क्षतिपूर्तिवापत सेनाले वृक्षारोपण गर्ने

काठमाण्डौ निजगढ दु्रतमार्ग |
बारा-राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका रुखहरुको क्षतिपूर्ति वापत नेपाली सेनाले वृक्षारोपण गर्ने कार्य सुरु गरेको छ । नेपाली सेनाको वृक्षारोपण कार्यदलले संविधान दिवसको अवसर पारेर बाराको कोहल्बी नगरपालिकाको राष्ट्रिय वनको अतिक्रमित क्षेत्रबाट वृक्षारोपण सुुरु गरेको हो ।
प्रदेश वन निर्देशनालयको समन्वयमा डिभिजन वन कार्यालय बाराले उपलब्ध गराएको ५ दशमलव ३१ हेक्टर खाली जमिनमा सेनाले रुख रोपेर क्षतिपूर्ति बापतको राज्यले तोकेको जिम्मेवारी पूरा गर्न सुरुवात गरेको छ ।
पछिल्लो समय नेपालमा १ रुख काटेपछि भपाइमा २५ रुख रोप्न नेपाली सेनाले गरेको यो सुरुवात सम्भवत पहिलो हो ।
टिक, सिमल, सिरिस, तथा जामुन प्रजातिका ५ हजार बिरुवा रोपिएका छन् भने सोही क्षेत्रमा आफंै उम्रिएका ३ हजार सालका रुख ५ वर्षसम्म हुर्काएर संरक्षण गरी वनलाई हस्तान्तरण गर्ने वृक्षारोपण कार्यदल निजगढ बाराका प्रमुख सेनानी सुशीलकुमार कार्कीले बताए ।
वन तथा भू–संरक्षण विभाग र द्रुतमार्ग आयोजनाबीच भएको द्विपक्षिय समझदारी अनुरुप केही समयमै ५ लाख बिरुवा रोपेर संरक्षणसमेत गर्ने कार्यदलले जनाएको छ । कार्यदलले चाँडै नै मकवानपुरको राजदमार इलाका र बाराका विभिन्न क्षेत्रमा ५ लाख बिरुवा रोप्ने र हुर्काउने कार्य जारी रहने कार्कीले बताए ।
दु्रत मार्ग निर्माणको क्रममा हालसम्म १८ हजार रुख काटेर सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको र बाँकी सुरुड मार्ग र पुल बन्ने क्षेत्रहरुमा करिब २ हजार रुख काटिने सेनाको वृक्षारोपण कार्यदलले जनाएको छ ।
वृक्षारोपण कार्यको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, जिल्लामा रहेको डिभिजन वन कार्यालयसँग समन्वय गरी राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा रहेका खाली जग्गाहरुको पहिचान गरी १८८ हेक्टर क्षेत्रफल वृक्षारोपणका लागि सर्वे भइसकेको छ । बारामा धेरै खाली सरकारी जमिन भएकाले ति जग्गाहरुको पहिचान र सर्भे गर्ने कार्य अन्तिममा पुगेको सेनाले जनाएको छ ।
वृक्षारोपण गरिएको वन क्षेत्रमा तार जालीको व्यवस्था स्थानीय तह र डिभिजन वन कार्यालयले गर्ने र बिरुवाको संरक्षण तथा सम्बद्र्धनको कार्य नेपाली सेनाले गर्ने छ ।
बारामा ५ लाख रुख रोप्न प्रशस्त अतिक्रमित र वन मासेका जग्गाहरु रहेकोले स्थान पहिचान गर्न सर्भे अन्तिम चरणमा पुगेको र क्रमश ति स्थान सेनालाई जिम्मा लगाई वृृक्षारोपण हुने डिभिजन वन कार्यालयले जनाएको छ ।
मधेश आन्दोलन र माओवादी द्वन्द्वकालमा बाराको हजारौं हेक्टर वन बिनास भएको र अतिक्रमणमा परेको डिभिजन वनको तथ्यांकमा उल्लेख छ ।
कोल्हबी नगरपालिका ८ को शान्ति टोलको उत्तरतर्फको करिव ६ हेक्टर क्षेत्रफल वृक्षारोपणका लागि नेपाली सेनालाई हस्तान्तरण गरिएको र बिरुवा तथा अन्य प्राविधिक कार्य डिभिजन वन कार्यालयले गर्ने भएको छ ।
निजगढ र कोल्बीमा गरी करिव १८८ हेक्टर खाली वन क्षेत्रको सर्वे सकिएको ति स्थानहरुमा पनि सेनाले रुख रोप्ने योजना रहेको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर आलमले बताए ।