९३ सहकारीले बुझाएनन् श्वेतपत्र «
Logo

९३ सहकारीले बुझाएनन् श्वेतपत्र

काठमाडौं– सहकारी विभागले आफ्नो क्षेत्राधिकारमा पर्ने १ सय २५ सहकारीलाई श्वेतपत्र बुझाउन दिएको निर्देशन अधिकांशले उल्लंघन गरेका छन् । विभागले यही माघ १२ भित्र श्वेतपत्र बुझाउन निर्देशन दिएको थियो । ९३ वटा सहकारीले श्वेतपत्र बुझाएनन् भने बाँकी ३२ सहकारीले मात्र बुझाएका छन् ।

सहकारी सदस्यको बचत लिएर सञ्चालक भाग्न थालेपछि नियमन र कारबाही गर्न सहजताका लागि विभागले श्वेतपत्र बुझाउन निर्देशन दिएको थियो । समयभित्र श्वेतपत्र बुझाउन अटेर गर्ने सहकारीलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको थियो । कारबाहीको चेतावनी दिँदा पनि ९३ सहकारीले श्वेतपत्र बुझाएनन् ।

पटक–पटकको निर्देशन र कारबाहीको चेतावनी समेत दिँदा अटेर गरी श्वेतपत्र नबुझाउने सहकारीलाई पहिलो चरणमा स्पष्टीकरण सोधिने विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले जानकारी दिए । घिमिरेले भने, ‘स्पष्टीकरणका लागि सात दिनको समय दिइनेछ । स्पष्टीकरण सोध्दा पनि नमान्ने सहकारीलाई रजिष्ट्रारअनुसार वा सहकारी ऐनअनुसार कारबाही गरिनेछ ।’ उनका अनुसार राजिष्ट्रारलाई ३ लाख रुपैयाँसम्मको जरिवाना गर्ने अधिकार छ भने सहकारी ऐनबमोजिम कारबाही गर्दा कम्तीमा ५ लाख रुपैयाँ जरिवाना पर्छ ।

सहकारी क्षेत्रका समस्या समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० गठन भएको छ । यो कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न विभागले मातहतका सबै सहकारीलाई मंसिर मसान्तभित्र श्वेतपत्र बुझाउन निर्देशन दिएको थियो । सहकारीका धेरै बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो लिएर आउने गरेको रजिष्ट्रार घिमिरेले बताए । विभागले बचतकर्ताको पैसा फिर्ता गराउन सहकारी सञ्चालकलाई विभागमै बोलाएर छलफल गर्दै आएको छ । बचत फिर्ता गर्न दबाब पनि दिइने गरेको उनले जानकारी दिए ।

राउत कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने काम पनि विभागले गर्दै आएको उनले जानकरी दिए । सहकारीमा भएको समस्या समाधान गर्न कार्यदलले सहकारी ऐनहरु संशोधन गर्ने लगायतका सुझाव दिएको थियो । ती सुझावअनुसार विभागले ऐनकानुन संशोधन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

हाम्रो नयाँ कृषि सहकारी समस्याग्रस्त घोषणा
सरकारले काठमाडौंको महाराजगञ्जमा केन्द्रीय कार्यालय भएको हाम्रो नयाँ कृषि सहकारी लिमिटेलाई समस्याग्रस्त घोषणा गरेको छ । यसका सञ्चालक जीबी राई हुन् । लामो समयदेखि बचतकर्ता सदस्यको बचत फिर्ता नगरेपछि सदस्यकै उजुरीका आधारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको सहकारी विभागले जनाएको छ । यो सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी आएका छन् ।

हालसम्म सहकारी सदस्यको बचत फिर्ता नगरी भागेका १६ सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको छ । २०७३ देखि समस्याग्रस्त घोषणा गर्न थालिएकोमा माघसम्ममा १६ सहकारी पुगेका छन् । समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी खोजतलास सहकारी व्यस्थापन समितिको कार्यालयले गर्छ ।

समितिका सचिव केशवप्रसाद पौडेलले समस्याग्रस्त घोषणा भएका सहकारीमध्ये ३ वटाको हिसाब राफसाफ भएको जानकारी दिए । उनका अनुसार लामो प्रयासमा कुबेर बचत तथा ऋण सरकारी संस्था, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका बचतकर्ताको रकम फिर्ता गरिएको छ । सञ्चालकले बचतकर्ताको सबै सम्पत्ति हिनामिना गरेपछि समस्याग्रस्त घोषणा गर्दा बचतकर्ताको रकम फिर्ता गराउन समस्या हुने सचिव पौडेलले बताए ।

थोरै स्रोतसाधन र जनशक्ति अभाव हुँदा समितिले राम्रोसँग काम गर्न नसकेको उनको भनाइ छ । सहकारी सञ्चालकको सम्पत्ति सरकारले समस्याग्रस्त घोषणा अगावै बैंकहरुले नै रोक्का गरी सक्ने हुँदा सदस्यको बचत फिर्ता ल्याउन धेरै समस्या हुने उनले बताए । सरकारले करिब दुई महिनाअघि भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र मोरङको तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्