उत्तर कोरिया अझै पनि खतरा «

उत्तर कोरिया अझै पनि खतरा

उत्तर कोरियाले परमाणु अस्त्र नत्याग्ने र अमेरिका उसको मोहजालमा फस्न नहुने नेसनल इन्टेलिजेन्सका निर्देशक डानियल कोट्सले बताए ।
“उत्तर कोरिया लगातार अझै पनि अमेरिकाका लागि बढ्दो खतराको रूपमा देखा पर्दै आएको छ,” उनले बताए ।
“प्योङयाङले आफ्नो परमाणु अस्त्र र क्षेप्यास्त्रका बारेमा छलफल गर्न अस्वीकार गर्दै आएको छ,” उनले थपे ।
उत्तर कोरियाले हालै मात्र दक्षिण कोरियामा भइरहेको शीतकालीन ओलम्मिकमा आफ्ना खेलाडी र प्रतिनिधि–मण्डल पठाएको छ । यसमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनकी बहिनी किम यो जोङ पनि समावेश छिन् । किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई उत्तर कोरियाको भ्रमणको निम्तो पनि दिएकी छन् ।
“दक्षिण कोरियाली जनतामा केही हदसम्मको खुसीयाली पनि देखिएको छ । यसबाट उनीहरू प्रभावित पनि भएका छन्,” उनले बताए ।
अमेरिकी जासुसी अधिकारीले सिनेटको सुनुवाइको पनि सामना गरेका छन् । उक्त सुनुवाइमा किम जोङ उनले आफू सत्ता र शक्तिमा रहनका लागि परमाणु हतियारलाई प्रमुख मान्दै आएको बताइएको छ ।
अमेरिकीले उत्तर कोरियाली नेताकी बहिनी प्रचार र अभियान विभागको प्रमुख भएको कुरा पनि सम्झिनुपर्ने सीआईएका निर्देशक माइक पोम्पियोले बताए ।
पोम्पियोले भने, “किम जोङ उनका लागि कुनै पनि रणनीतिक परिवर्तनको संकेतको अवसर आफूले नदेखेको र अमेरिकालाई खतरा बन्दै आएको उनको परमाणु क्षमता प्राप्त गर्ने इच्छामा पनि कुनै परिवर्तन आएको छैन ।”
उत्तरको परमाणु त्रासनजिकै आएको र यसको कसरी प्रतिक्रिया जनाउने भन्ने निर्णय गर्ने समय आएकोमा आफू सहमत भएको कोट्सले बताए ।
कोट्सका अनुसार उत्तर कोरियाली नेताले अन्तरमहाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्रमा परमाणु हतियार प्राप्त गर्न खोजेका छन् । यसले वासिङ्टन र सोललाई खतरा भएको र कोरियाली प्रायःद्वीपमा यसले प्रधानता पाउने भनाइ उनको थियो ।
लामो दूरीको परमाणु क्षेप्यास्त्रले पूरै अमेरिकाका लागि डरको विषय भएको र परम्परागत हतियारले दक्षिण कोरिया, जापान र अमेरिकी निशानामा मार हान्न सक्ने कोट्सले बताए ।
अमेरिकाका लागि चीन, रूस र इरान खतरा भएको तर उत्तर कोरिया सर्वाधिक हिंस्रक भएको र आगामी दिनमा उसले आमसंहारको हतियार विकास गर्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्