Logo

सुस्त अर्थतन्त्रको असर

जीवन बीमाको व्यवसाय झिनो बढ्दा निर्जीवनको खुम्चियो

काठमाडौं– अर्थतन्त्रमा आएको सुस्तताले बैंक तथा वित्तीय क्षेत्रमा मात्र नभई बीमा क्षेत्रमा पनि उस्तै असर गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसाय वृद्धिमा सुस्तता आउँदा निर्जीवन बीमा व्यवसायतर्फ गिरावट आएको छ ।

बीमा क्षेत्रको नियामक बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले व्यवसाय ३.६२ प्रतिशतले बढाउँदा निर्जीवन बीमा कम्पनीको ३.१९ प्रतिशतले घटेको छ । पोलिसी परित्याग गर्ने, बीमा नै नगर्ने लगायतका कारण बीमा क्षेत्रमा समस्या परेको सरोकारवालाहरू बताउँछन् । आर्थिक गतिविधि खुम्चिएका कारण बीमा कम्पनीहरूले चालु आवको सुरुवातदेखि नै बीमा व्यवसाय बढाउन सकेनन्, जसकारण व्यवसायमा संकुचन आएको हो ।

प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले दोस्रो त्रैमाससम्म १९ अर्ब ४४ करोड बीमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा ६४ करोड कम हो । निर्जीवन बीमा कम्पनीहरूले गत आवको दोस्रो त्रैमाससम्म २० अर्ब रुपैयाँको व्यवसाय गरेका थिए ।

निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा सर्वाधिक गिरावट आएको छ । यो कम्पनीको व्यवसाय ५०.७५ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको पुससम्म ६९ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा यस कम्पनीले १ अर्ब ४० करोड रुपैयाँको व्यवसाय गरेको थियो । दोस्रो त्रैमासमा १४ मध्ये ६ निर्जीवन बीमा कम्पनीको व्यवसाय खुम्चिँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क संकलन १८.३२ प्रतिशतले घटेको छ । यो कम्पनीले चालु आवको पुससम्ममा १ अर्ब ९७ करोड बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन बीमा व्यवसायमा सर्वाधिक बजार हिस्सा शिखर इन्स्योरेन्सको छ । यो कम्पनीले पुससम्ममा २ अर्ब ४५ करोडको व्यवसाय गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ७.६० प्रतिशत कम हो । व्यवसाय विस्तार गर्ने ८ कम्पनीमध्ये दि ओरियन्ट इन्स्योरेन्स सबैभन्दा अगाडि छ । यो कम्पनीले ६ महिनामा पोहोरको तुलनामा ३३.३१ प्रतिशतले व्यवसाय विस्तार गरेको छ । उसले पुससम्म ९३ करोड ५१ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको छ । व्यवसाय गर्ने अनुमति पाएका चार निर्जीवन लघुबीमा कम्पनीमध्ये तीन वटाले ६ महिनामा ४ करोड ५० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले २ करोड ३७ लाख, प्रोटेक्टिभ माइक्रोले १ करोड ६५ लाख र स्टार माइक्रो इन्स्योरेन्सले ४७ लाख रुपैयाँको व्यवसाय गरेका छन् । निर्जीवन बीमा व्यवसायमा चालु आवको दोस्रो त्रैमासम्ममा संकुचन आए पनि जीवन बीमातर्फ भने केही वृद्धि भएको छ । यद्यपि यो वृद्धि निकै कम हो । चालु आवको पुससम्ममा जीवन बीमा कम्पनीले ७४ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आवको दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीले ७१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम आर्जन गरेका थिए । यो वर्ष व्यवसाय थप २ अर्ब ५६ करोड रुपैयाँले बढाएका हुन् ।

कुल बीमा व्यवसायमा सुधार देखिए पनि प्रथम बीमा शुल्क भने घटेको छ । पुस मसान्तसम्म जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कबापत १३ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम गत आवको दोस्रो त्रैमासको तुलनामा २.३६ प्रतिशत कम हो । गत आवको सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क १४ अर्ब १७ करोड रुपैयाँ संकलन गरेका थिए ।

चालु आवको दोस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सर्वाधिक २२.५७ प्रतिशतले घट्दा सन नेपालको ८.४३ र लाइफ इन्स्योरेसन कर्पोरेसनको १.१८ प्रशितले घटेको छ । यस्तै चालु आवको दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफले आर्जन गरेको छ । यस कम्पनीले २० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ७.४६ प्रतिशत बढी बीमाशुल्क संकलन गरेको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा बढी व्यवसाय बढाउने जीवन बीमा कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अगाडि छ । यस कम्पनीले चालु आवको पुससम्ममा २ अर्ब ३ करोड ८३ लाख बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्मको तुलनामा कम्पनीले १४.०१ प्रतिशत बढी संकलन गरेको हो । सन नेपाल लाइफले भने सबैभन्दा कम १ अर्ब ७८ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

चालु आवको दोस्रो त्रैमासमा लघु जीवन बीमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । प्राधिकरणका अनुसार गार्डियन माइक्रो लाइफले ६६ लाख, क्रेष्ट माइक्रो लाइफले १ करोड ५७ लाख र लिबर्टी माइक्रो लाइफले २८ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्