इन्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलका अनुसार फेबु्रअरीको अन्तिमसम्म एकतर्फी रूपमा पाँच किलोमिटर खण्ड कालोपत्रे गर्ने लक्ष्य छ । उनले भने, ‘अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रेको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।’ पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्रे हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्रे गरिने पौडेलले जानकारी दिए ।

सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रेको कामलाई अगाडि बढाएको हो । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

धुलो र हिलालेले आजित भएका स्थानीयवासी कालोपत्रे सुरु भएपछि आशावादी बनेको स्थानीय शंकर पन्तले बताए । उनले भने, ‘सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।’ उनले गुणस्तरीय काम गराउनका लागि आफूहरूले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे ।

मुग्लिन–पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्रे गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ ।

यता पूर्वी खण्डमा भने १९ दशमलव ५ किलोमिटर सडकखण्ड कालोपत्रे भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्रे सकिएको हो । मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए त्यसमध्ये ७.२ किलोमिटर खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ ।

पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको कामसमेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्