इच्छाकामनाले गर्यो कार्यक्रम तथा बजेट संशोधन

चितवन– चिवनको इच्छाकामना गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको छ । गाउँसभाले १०१ वटा कार्यक्रम तथा बजेट संशोधन गरिएको सभाका सचिव प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।
उनका अनुसार चालुखर्चतर्फ एक करोड ५४ लाख कटौती गरिएको छ भने ५९ लाख ८० हजार विभिन्न आयोजनामा थप गरिएको छ । पुँजीगततर्फ भने विभिन्न आयोजनामा एक करोड ९० लाख कटौती गरिएको छ भने दुई करोड ८५ लाख थप गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २२ वटा योजनाका लागि ४८ लाख स्वीकृत गरिएको प्रस्ताव सर्वसम्मतले गाउँसभाबाट पारित गरिएको छ ।
उपाध्यक्ष माया सिलवालले रकमानान्तर तथा बजेट संशोधन प्रस्ताव सभामा पेस गरेकी थिइन् । उक्त प्रस्ताव सभाले सर्वसम्मत पारित गरिएको हो । उक्त प्रस्तावलाई गाउँसभा अध्यक्ष दानबहादुर गुरुङले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामा वडा नम्बर ४ का वडाध्यक्षसमेत रहेका भौतिक तथा पूर्वाधार विकास विभागका संयोजक रुद्रप्रसाद उप्रेतीले इच्छाकामना गाउँपालिकामा भइरहेका विकासका पूर्वाधारको प्रगति प्रतिवेदन पेस गरे ।
गाउँपालिकाले चालुतर्फ पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्चको १५ लाख घटाएको छ । त्यसैगरी सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीको १० लाख, उद्धार राहत तथा पुन:स्थापना खर्चको १० लाख, आर्थिक समृद्धिका लागि सामाजिक परिचालनबाट ७० लाख कटौती गरेका छन् । शैक्षिक संस्थाहरूलाई सहायतामा १० लाख थप गरिएको छ ।
साथै अस्पताल स्वास्थ्यमा कम्प्युटर, प्रिन्टर व्यवस्थापनका साथै इच्छाकामना आधारभूत अस्पतालबाट स्वास्थ्य बीमा लागू गर्न ईएमआरएस प्रविधि व्यवस्थापनमा ११ लाख थप गरिएको छ । पुँजीगत प्रकृतिको योजनामा पुँजीगत परामर्श खर्चको १० लाख घटाइएको छ । यसैबीच चैवुङ–ढाप सडक स्तरोन्नति आरसिसि ढलानबाट १५ लाख, लामो झरनामा पर्यटन पूर्वाधार निर्माणबाट २५ लाख र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणबाट १५ लाख घटाइएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सम्झौता भई अनिवार्य दायित्व सिर्जना भएका बाँकी भुक्तानीका लागि २६ लाख थप गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा भौतिक पूर्वाधारका विभिन्न योजना कार्यान्वयन गर्न उपभोक्ता समितिमार्फत हुन नसकेका र चालु प्रकृतिका अन्य समानीकरण अनुदान शीर्षकमा विनियोजन भएका कार्यक्रम तथा शीर्षकबाट रकमान्तर गर्नेगरी रकमान्तर तथा संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।