नेपालमा ओखती र ‘हिलिङ’ खाद्यका रूपमा गाँजाको कारोबार गर्ने अवसर छ «
Logo

नेपालमा ओखती र ‘हिलिङ’ खाद्यका रूपमा गाँजाको कारोबार गर्ने अवसर छ

अथर्ववेदमा विद्यावारिधि गरेका नारायण घिमिरे १७ वर्षयता क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत छन् । उनी आयुर्वेदिक औषधिको अन्य–असर (साइड–इफेक्ट) रहित गुण र एलोपेथिक औषधिको तत्काल उपचार गर्ने क्षमता पुन: संयोजन गरी चुस्त हर्बल ओखती विकास विषयका शोधकर्तासमेत हुन् । यिनै घिमिरेसँग हालै गण्डकी प्रदेशले ल्याउन लागेको भनिएको गाँजा विधेयकमा प्रदेशले पुर्‍याउनुपर्ने सावधानी तथा हुन सक्ने सम्भावित अवसर, चुनौती र सम्भावनाका बारेमा कारोबारले गरेको कुराकानीको सार :

गण्डकी प्रदेश सरकारले गाँजालाई कानुनी मान्यता दिने गरी विधेयक ल्याउँदै छ भन्ने चर्चा छ । तपाईंलाई कस्तो लाग्यो ?
क्यानडामा गाँजा औषधि मात्र नभएर खानपान र मनोरञ्जनमा समेत खुला छ । गण्डकी प्रदेश सरकारले गाँजालाई कानुनी मान्यता दिन खोज्नु ज्यादै राम्रो विषय हो । सबै प्रदेश सरकारले गाँजालाई कानुनी रूपमा खुला गर्नुपर्छ ।

गण्डकी प्रदेशले गाँजालाई कानुनी मान्यता दिँदा के कुरामा ध्यान दिनुपर्ला ?
गण्डकी प्रदेशले मूलत: गाँजाखेतीबाट कृषक, घरेलु तथा साना उद्यमीको आर्थिक स्तर बढाउने उद्देश्यले व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्ने अवसरको उपयोग गर्नुपर्छ । टिएचसी १ प्रतिशतभन्दा धेरै भएको गाँजा औषधि, आयुर्वेदिक औषधि, युनानी, चाइनिज मेडिसिन तथा घरेलु तथा पाल्तू जनावरको ओखती र उत्थानका लागि विशेष कानुन बनाएर उपयोग हुने तर दुरुपयोग हुन नदिने गरी नियन्त्रित रूपमा बिक्री वितरण गर्न पाउने व्यवस्था हुनुपर्छ ।

टिएचसी १ प्रतिशतभन्दा थोरै हुने गाँजाको जरा, पात, डाँठ, भाङ, भागो, हेम्प र होप भनिने गाँजा प्रजातिका बिरुवा, गाँजाको गेडा, हेम्प तेल, सिबिडी तेल आदि भने ओखतीय, खाद्य, कपडा, कस्मेटिक, लत्ताकपडा, कंक्रिट, डोरी, भित्री वस्त्र आदि जस्ता घरेलु र व्यापारिक प्रयोजनमा बिनाकुनै रोकावट स्वतन्त्र रूपमा बिक्री–वितरण गर्न र सेवन गर्ने छुट दिनुपर्छ । बिग्रँदो वातावरण, पहिरो आदि तथा चुरे दोहन रोक्ने, वातावरणमैत्री निर्माण आदिमा हेम्प आदिलाई प्राथमिकता दिएर उपयोग गर्ने नीति लिनुपर्छ ।

