Logo

बर्दघाटमा नमुना औद्योगिक ग्राम

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रका सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्कालगायतका गृहकार्यपछि उक्त औद्योगिक ग्रामको शिलान्यास भएको हो ।

चालु आर्थिक वर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारी समेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्वपूर्ण परियोजनाका रूपमा अगाडि बढेको छ । सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

आफू निर्वाचित भएको एक वर्षमै उनले उक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याएका हुन् । नमुना औद्योगिक ग्राम नवलपरासी जिल्लाकै एकीकृत सुविधा उपलब्ध हुने गरी स्थापना गर्न लागिएको छ । यस ग्राममा स्थानीय युवाका सिर्जनशील उद्यमशीलता र स्थानीय कच्चा पदार्थमा आधारित सीपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रूपमा पनि चिनिने छ ।

बर्दघाट नगरपालिका– ५, खजुरा खोला क्षेत्रमा करिब १८ बिगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुदैँछ । यस परियोजनाका लागि १७ करोड रूपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुवर्षीय परियोजनाका रूपमा आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सांसद चौधरीको विशेष पहलमा चालु आर्थिक वर्षका लागि ४ करोड रुपैयाँ यस परियोजनाका लागि निकासा भई टेन्डर भइसकेको छ ।

रिलायन्स बिल्डर्स एन्ड सप्लायर्स जेभिले निर्माणको जिम्मा पाएको छ । यस वर्ष पूर्वाधारका कामहरू सम्पन्न गरिने छ । कार्य प्रगती राम्रो रहेमा यसै आर्थिक वर्षभित्र थप बजेट निकासा भई थप काम गर्न सक्ने अवस्था रहेको छ । यस परियोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरी चौधरी फाउन्डेसनका इन्जिनियरहरूले प्रत्यक्ष रूपमा सहयोग गर्नेछन् ।

तीन वर्षभित्र नमुना औद्योगिक ग्राम तयार गरी नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार उनको सचिवालयका अधिकारीहरूले परियोजनाको निरन्तर अनुगमन गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका थिए । उक्त अवसरमा मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रूपमा सुधार गर्न आफूले पहल गर्ने मन्त्री रिजालले बताए । शिलान्यास कार्यक्रममा चौधरीले आफूले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिबद्धताहरूलाई एक एक गरी पूरा गर्ने क्रममा नमुना औद्योगिक ग्राम सोही प्रतिबद्धता कार्यान्वयनको अर्को महत्वपूर्ण चरण भएको बताए ।

‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहन्छु । तर, यहाँ त्यही भइरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु । तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, तपाइहरू पनि यस्तै विकासको राजनीति गर्नोस् ।’

एसएमई भिलेज उद्यमशीलताको नमुना बन्ने र नवलपरासीका युवाहरूलाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व राख्ने चौधरीले बताए । उनले भने,‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोच राख्ने युवाहरूका लागि एकीकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाहरूका नयाँ सोच, नवप्रवर्तनका कार्यक्रमहरूलाई अर्को तहमा पुर्‍याउनेछ भन्ने मेरो विश्वास छ ।’

सो अवसरमा प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्सका प्राविधक रवीन्द्र शाहले जानकारी दिए । उद्योग मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्रले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ । बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमुना औद्योगिक ग्राम बन्नु अत्यन्तै सुखद रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्