मन्दीले एक वर्षदेखि सटर खाली
बुटवल– आर्थिक मन्दीले बुटवल उपमहानगरपालिका कम्प्लेक्सका सटर एक वर्षदेखि खाली रहेका छन् । पटक पटक सूचना निकाल्दा पनि ती सटरहरू भाडामा लाग्न सकेको छैनन् । बुटवलको नयाँ बसपार्क अर्थात लुम्बिनी बस टर्मिनलमा उपमहानगरका कम्प्लेक्स बनेको छ । उपमहानगरको स्वामित्वका कम्प्लेक्समा रहेका सटरहरू एक वर्षदेखि खाली छन् ।
कम्प्लेक्सका कोठा र सटरहरू भाडामा दिन पटक पटक सूचनानिकाल्दा पनि १८ वटा सटरहरू अझै भाडामा गएका छैनन् । पहिलो पटक भदौ महिनामा सपिङ कम्प्लेक्स भाडामा दिन बोलपत्र आह्वान भएको थियो । सुरुमा ३० दिनको म्याद राखेर उपमहानगरपालिकाले सूचना निकालेको थियो । १८ सटरमा बोलपत्र नपरेपछि उपमहानगरपालिकाले पुन १५ दिन र ७ दिनको सूचना प्रकाशित गरेको थियो ।
ती सूचनामा टेण्डर नपरेपछि उपमहानगरको राजस्व परामर्श समितिको बैठक बसेर न्यूनतम भाडा मूल्य २५ प्रतिशत घटाएर पुन:बोलपत्र आह्वान गरिएको बुटवल उपमहानगरपालिकाका राजस्व शाखाका अधिकृत डोलराज पौडेलले बताए । ‘पहिलोपटक टेण्डरको सूचना प्रकासित गर्दा भाडामा नगएपछि राजस्व परामर्शको बैठक बसेर शुल्क समायोजन गरी न्यूनतम भाडा मुल्य घटाइयो,’ उनले भने,‘कार्यपालिकाबाट निर्णय गरेर फेरी बोलपत्र आह्वान गरिएको थियो ।’
बस टर्मिनलको सपिङ कम्प्लेक्सको ३४ नम्बर सटरको सबैभन्दा बढी १५ हजार ९३७ रुपैयाँ न्यूनतम भाडादर कायम गरिएको छ । सुरुमा बोलपत्र प्रकाशित गर्दा सटरको न्यूनतम भाडा २० हजार रुपैयाँ रहेको थियो । बस टर्मिनलका भूइतलाका केही सटरहरू भाडामा गए पनि पहिलो र दोस्रो तलाका सटरहरू भाडामा जान नसकेको बुटवल ९ का वडाध्यक्ष प्रदीपकुमार श्रेष्ठले बताए । त्यसै गरेर अमरपथ सपिङ कम्प्लेक्स र हाटबजार कम्प्लेक्सका सटरहरू पनि उपमहानगरले भाडामा लगाउन सकेको छैन ।
पछिल्लो पटक अमरपथ सपिङ कम्प्लेक्सका ४०९, ४१० र ४११ नम्बरका सटर, हाटबजारका ८ वटा सटर र उजिरसिंह स्कुलका दुई वटा सटर भाडामा लगाउन टेण्डर आह्वान भएको छ । अमरपथ र हाटबजारका सटरको लागि पहिलो पटक जेठ महिनामा टेण्डर आह्वान भएको थियो । टेण्डरबाट केही सटरहरू लागे पनि कतिपय सटर भाडामा लिने व्यवसायी आएका छैनन् । पटक पटक सूचना प्रकाशित गरेर भाडामा नलागेपछि न्यूनतम भाडा मूल्य घटाएर यी सटरको लागि फेरी बोलपत्रको सूचना निकालिएको हो ।
अमरपथ सपिङ कम्प्लेक्सका सटरको लागि सुरुमा १८ हजार न्युनतम भाडादर तोकिएको थियो । पछिल्लो सूचनामा १२ हजार उल्लेख छ । हाटबजार कम्प्लेक्सको लागि सुरुमा १० हजार तोकिएकोमा पछिल्लो सूचनामा घटाएर ७ हजार बनाइएको छ । उपमहानगरका सपिङ कम्प्लेक्सका पहिलो तला भाडामा गए पनि माथिल्लो तला भाडामा लाग्न नसकेको राजस्व अधिकृत पौडेलले बताए । आर्थिक मन्दिका कारण कम्प्लेक्सका सटरहरू भाडामा नलागेको हो ।
पछिल्लो समय बुटवलका धेरै ठाउँका व्यावसायिक भवनका कोठा र सटरहरू खाली छन् । त्यसको असर उपमहानगरको कम्प्लेक्सहरूमा पनि परेको हो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले बुटवल बजार विकेन्द्रीत हुँदा बजार क्षेत्रका सटरहरू भाडामा लाग्न नसकेको बताए । ‘पहिले बुटवलको बजार अमर पथमा मात्र सीमित थियो । धेरै मानिसहरू बजार गर्न यही आउँथे । अहिले दक्षिण र पश्चिमसम्म बजार फैलिएको छ,’उनले भने ।