ट्राफिकलाई नेपाल लाइफको सहयोग

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई चेकिङ बोर्ड प्रदान गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोशराज पोखरेललाई १८ लाख बराबरको १९० थान चेकिङ बोर्ड हस्तान्तरण गरेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न चेकजाँचलाई व्यवस्थित र सुरक्षित बनाउन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीलाई सहयोग गरेको बताए । चेकिङ बोर्डहरुको निरन्तर प्रयोग र थप उपयोगी बनाउन पाँच वर्षसम्म आवश्यक मर्मत सम्भारसमेत गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
यसैगरी आगामी दिनमा ट्राफिक व्यवस्थापनमा आवश्यक सहकार्य र सहयोग गर्न कम्पनी तयार रहेको पराजुलीले बताए । प्रहरी नायव महानिरीक्षक पोखरेलले कम्पनीले गरेको सहयोगले ट्राफिक प्रहरीलाई सवारी दुर्घटना न्यूनिकरण गर्नुका साथ साथै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन मद्दत पुग्ने बताए ।