Logo

पर्वतका सुन्तला मुग्लिन र कालिमाटीमा

पर्वत– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौंको कालिमाटी बजारमा पठाइएको छ । अन्यत्र सुन्तलाको सिजन सकिने बेला भइसक्दा यहाँका सुन्तला भने बल्ल बजार पठाउन थालिएको हो ।

यस वर्ष सुन्तला खरिद गर्नका लागि काठमाडौंको कालिमाटी, मुग्लिन, धादिङ तथा नारायणगढका ब्यवसायी यतिबेला बाँसखर्कका सुन्तला बगानमा आइपुगेका छन् । कतिपय व्यवासयीले थोरैथोरै मात्रामा सुन्तला ढुवानी गर्न थालेका छन् भने कतिपय व्यवसायीले कृषकसँग सम्झौता गरे पनि सुन्तला टिप्न आइनपुगेको सबैभन्दा बढी सुन्तला बिक्री गर्ने कृषक जगतबहादुरर खत्रीले बताए ।

माघको तेस्रो सातादेखि धमाधम टिपेर ढुवानी हुने उनको भनाइ छ । बोटमा फल लामो समयसम्म राख्दा अर्को वर्ष कम उत्पादन हुने भएकाले माघ महिनाभित्रै फल टिपेर लैजान व्यवसायीलाई कृषकले आग्रह गरेका छन् । गत वर्ष १५ करोड रुपैयाँ भित्र्याएका यहाँका कृषकले यस वर्ष भने उत्पादन घटेको बताएका छन् । यस वर्ष १० देखि ११ करोड आम्दानी हुने अनुमान गरिएको अगुवा कृषक खत्रीले बताए ।

गण्डकी प्रदेशकै स्वादिलो सुन्तला उत्पादन हुने बाँसखर्कमा ढिलो गरी सुन्तला पाक्ने भएकाले मूल्यसमेत महँंगोमा बिक्री हुने गर्दछ । यहाँका कृषकले गत वर्ष बोटबाटै प्रतिकेजी १७० मा बिक्री गरेका थिए भने यस वर्ष १८० मा बिक्री गर्ने तयारी गरेका छन् । गत वर्ष सुन्तलाको फल लाग्ने बेला फागुन १५ गते परेको असिनापानीका कारण उत्पादन घटेको कृषक खत्रीले बताए । खत्रीले गत वर्ष सुन्तला बिक्रीबाट ३२ लाख आम्दानी गरेका थिए । उनका तीन सयवटा बोटमा सुन्तला फल्ने गर्दछन् ।

त्यसैगरी भक्तबहादुर पाइजाले २२ लाख र अर्का कृषक हेमकुमार अर्मजाले २७ लाख रुपैयाँका सुन्तला बिक्री गरेका थिए । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका यहाँका दुई सयभन्दा बढी परिवारले सुन्तलालाई मुख्य पेशा बनाएका छन् । स्थानीय बजारमारे सुन्तला उत्पादन सहकारी संस्थामा आबद्ध कृषकले मकै, कोदोलगायतका बालीनाली लगाउन छाडेर सुन्तलाखेती विस्तार गरेका छन् ।

सहकारीका अध्यक्षसमेत रहेका कृषक खत्रीले ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढी हुने गरेको सुनाए । बाँसखर्कमा अन्य खाद्यान्न र फलफुल उत्पादन हुँदैन । किसानहरूले धान, कोदो र मकैभन्दा सुन्तला खेतीले फाइदा हुने भएपछि सुन्तलालाई मुख्य आम्दानीको रूपमा लिँदै आएका छन् । यहाँका कृषकले न्यूनतम पाँच लाख रुपैयाँभन्दा थोरै कमाउने कुनै घरै छैनन्,’ अध्यक्ष खत्रीले भने, सबैभन्दा बढी आम्दानी आफूले गर्ने गरेको बताए । सुन्तलाकै कमाइले बजारमा घरघडेरी नजोडेका निकै कम छन् ।

उनका अनुसार घरको आँगनसमेत सुन्तलाका बोटले ढाकिएको छ । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा विगत पाँच वर्षअघि ६७ लाख खर्चिएर शीत भण्डार केन्द्र सञ्चालन गरिएको छ । तर बोटमै सन्तोषजनक मूल्य पाएपछि शीत भण्डारमा भण्डारण गर्न कृषकले चासो देखाउँदैनन् । केही कृषकले भने ग्रेडिङ गरेर बाँकी रहेका सुन्तला शीत भण्डारमा राखेर बेसिजनमा बिक्री गर्ने गरेको स्थानीय कल्पना खत्रीले बताइन् ।

सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनी क्षेत्रफल विस्तार हुँदै आएको छ । यहाँका दुई सयभन्दा बढी परिवार सुन्तला खेतीमा आबद्ध भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताए । बाँसखर्कमा पनि गत वर्ष अत्यधिक फलेका कारण यस वर्ष केही कम भएको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्