नेपालमा गाँजालाई कानुनी मान्यता दिने कार्यसँगै व्यवहारिक र सामाजिक चुनौती पनि त होलान् ?
गाँजा कानुनी गर्ने कार्यबारेका धेरै व्यावहारिक अवसर र सामाजिक चुनौती पटक–पटक आइसकेको छ । नेपालमा हालसम्म कसैले नखोलेको गहिरो पक्ष के हो भने संसारमा गाँजाको माग अत्यधिक छ । नेपालको गाँजाको क्रेज यति धेरै छ कि हालसम्म पनि विश्व बजारमा गाँजा कानुनी बनेको स्थानमा नेपाली गाँजा ब्ल्याकमा समेत किन्न मानिस हुरुक्क छन् । राज्यले वैधनिक गरिसकेपछि त्यो गाँजा कानुनी संयन्त्रबाट माग भएको ठाउँमा पुग्ला, राज्यले कर पाउला, उद्यमीले मुनाफा भनेरै राज्यले गाँजा कानुनी गर्ने प्रयास गर्छ ।

गण्डकी प्रदेशले नेपालमा ओखतीको प्रयोजनका लागि मात्र गाँजा विधेयक ल्याउँदै गर्दा नेपालमा ओखती मात्रका लागि गाँजाले कानुनी मान्यता प्राप्त हुनेछ । विश्व बजारमा नेपाली गाँजाको क्रेज भने मनोरञ्जन र रिक्रिएसनमा अधिक छ । गाँजालाई विश्व बजारले कम्तीमा आगामी एक दशक नियन्त्रित लागू पदार्थको रूपमै आयात–निर्यात गर्नेछ । नियन्त्रित लागू पदार्थको दुई देशबीच कारोबार गर्दा त्यस्तो कारोबारले दुवै देशको कानुन मान्य हुने गरी गर्नुपर्ने विश्व बजारको अनिवार्य जरुरत हो । हाम्रोमा एलोपेथिक ओखतीका ठूला ओखती उद्योग छैनन् जसले गाँजाको रिसर्च गरी हाम्रो उत्पादन सबै खपत गर्न सकोस् ।

विदेशमा रहेका गाँजामा आधारित धेरै एलोपेथिक ओखतीका ठूला औषधि निर्माणकर्ता आफैं गाँजाखेतीमा संलग्न छन् । आफ्नो गाँजाको बजारका लागि उनीहरूले इनडोर गाँजाको मात्र फरक–फरक उत्पादनबीच औषधीय सारतत्त्वमा कम विविधता हुने र त्यसको ओखती मात्र डिजाइनअनुरूप प्रभावकारी हुने नाममा हाम्रो जस्तो ओपन डोर गाँजाका लागि ढोका बन्द हुने गरी आफ्नो आन्तरिक नीति विकास गरेको भेटिन्छ । यो अवस्थामा हाम्रो गाँजा अमेरिकादेखि युरोपसम्मका मुलुकमा पुग्न पाउने अवसरको हामीले आयुर्वेदिक, युनानी र ट्रेडिसनल चाइनिज मेडिसिन आदिसमेतको औषधीय प्रयोजनका रूपमा गाँजा ऐन बनाउनुपर्छ ।

आयुर्वेदिक, युनानी र ट्रेडिसनल चाइनिज मेडिसिन भारत र नेपालमा औषधि मानिए पनि अन्य मुलुकमा सप्लिमेन्ट तथा हिलिङ खाद्य वा नेचुरल हेल्थ प्रडक्ट मानिन्छ । त्यसले मुलुकभित्र एकातर्फ हामीलाई औषधीय प्रयोजन र जनावरको स्वास्थ्यमा गाँजाको प्रयोग नियमन गर्न सहज हुनेछ भने अर्कातर्फ अन्य देशमा खाद्य, हिलिङ खाद्य हुँदै मनोरञ्जन र रिक्रिएसनमा समेत हाम्रो उत्पादन बिक्री गर्ने बाटो खुल्नेछ । नेपालको गाँजा अन्यत्र खानपान र मनोरञ्जन अर्थात् रिक्रिएसनको प्रयोजनमा समेत निर्यात गर्न गण्डकी प्रदेशले गाँजा उत्पादनमा जाने खाद्यको गुणस्तर नियन्त्रण र नियमनका लागि आठवटा जति खाद्य सुरक्षा सम्बन्धका ऐन र रेगुलेसनमा सुधार हुने गरी ऐनको व्यवस्था गर्न जरुरी छ ।

