Logo

नेपाल–भारत सहयोगी हात भएका छिमेकी

नेपाल–भारत सम्बन्ध कहिले सुरु भयो भन्नेबारेमा आधिकारिक रूपमा केही भन्न सकिँदैन । नेपाल र भारतको सम्बन्ध शताब्दियौं पुरानो सम्बन्ध हो । समग्रमा भन्नुपर्दा यो सम्बन्ध इतिहासभन्दा पनि पुरानो छ । दुवै देशको सम्बन्ध जनस्तरको सम्बन्ध हो, जुन आपसी संस्कृतिमा आधारित छ । दुवै देशका जनताको सम्बन्ध ‘रोटी र बेटी’को सम्बन्ध हो । रक्तसम्बन्धसँग साटिएको यो सम्बन्ध सहकार्य र सहअस्तित्वको सम्बन्ध पनि हो ।

नेपाल र भारत दुवै देशका जनता एकअर्काको देशमा रोजगारीमा छन् भने दुवै देशका जनताबीच विवाहलगायतका विभिन्न संस्कारगत कार्य पनि हुने गरेका छन् । यस आधारमा भन्नुपर्दा नेपाल र भारतबीच विशेष सम्बन्ध स्थापित छ । वैश्विक परिस्थितिको विश्लेषण गर्ने हो भने यस्तो सम्बन्ध विश्वका अन्य देशमा कमै मात्र छन् । हिन्दूहरूका आराध्य देवदेवी राम र सीताबीचको वैवाहिक सम्बन्ध यस सन्दर्भमा महत्वपूर्ण मानिन्छ ।

यही हप्ता भारतमा राम मन्दिरको स्थापनामा नेपालका थुप्रै मन्दिरमा दीप प्रज्वलन गरिएको छ । पारम्परिक रूपमा विकसित दुवै देशको सम्बन्ध सहअस्तित्वका आधारमा थप विकसित हुँदै आएको छ । घनिष्ठ छिमेकी भएको नाताले भारत र नेपालबीच खुला सिमाना रहेको छ । दुवै देशका जनता–जनताबीचको सम्बन्ध र संस्कृतिको विशेषता रहेको दुई राष्ट्रमा मित्रता र सहयोगको सम्बन्ध धेरै गहिरो छ । सिमानापारि स्वतन्त्र आवतजावत गर्ने परम्परा लामो समयदेखि नै रहेको छ ।

नेपालले भारतका पाँच राज्य सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसँग १ हजार ८ सय ५० किलोमिटरभन्दा बढी सीमा जोडेको छ । सन् १९५० को भारत–नेपाल शान्ति तथा मैत्री सन्धिले भारत र नेपालबीच विद्यमान विशेष सम्बन्धको आधार बनाएको छ । नेपाली नागरिकले सन्धिका प्रावधानहरूबमोजिम भारतीय नागरिकसरह सुविधा र अवसरहरू उपभोग गर्दै आएका छन् । भूगोलका हिसाबले नेपाल भारत र चीनले घेरिएको छ ।

सांस्कृतिक, भाषिक, धार्मिक, आर्थिक, व्यापारिक, जनसांख्यिक नक्सा पल्टाएर हेर्ने हो भने चीनसँग निकटताको इतिहास कमै छ । तिब्बतलाई चीनले आफ्नो भूमिमा नगाभ्दासम्म हिमाली क्षेत्रका नेपाली र तिब्बतीबीच सांकृतिक, धार्मिक, आर्थिक, व्यापारिक सम्बन्ध थियो । झन्डै ८० लाख नेपाली नागरिक भारतमा बसोबास, काम र धेरै सपरिवार बस्दै आएका छन् । नेपालमा करिब ६ लाख भारतीय बसोबास गर्दै आएका छन् । यसमा लामो समयदेखि नेपालमा बसोबास गर्दै आएका व्यवसायी, व्यापारी, पेसेवर डाक्टर, इन्जिनियर, आइटी कर्मचारी र मजदुरहरू निर्माण क्षेत्रमा मौसमी र आप्रवासीलगायत पर्छन् ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । भारतबाट नेपालको मुख्य आयात पेट्रोलियम पदार्थ हो । मोटर, अन्य सवारीका वाहनदेखि स्पेयर पार्ट्ससम्म नै भारतीय क्षेत्रबाट आउने गरेको छ । त्यस्तै दैनिक आवश्यक चामल, धान मात्र होइन, सियोदेखि साइकलसम्म, हलोदेखि ट्याक्टरसम्म नै निर्यात हुने गरेको छ । यी क्षेत्रमा भारतीय पक्षले ठूलै सहयोग गर्ने गरेको छ । अन्य मेसिनरी र पार्ट्स औषधिदेखि रोल्ड पानास विद्युतीय उपकरण, सिमेन्ट्स कृषि उपकरण सबैको सहयोग गर्दै आएको छ ।

