Logo

शुक्लाफाँटा निकुञ्जको गजराजले पर्यटक घुमाउने

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा २८ वर्षको भाले गजराज ‘शेषचन्द्र’ लाई पर्यटक घुमाउने तालिम दिइएको छ् । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा नारायणकलीसँगै शुक्लाफाँटा ल्याइएको गजराज ‘शेषचन्द’ लाई गत पुसदेखि तालिम दिन थालिएको थियो भने शनिबार शेषचन्द्रले तालिम पूरा गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत प्रमोद भट्टराईले निकुञ्जमा हात्तीलाई प्रयोग गर्न तालिम दिएको बताए । उनले भने, ‘शुक्लाफाँटामा गस्ती गर्न र पर्यटकलाई निकुञ्ज भ्रमण गराउनसमेत हात्तीको प्रयोग हुँदै आएको छ’ उनले भने, ‘त्यसका लागि हात्तीलाई एक महिना तालिम दिएका छौं ।’ उनले हाल निकुञ्जमा दुईवटा छावासहित ८ हात्ती रहेका उनले बताए ।

भट्टराईका अनुसार तालिमको सुरुवातका बेला वयस्क हात्तीको सहारामा जंगलतर्फ लगिएको थियो । इच्छा अनुसार स्वतन्त्र रूपमा हिँडडुल गरिरहेका हात्तीलाई इशारा र निर्देशनका आधारमा हिँडाउन तालिम दिने गरिन्छ । त्यसैगरी हात्तीसारका शिवदत्त चौधरीले शेषचन्द्रलाई नियन्त्रित रूपमा हिँडाउन हात्ती सारको वयस्क हात्ती सुर्तीकलीको प्रयोग गरिने बताए ।

चौधरीले हात्तीलाई पूर्ण रूपमा तालिम दिन कम्तीमा एक महिना नै लाग्ने बताए । शुक्लाफाँटामा १० हात्तीको दरबन्दी भएपनि अहिले सानासहित ८ वटा हात्ती रहेका छन् । अहिले हात्तीसारसँगै निकुञ्जको मालुबेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएको छन् ।

प्रतिक्रिया दिनुहोस्