गण्डकी प्रदेश सरकारले त्यस्तो समस्या सम्बोधन गर्न आफूले ल्याउने गाँजा विधेयकको अनुसूचीमार्फत त्यसलाई सच्याउने गरी विशेष अनुसूची राख्ने र विश्व बजार नियामक निकायको गुणस्तरको जरुरत अवलम्बन गर्ने व्यवस्था गर्नु आवश्यक छ । गाँजाबाट लगभग १२१ प्रकारको आयुर्वेदिक ओखती, औषधीय खाद्य, पेय, मनोरञ्जन प्रयोजनको गाँजायुक्त खानपान आदिका हजारौं उत्पादन निर्माण गर्नेबारेको एड्भान्स इनोभेटिभ रिसर्च गर्ने अवसरले मलाई गाँजाको व्यवहारिक धरातल तौलने अवसर दियो । विभिन्न मुलुकले गाँजाबाट पर्याप्त अवसर लिइरहेको सन्दर्भमा नेपालले हिजो आफूले गाँजाबाट लिएको आर्थिक अवसरसमेत नराम्ररी गुमाएको छ ।

लगभग २० हजारभन्दा धेरै वैज्ञानिक अनुसन्धानको निचोड, सामाजिक सुरक्षाबारेका विभिन्न चरणका छलफल, लाभहानिको लेखाजोखा, क्यानडामा ओखती र रिक्रिएसनले गाँजाको उपयोग आदि कुरा प्रत्यक्ष हेर्ने अवसरले मलाई गाँजाको लागू तत्त्व र ओखतीको मूल्य तथा तिनको बजार स्वीकार्यताबारे ज्ञान दिएको छ । लागू पदार्थको रूपमा भन्दा ओखती र हिलिङ खाद्यका रूपमा गाँजाखेतीले हजार गुणा कारोबार गर्ने अवसर दिने कुरा आजको विश्वको अनुभवले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल अत्यधिक गाँजामा आधारित उत्पादन छन् । अर्काेतर्फ नेपालका लगभग सम्पूर्ण नेपाली उद्यमी आफ्नो भएको परम्परागत उद्यम छोडेर विदेशी सामानको आयात–निर्यातमा आफूलाई सीमित गरेर आफ्नो व्यापारमा संलग्न रहेको अवस्था छ ।

संसारमा हाल उपलब्ध अन्तर्राष्ट्रिय उत्पादनले नेपालमा गाँजा कानुनी बनेको दिनबाट नेपालको सम्पूर्ण बजार आफ्नो पकडमा लिन मात्र दुई हप्ताभन्दा बढीको समय नलाग्ने आजको विश्वको यथार्थ हो । गाँजाखेतीबाट आफ्नो उन्नति गर्ने अवसर मुलुकले छोड्नु हुँदैन भन्ने सचेत भनिएका गाँजा अभियन्ताहरूमा समेत सामाजिक चेतना वृद्धिको अनिवार्यता देखिएको छ । नेपालको गाँजा विदेशीले किन किन्छ ? नेपालले स्वदेशी गाँजाबाट ओखतीको आयात कसरी प्रतिस्थापन गर्न सक्छ ? हिजो नेपाली जनताले गुमाएको बजार आजको नयाँ व्यवस्थाबमोजिम तिनै नेपाली किसानको हातमा कसरी फर्कन सम्भव छ ? त्यो उनीहरूले गहिरोसँग बुझ्नुपर्छ ।

हाम्रो अदूरदर्शी कृषिले हिजो हामीलाई जिएमओ, हाइब्रिड बीउ, बोइलर कुखुरा आदि दियो । अधिक विषादी, हार्मोन आदि चाहिने बेमौसमी तरकारी र फलफूल खेतीका कारण तथा खेतीमा प्राङ्गारिक मलको सट्टा रासायनिक मलको प्रयोगले बिग्रेको माटोमार्फत खानामा पुगेको विषले आज हाम्रो रगतको स्याम्पलमा समेत विष भेटिने भएको छ । रगतमा देखिएको विषाक्तताले आमाको दूधमा समेत विषाक्तता भेटिने गरेको छ ।

