Logo

अनलाइनबाटै अभिलेख संकलन

विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा व्यवसायीको अभिलेख अनलाइन माध्यमबाट राख्न सुरु गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्न सकिने प्रणाली जडानका लागि प्रारम्भमा ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई समेटिएको छ ।

नयाँ सफ्टवेरमा तथ्यांक संकलन र व्यवस्थापन भएपछि व्यवसायको प्रकृति र क्षेत्र, स्वामित्वको संरचना, अधिकृत र चालु पुँजी, कर्मचारी तथा कामदारको स्थायित्व एवं लैंगिक अनुपातलगायत तथ्यांक सम्बन्धित जिल्ला तथा नगर उद्योग वाणिज्य संघले राख्न सक्नेछन् । त्यसका साथै अनलाइनबाट नै सदस्य बन्न तथा नवीकरण गर्न सकिने गरी मोबाइल एप पनि निर्माण गरी सञ्चालनमा ल्याइएको अध्यक्ष राउतले जानकारी दिए ।

सफ्वेटवेर सञ्चालनको प्रारम्भिक अनुशिक्षण ३० वटा जिल्ला–नगर उद्योग वाणिज्य संघहरुलाई उपलब्ध गराइसकिएको छ । क्रमश: सञ्चालन र व्यस्थापनका लागि आवश्यक सहयोग महासंघबाट हुने गरी कार्य प्रारम्भ भएको पनि उनले बताए । जिल्ला–नगर उद्योग वाणिज्य संघमा जडान भएको सफ्टवेयरमा प्रशासनिक तथ्यांक, लेखा व्यवस्थापन र अन्य सूचना व्यवस्थापनको सुविधा हुनुको साथै उक्त सफ्टवेयर मोबाइल एप्लिकेशनबाट पनि चलाउन सकिने जनाइएको छ ।

सुक्ताश चेम्बर मेनेजमेन्ट सफ्टवेयर सुक्ताश इन्क प्रालिबाट लिइएकोे राउतले बताए । कोशी प्रदेशका ३९ वटा उद्योग वाणिज्य संघहरुमध्ये प्रारम्भमा ३० वटा संघमा सफ्टवेयर प्रयोगमा ल्याइने र बाँकी उद्योग वाणिज्य संघहरुमा क्रमिक रूपमा गर्दै जाने योजना महासंघको छ ।

प्रतिक्रिया दिनुहोस्