सिताके च्याउमा भविष्य खोज्दै युवा «
Logo

मासिक दुई लाख कमाइ

सिताके च्याउमा भविष्य खोज्दै युवा

इलाम– नेपालमा रोजगारी नभएर विदेसिनेको संख्या उत्तिकै छ । तर नेपालमा नै उद्यम गर्न चाहने प्रसस्तै छन् । दैनिक हजारौं वैदेशिक रोजगारीका लागि जाने युवाको भीडमा इलाम माईजोगमाई गाउँपालिकाका काफ्ले दाजुभाइ विदेश नजाने सोचका साथ गाउँमा नै सिताके च्याउखेती गरेर मनग्ये आम्दानी गरिरहेका छन् ।

इलामको माईजोगमाई गाउँंपालिका–६ प्याङका काफ्ले दाजुभाइ सिताके च्याउखेतीमा भविष्य खोजिरहेका छन् । घनेन्द्र काफ्ले र रामप्रसाद काफ्ले च्याउ उत्पादन गर्छन् र बजारसम्म आफैं पुर्‍याउँछन् । पूर्वी नेपालका विभिन्न बजार तथा मार्टमा आफ्ना उत्पादन पुर्‍याउने गरेको उनीहरू बताउँछन् । हाल विराटनगर, धरान, बिर्तामोड, दमक तथा जिल्लाकै विभिन्न बजारमा आफ्ना उत्पादन पुर्‍याउने गरेको उनीहरू बताउँछन् ।

भारतका बजारमा समेत यसको प्रसस्तै माग रहेको उनीहरू बताउँछन् । कुनै सिजनमा भारतबाट माग आउने र भारतसमेत पुर्‍याइदिने गरेको उनीहरूको भनाइ छ । ‘एकपटक खाएपछि आफैँ पनि फोन गरेर मगाउनुहुन्छ,’ घनेन्द्र काफ्लेले भने । सुरुमा पाँच सय काठको मुडाबाट सुरु गरेको च्याउखेती विस्तार भएर हाल तीन हजार पाँच सय मुडामा विस्तार भइसकेको छ । सो मुडाबाट मासिक तीन सय किलोसम्म उत्पादन हुने गरेको छ ।

प्रतिकिलो आठ सयदेखि एक हजारसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसादले बताए । उत्पादित च्याउलाई ग्रेडिङ गरेर बजारसम्म लैजाने गरिएको बताइएको छ । राम्रो र ठूलो साइजको प्रतिकिलो एक हजारमा बिक्री हुने गरेको सानो साइजको प्रतिकिलो आठ सयमा बिक्री हुने गरेको छ । घरमा नै बसेर च्याउखेती गरेर मासिक दुई लाख कमाइ हुने गरेको उनीहरूले बताए ।

घरका प्राय: परिवार नै च्याउमा लागेको उनीहरू बताउँछन् । आत्मनिर्भर हुनका लागि विदेशनै जानु नपर्ने उदाहरण बन्न उनीहरू सफल भएका छन् । गर्न सके च्याउ तथा कृषिबाट मनग्ये आम्दानी हुने गरेको उनीहरू बताउँछन् । उनीहरूले तीन वर्षअघि यसको खेती गर्न सुरु गरेका थिए । सुरुमा जमिन लिजमा लिएर खेती सुरु गरेको घनेन्द्रले बताए । पछि संरचना निर्माण भएपछि सो जमिन फिर्ता दिँदा ३० लाखमाथि घाटा भएको उनले बताए ।

पछि आफ्नै जमिनमा सुरु गरेपछि सो समयको घाटा हाल पूर्ति गरिरहेको उनको भनाइ छ । १२ महिना नै उत्पादन गर्न सकिने उनीहरूले बताए । प्रविधिको विकास र आफैंमा दक्षता भए खेती गर्न समस्या नरहेको उनीहरू बताउँछन् । जंगलमा उत्पादन हुने काठको मुडामा यसको खेती गर्न सकिन्छ । उत्पादित च्याउ बजारसम्म लैजाने गरेको काफ्ले दाजुभाई विचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउँछन् । विचौलियाले राखेको च्याउ तीन दिनसम्म नबिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको बताइएको छ ।

साथै विचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमा समेत अन्योलता आउने गरेको छ । आफैंले उपभोक्तसमक्ष पुर्‍याउँदा ताजासमेत उपभोग गर्न पाउने र स्वादमा समेत फरक पर्ने गरेको छ । ताजा मिठो स्वादको हुने र ओइलाएको च्याउको स्वादमा ह्रास आउने गरेको बताइएको छ । यसको उत्पादन काठको मुडाबाट हुन्छ । दरो र बलियो काठको प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । बीचमा मुडा फेर्नु पर्दा झन्झट बढ्ने बताइएको छ ।

यसको उत्पादन लिन प्राय: कट्टुसको मुडामा बीउ राख्ने गरिएको छ । काठमा प्वाल पारेर बीउभित्र राखिन्छ । रोपेर चार महिनासम्म बीउ लगाएको मुडालाई घाम नलाग्ने ठाउंँमा राख्नु पर्दछ । त्यसपछि बीउ टुसाउन थाल्ने र यसको उत्पादन लिन सकिने छ । उत्पादन भइसकेपछि मुडालाई भिजाउनु पर्दछ । प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नु पर्दछ । प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्