यो अवस्थामा गण्डकी प्रदेशमार्फत नेपालमा गाँजा कानुनी हुन सक्छ भन्ने तपाईंलाई विश्वास लाग्छ ?
गरे नहुने त के छ र ? नियत सफा राखेर गरेको काम सबै पूरा हुन्छ । मात्र समयको कुरा हो । अहिलेको बजार हल्ला र मुलुकको वातावरणअनुसार मलाई गण्डकी प्रदेशमार्फत नेपालमा गाँजा कानुनी हुनेछ जस्तो अनुभूति भयो । यहाँनेर मात्र नेपालको फाइदाबारे सोच्ने सरोकारवाला निकायले केही नितान्त प्राविधिक कुरा सोच्न जरुरी छ । नेपालमा गाँजा परम्परागत रूपमा प्रयोग भएको सबैलाई थाहा भएको कुरा भए पनि यसको वैदिक तथा वैज्ञानिक अनुसन्धानमा आधारित ओखतीय र हिलिङ खानाको मूल्यबारे ठूलो अनभिज्ञता छ ।

हामी ओखतीका लागि गाँजा खुला गर्दै गर्दा ओखती के हो भन्नेमा अलमल छौं । ओखती भनेको खालि एलोपेथिक मात्र हैन, आयुर्वेदिक र युनानी पनि हो भन्ने पक्ष जानिए पनि व्यावहारिक रूपमा सोचिएको छैन । आयुर्वेदिक र युनानी तथा ट्रेडिसनल चाइनिज मेडिसिन संसारभर फुड सप्लिमेन्ट र वैकल्पिक उपचारको औषधीय खाद्यका रूपमा प्रयोग भएको छ । नेपाल र भारतले गाँजालाई आयुर्वेदिक औषधीय उपयोगका रूपमा समेत ध्यान दिन सकेन भने जसरी भारतमा उत्पादित टाटा गाडीको लगभग सधैंका लागि अमेरिका र युरोपको बजार बन्दजस्तै बनेको छ, हाम्रो गाँजाको पनि त्यही हबिगत हुनेछ ।

तपाईंले यस विषयमा देखेको नेपालको हालका गहिरा प्राविधिक समस्या केके छन् ?
यथार्थ के हो भने नेपालका एकतिहाइ नेपालीले मात्र गाँजा (मारिजुआना वा क्यनाभिस) र भाङ (सिबिडी क्यनाबिस) बारे सुनेका छन् । अन्तर्राष्ट्रिय बजार व्यवस्था र मापदण्डअनुरूप गाँजाको नजिकको अर्को प्रजाति हेम्पको नाम धेरै कमले सुनेका छन् । नेपालमा भाङ्गो भनेर चिनिने हेम्पबाट कपडा बन्ने गरेको छ । यथार्थमा हेम्प (भाङ्गो), गाँजा (मारिजुआना वा क्यनाभिस) र भाङ (सिबिडी क्यनाबिस) आपसमा सबै सम्बन्धित छन् । व्यावसायीकरणका रूपमा तिनीहरूबीच महत्त्वपूर्ण रूपमा फरक छुट्याएर फरक–फरक तरिकाबाट कानुनी व्यवस्थापन गर्न जरुरी छ ।

राज्यले वैधानिक गर्ने क्रममा तिनीहरूको सम्भावित स्वास्थ्य लाभ, स्वास्थ्यमा दिने सम्भावित जोखिम, तिनीहरूले दिने व्यापारिक लाभ र सामाजिक प्रभाव तौलेर गर्नुपर्ने हुन्छ । वैज्ञानिक नामको दृष्टिमा हेम्प (भाङ्गो) र भाङ (सिबिडी क्यनाबिस) दुवैलाई क्यनाबिस सेटिभा भनिन्छ । मैले रैथाने जडीबुटी र नेपालमा गाँजा भन्ने दुई फरक–फरक किताब लेख्ने क्रममा गरेको निजी सामान्य अनुसन्धानमा नेपालको हेम्प (भाङ्गो) को स्याम्पलमा मादक प्रभाव दिने लागू तत्त्व भनिने टेट्राहाइडोक्यनाबिनोल अर्थात् टिएचसी औसत लगभग ०.४ प्रतिशत वा सोभन्दा कम देखिन्थ्यो ।

