Logo

धनगढी नाकामा घट्यो वैदेशिक व्यापार

भन्सारका अनुसार बजार मागमा आएको संकुचनले आयात र सामान उत्पादन नहुँदा निर्यात घटेको छ ।

धनगढी– कैलाली भन्सारको आयात र निर्यात व्यापार घटेको छ । बजार मागमा आएको संकुचनले आयात र निर्यात व्यापार घटेको हो । गत आर्थिक वर्षको ६ महिनामा आठ अर्ब सात करोड २० लाख रुपैयाँको मुख्य १० वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सात अर्ब सात करोड ७२ लाख रुपैयाँको सामान आयत भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

गत वर्षभन्दा चालु वर्षमा आयातमा ११ करोड ३४ लाख रुपैयाँ ह्रास आएको छ । आयातमा ह्रास आउँदा राजस्व असुलीमा समेत कमी आएको छ । ती समानबाट गत वर्ष दुई अर्ब ९३ करोड राजस्व असुली भएकोमा चालु वर्षमा दुई अर्ब ८१ करोड मात्रै असुल भएको छ । यो ११ करोड ३४ लाख रुपैयाँले कम हो । त्रिनगर भन्सार नाकाबाट सबैभन्दा बढी आयात हुनेमा डिजेल पर्छ । डिजेल पनि गत आर्थिक वर्षभन्दा ३९२ किलोलिटरले कम आयात भएको छ ।

गत वर्ष ३४ हजार २० किलोलिटर डिजेल आयात भएकोमा यो वर्ष ३३ हजार किलोलिटर मात्रै आयात भएको छ । यसबाट आठ करोड ८७ लाख रुपैयाँले राजस्व असुलीमा ह्रास आएको भन्सारले जनाएको छ । ग्यास, फिनिसिङ सेरामिक्स, ब्लाकेट तथा ट्राभलिङ रग, बेकरीका सामान, आलु, बिटुमिनलगायतका सामानको आयात घटेको भन्सारले जनाएको छ । भन्सारका अनुसार प्लान्ट क्वारेन्टाइन बन्द हुँदा कृषिजन्य सामग्री आयातमा कमी आएको हो । बढी आयात हुने सामानको सूचिमा दोस्रो नम्बरमा रहेको पेट्रोल आयात बढेको छ ।

गत आर्थिक वर्षमा पहिलो ६ महिनामा १३ हजार किलोलिटर पेट्रोल आयात भएकोमा सो अवधिमा १३ हजार ३६८ किलोलिटर आयात भएको छ । यसबाट एक करोड चार लाख रुपैयाँले राजस्व बढेको हो । त्यसै गरी, दालमोठ, पापड, साल्टेड, भुजिया, कागज र कागजका पातालगायतका सामानको आयात गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बढेको भन्सार अधिकृत पवित्रकुमार खड्काले बताए ।

त्रिनगर भन्सार नाकाबाट आठ प्रकारका सामान निर्यात हुँदै आएकोमा दुई प्रकारको सामान चालु आर्थिक वर्षमा निर्यात भएको छैन । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४५ करोड ९६ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २९ करोड २३ लाख रुपैयाँका सामान निर्यात भएको छ । नगण्य मात्रामा भइरहेको निर्यातमा पनि १६ करोड ७२ लाखले घटेको छ । निर्यात ३६.३९ प्रतिशतले घटे पनि निर्यातबाट संकलन हुने राजस्व भने दुई करोडले बढेको छ ।

त्रिनगर भन्सार नाकाबाट रोजिन, कत्था, सल्फेट टर्पेन्टाइन, वइल केक, खयर, तरल कत्था, तरकारीलगायतका सामान निर्यात हुँदै आएको छ । तरल कत्था र खरीढुंगा पाउडर चालु आर्थिक वर्षमा निर्यात भएको छैन । निर्यात हुने कत्था र केकमा मात्रै भन्सार राजस्व लाग्ने गरेको छ । कतिपय निर्यात हुने सामानमा निर्यात गर्ने कम्पनीले निर्यात प्रवर्द्धन गर्न सरकारबाट अनुदान प्राप्त गर्ने र भन्सार राजस्व छुट पाउने गरेको भन्सार अधिकृत खड्काले बताए ।

बजार माग घटेको कारण आयात घटेको र निर्यात गर्ने सामान उत्पादन हुन नसकेकोले निर्यात घटेको हुन सक्ने भन्सार कार्यालयले जनाएको छ । भन्सार अधिकृत खड्काले आर्थिक मन्दीका कारण आम नागरिकको मोभिलिटी समेत घटेको कारण डिजेल आयात घटेको बताए । उनले डिजेल गाडीको सट्टा इलेक्ट्रिक गाडीको प्रयोग बढेकोले डिजेल आयात कम भएको हुन सक्ने बताए ।

राजस्वको लक्ष्य पुरा नहुने
विगत चार वर्षदेखि भन्सार राजस्व असुली निरन्तर ओरालो लागेको बेला चालु आर्थिक वर्षमा समेत लक्ष्य अनुसार भन्सार राजस्व संकलन नहुने संकेत देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म पाँच अर्ब ६२ करोड ४८ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भए पनि तीन अर्ब ६५ करोड मात्रै संकलन भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ११ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

गत आर्थिक वर्षमा १२ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको कैलाली भन्सार कार्यालय आठ अर्ब २९ करोड मात्रै राजस्व संकलन गर्न सफल भएको थियो । भन्सार अधिकृत खड्काले बैंकहरूले ऋण लगानी बढाएर बजार माग बढाउन सके मात्रै राजस्व संकलन गर्ने लक्ष्य भेटाउन सकिने बताए । उनले अहिलेकै अवस्थामा राजस्व संकलनको लक्ष्य पुरा हुने संकेत नदेखिएको बताए ।

आर्थिक वर्ष २०७७/७८ देखि कैलाली भन्सारले राजस्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन । तर पनि भन्सार विभागले कैलाली भन्सारलाई गत आर्थिक वर्षको लक्ष्यभन्दा चालु आर्थिक वर्षको लक्ष्य ३९ प्रतिशतले बढाएर निर्धारण गरेको खड्काले बताए । उनले आयात निर्यात पनि सोही परिणाममा बढ्न सके मात्रै लक्ष्य प्राप्त गर्न सकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्