Logo

कर्णाली करिडोरको स्तरोन्नति सेनाले गर्ने

हुम्ला– देशको ७६ जिल्लामा राष्ट्रिय सडक सञ्जाल जोडिएको भएता पनि हुम्ला जिल्ला यसबाट पछि परेको छ । सरकारले हुम्लालाई पनि राष्ट्रिय सडक सञ्जालमा जोड्नका लागि हरेक वर्ष बजेट विनियोजन गरी तीव्रताका साथ काममा लागिपरेको छ । हुम्लाका विभिन्न सडक खण्डको ट्रयाक ओपनदेखि पुल निर्माणमा सरकार सक्रिय छ । अति नै भिरालो भूभाग रहेका कारण कर्णाली करिडोरको हिल्सादेखि कवाडी सडक खण्डका विभिन्न अप्ठ्यारा भीरलाई नेपाली सेनालाई स्तरोन्नतिका लागि जिम्मा दिइने भएको छ ।

सडक विभागले कर्णाली करिडोरअन्तर्गत हुम्लामा पर्ने पाँचवटा असजिला चट्टानी भीरमा सडक स्तरोन्नति गर्ने कामको जिम्मा सेनालाई लगाएको छ । चालु आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सडक विभागले ती चट्टानी भीरको काम सेनाको जिम्मा लगाएको हो । आयोजनाको सिफारिसका आधारमा सडक विभागले कर्णाली करिडोरको हुम्ला खण्डका पाँचवटा चट्टानी भीरको सडकलाई स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनाको विकास निर्माण दललाई लगाएको हो ।

ती पाँचवटा भीरको कामको जिम्माका लागि विभागले नेपाली सेनालाई पत्राचारसमेत गरिसकेको छ । कर्णाली करिडोरको हुम्ला खण्डका असजिला चट्टानी भीरमा दुल्ली कुना, बोक्चे गौडा, भिगौडा, च्याछरा र याल्वाङ गौंडा छन् । यी पाँचै गौंडामा यसअघि हिल्सा सिमकोट सडक आयोजनाले साँघुरो ट्रयाक खोले पनि त्यसको ग्रेड मिलाउने काम हुनसकेको छैन । यद्यपि, सडकको ग्रेड नमिले पनि यातायातका साधन भने सञ्चालन हुँदै आएका छन् । अप्ठ्यारो ग्रेड नमिलेका भीरका कारण सञ्चालनमा आएका सवारीसाधन बेलाबेला दुर्घटनामा पर्दा ठूलो मानवीय र भौतिक क्षति हुँदै आएको छ ।

ती अप्ठ्यारा चट्टानी भीर फुटाउन विष्फोटक पदार्थ आवश्यक पर्ने तर आयोजनालाई त्यसको व्यवस्था गर्न निकै कठिन हुने भएकाले पनि जिल्लावासीको मागअनुसार सडक स्तरोन्नतिको जिम्मा सेनालाई दिएको हो । केही समय अगाडि स्थानीय प्रशासन, जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजको सर्वपक्षीय बैठकले असजिला चट्टानी भीरमा सडकको काम सेनालाई दिन नेपाल सरकारसँग माग गरिएको थियो ।

पाँचवटै भीर गरी एक किलोमिटर लम्बाइ सडक निर्माण सेनाले गर्नुपर्नेछ । सदरमुकाम सिमकोटलाई चाँडो राष्ट्रिय सडक सञ्जालसँग जोड्न ती भीरमा कामको जिम्मा सेनालाई दिनु आवश्यक रहेको हुम्लाबासीको भनाइ छ । पाँच वटामध्ये दक्षिणी क्षेत्रका तीनवटा भीरको स्तरोन्नतिको काम आयोजना र नेपाली सेनाको उपस्थितिमा संयुक्त लागत इस्टिमेट गर्न सोमबार दुल्ली कुनातर्फ योजना प्रमुख नेपाली प्राविधिकसहित लागेका छन् ।

स्थलगत रूपमा तीनै भीरमा पुगेर लागत इस्टिमेट तयार गरिनेछ । नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख अमृत पराजुलीले सडक विभागले जिम्मा लगाएको काम निर्धारित मितिमै सम्पन्न गर्ने बताए । उनले कार्यदलको पहिलो प्राथमिकता दुल्ली कुना, बोक्चे गौँडा, भिगौडा रहेको बताउँदै यी भीरको चट्टान विष्फोट र ग्रेड मिलाउने काम तत्काल सुरु गरिने बताए । यी भीरको काम सम्पन्न भए सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्न सहज हुनेछ ।

माथिल्लो क्षेत्रका दुईवटा भीरमा भने त्यपछि काम सुरु गरिनेछ । हाल नेपाली सेनाले ल्याप्चेदेखि लालीबगरसम्म सडक निर्माण गर्ने कार्य गरिरहेको छ । सेनाले सबैभन्दा असजिलो छारे भीरमा कामलाई तीव्रता दिइरहेको छ । त्यसैगरी ०७८ साल असार ३१ गते सेनाले कवाडीदेखि सलीसल्लासम्म ३९ किमि सडक निर्माण गरेर हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्