जबकि भाले गाँजा भनिने नेपालको रैथाने भाङको स्याम्पल (सिबिडी क्यनाबिस) मा मादक प्रभाव दिने लागू तत्त्व १ प्रतिशत वा सोभन्दा कम देखिन्थ्यो । नेपालको परम्परागत मूल खेतीको रूपमा हेम्प होइन भाङ रहेको र कतिपय अवस्थामा भाङ नै भाङ्गोको नाममा चिनिने पनि देखिएको थियो । नेपालको रैथाने गाँजाको वैज्ञानिक नाम पहिले क्यनाबिस नेपलेसिस थियो । पछि कुनै तिकडमको सिकार बनेर यसलाई क्यनाबिस इण्डिका भनियो । आजको अन्तर्राष्ट्रिय बजारले पोथी गाँजाको बोट भनेर चिन्ने नेपाली रैथाने गाँजालाई क्यनाबिस इण्डिकाको नामले चिनिन्छ । जसलाई नेपालीले नेपालमा गाँजा (मारिजुआना वा क्यनाभिस) भन्ने गर्छन् ।

नेपाली गाँजामा उच्च टिएचसी भएका कारण संसारको बजारले उत्कृष्ट क्यनाबिस भनी ग्रहण गर्ने गर्छ । हिन्द–कुश गाँजिकाको नाममा समेत यसको बिक्री हुने गरेको छ । नेपालको मकवानपुर, तनहुँ, कास्की, बागलुङजस्ता पहाडी भागको गाँजाको स्याम्पलमा औसत १७ प्रतिशत र बारपाक, लमजुङ, सल्यान, म्याग्दी, मुक्तिनाथ आदि उच्च पहाडी र हिमाली भागको गाँजाको स्याम्पलमा औसत १९ प्रतिशतसम्म टिएचसी भेटिएको थियो । बारपाक, लाप्राक, सल्यान र मकवानपुरको केही गाँजाको प्रजातिका फूल, कोपिला, चोप उत्पादन गर्ने ट्राइकोम (बिरुवाको कपालजस्तो झुस) आदिको स्याम्पलमा औसत टिएचसी (२० प्रतिशत वा सोभन्दा बढीसमेत देखिन्थ्यो ।

गाँजालाई नशाको रूपमा प्रयोग गर्न खोज्नेहरू यसमा अत्यन्त आकर्षक बनिरहेको भेटिन्छ । यहाँनेर ध्यान पुर्‍याउनुपर्ने कुरो के छ भने पोथी गाँजाको तल्लो भागको पात, डाँठ, जरा आदिमा नगण्य टिएचसी हुने गर्छ । तर, तिनीहरू उच्च व्यापारिक र औषधीय मूल्यका भएकाले तिनीहरूलाई भाङ (सिबिडी क्यनाबिस) का रूपमा वैध व्यापारिक र फाइबरको स्रोत, हेम्पक्रिट भनिने कंक्रिट आदिको रूपमा औद्योगिक प्रयोगमा उपयोग गरिन्छ । लगभग शून्य लागू तत्त्व टिएचसी हुने गाँजाको जरा सबैभन्दा महत्त्वपूर्ण ओखती र औषधीय हिलिङ खानाको स्रोत हो, जसको नियमन जरुरी छैन ।

सिबिडी र हेम्प ओइलजस्तै बिक्री हुनु राज्यका लागि आपत्तिजनक कुरा होइन । केही नमुनामा भएको परीक्षणले नेपालको गाँजाको जरामा अधिकतम ०.०००५, डाँठको बोक्रामा अधिकतम ०.००१ र तल्लो फेदतिरको नशा नदिने पातहरूमा १.० प्रतिशतभन्दा कम टिएचसी भएको देखाएको थियो । प्राविधिक रूपमा १ देखि २ प्रतिशतसम्मको टिएचसी हुने सुकेको गाँजाको कुनै पनि भाग नसाका लागि उपयुक्त नहुने भएकाले त्यसको नसाको रूपमा उपयोग हुने जोखिम कम हुन्छ ।

माथिको प्राविधिक तथ्यका आधारमा नेपालमा गाँजाखेतीलाई कानुनी गर्ने क्रममा हुने वर्गीकरणअन्तर्गत सुकेको गाँजाको १ प्रतिशतभन्दा कम टिएचसी हुने भाग, हेम्प (भाङ्गो) तथा भाङ तथा त्यसको दाना, हेम्प ओइल तथा ०.३ प्रतिशतभन्दा कम टिएचसी हुने सिबिडी तेलमा कुनै नियमन गरिराख्न नपर्ने गरी स्वतन्त्र छोड्नु उत्तम हुन्छ । यी तत्त्वहरू निर्वाध रूपमा हिलिङ खाना र ओखतीय तत्त्वका रूपमा खानामा राखी खान र मालिस गर्ने तत्त्वका रूपमा बेच्न दिनु उत्तम हुनेछ ।

सुकेको गाँजाको १ प्रतिशतभन्दा अधिक टिएचसी हुने भाग, त्यसको कन्सनट्रेड, एक्सट्र्याक, लेदो, तेल, चरेस आदि तथा तिनीहरूबाट निर्मित हरेक पदार्थलाई उचित विधेयक जारी गरी स्थानीय तहका वडासमेतको सहभागितामा अत्यन्त प्रभावकारी नियन्त्रण जरुरी छ । वैज्ञानिक अनुसन्धानबाट गाँजा, रक्सी र सुर्तीको मिश्रणको प्रभावबाट कस्तो असर हुन्छ भन्ने हालसम्म प्रष्ट ज्ञान संसारले नपाइसकेकाले अनुसन्धान बाहेकको अवस्थामा औषधीय प्रयोजनमा अधिकमा ०.५ प्रतिशतभन्दा धेरै ९५ प्रतिशत अल्कोहल गाँजासँग प्रयोग गर्न नहुने नीति लागू गर्नुपर्छ । औषधीय प्रयोजनमा समेत सुर्तीजन्य पदार्थ तथा गाँजाको संयुक्त उपयोग गैरकानुनी गर्नु जरुरी छ ।

नेपालमा कस्तो–कस्तो कामका लागि औषधीय गाँजा व्यवसाय गर्न अनुमति दिनुपर्ला जस्तो लाग्छ ?
प्रदेश सरकारले विशेष निश्चित क्षेत्र वा भागमा गाँजा व्यवसाय गर्न प्रतिबन्धित क्षेत्र तोकेर निम्न प्रकारको गाँजाको खेती तथा व्यवसाय गर्न व्यक्ति, संस्था, व्यवसाय, उद्योग, सहकारी, साझेदारी संस्था, सरकारी वा गैरसरकारी निकाय आदिलाई औपचारिक अनुमति दिनु जरुरी होला जस्तो मान्छु ।

१. खेतीका लागि, २. प्रशोधनका लागि, ३. विश्लेषणात्मक परीक्षणका लागि, ४. स्थानीय खरिद–बिक्रीका लागि, ५. खरिद–बिक्री तथा आयात–निर्यातका लागि, ६. बीउ, नर्सरी, खेती, प्रशोधन, फर्मुलेसन, प्रडक्ट डेभलपमेन्ट, क्लिनिकल ट्रायल, फ्लेभर र औषधीय गुणका सारतत्त्व निर्माणलगायत अनुसन्धानका लागि, ७. आयुर्वेदिक टनिक, ओखती तथा लागू औषधका लागि, ८. गाँजा औषधालय (फार्मेसी), आयुर्वेदिक दबाखाना, रिह्याब सञ्चालन, ९. गाँजाको एकभन्दा बढी वर्गमा पर्ने कार्य सञ्चालन आदि विषयमा दिनु उत्तम होला । त्यस्तै, १०. विश्वविद्यालय, कलेज, इन्स्टिच्युटलाई अध्ययन, अध्यापन, प्रविधि विकास तथा इनोभेसनमा समेत यसको लाइसेन्स दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्