भारतीय लगानीका फर्महरू नेपालमा सबैभन्दा ठूला लगानीकर्ता हुन्, जसले कुल स्वीकृत विदेशी प्रत्यक्ष लगानीको ३० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । नेपालमा उत्पादन, सेवा बैंकिङ, बीमा, सुक्खा बन्दरगाह, शिक्षा र दूरसञ्चार, विद्युत क्षेत्र र पर्यटन उद्योगमा करिब १ सय ५० भारतीय उद्यम सञ्चालनमा छन् । दुई देशबीच नागरिक तहमै सम्बन्ध रहेको इतिहासबाट थाहा हुन्छ तर यो एकादेशको कथाजस्तै भइसकेको छ । यता तराई क्षेत्रमा नेपालको कुल जनसंख्याको करिब ५३ प्रतिशत बसोबास छ । चुरेको फेदीबाट भारतको सिमाना पुग्न आधा घण्टा लाग्छ । खुला सिमानाले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई विश्वमै विशेष र विशिष्ट मानक बनाइदिएको छ ।

नेपालमा सन् २०१५ को भूकम्पदेखि अन्य साना भूकम्पमा पनि उस्तै सहयोग गर्दै आएको छ । नेपाललाई भारत सरकारको विकास सहायता तल्लो तहसम्मकै पूर्वाधार निर्माणमा केन्द्रित रहेको छ । नेपालको विकासमा भारतले सघाउनु भारत आफ्नो दायित्व नै सम्झने गरेको छ । जसअन्तर्गत पूर्वाधार, स्वास्थ्य, जलस्रोत, शिक्षा र ग्रामीण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न परियोजनाहरू कार्यान्वयन गरिएका छन् । हालैका वर्षहरूमा भारतले तराई क्षेत्रमा १० सडकको स्तरोन्नति गरी सीमा पूर्वाधार विकासमा नेपाललाई सहयोग गर्दै आएको छ । जोगबनी–विराटनगर, जयनगर–बर्दिबास अन्तर्देशीय रेल लिंकको विकास, वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत जाँचचौकी स्थापना गर्नमा पनि सहयोग गर्ने भएका छन् ।

वर्षौंदेखि नेपालमा मानव संसाधनको विकासमा भारतको योगदान द्विपक्षीय सहयोगको प्रमुख पक्ष हो । कला र संस्कृति, शिक्षाविद् र सञ्चारमाध्यमका क्षेत्रमा जन–जन सम्पर्क प्रवद्र्धन गर्न भारत सरकारका पहलहरूमा नेपालको विभिन्न स्थानीय निकायसँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, गोष्ठी र कार्यक्रमहरू साथै हिन्दीमा सम्मेलन र सेमिनारहरू समावेश छन् । भारतीय संस्कृति र भारत–नेपाल द्विपक्षीय सम्बन्धलाई प्रवद्र्धन गर्न काम गरिरहेका धेरै भारत–नेपाल मित्रता संगठनहरूलाई पनि सहायता प्रदान गरिएको छ । भारतले नेपालभर ई–लाइब्रेरी प्रणाली स्थापना गर्दै छ ।

जलस्रोतमा सहयोग मुख्यतया साझा नदीहरूको सम्बन्धमा द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । भारत र नेपालबीच सन् १९७१ देखि एकअर्काको प्रसारण पूर्वाधारको फाइदा उठाउँदै दुई देशको सीमावर्ती क्षेत्रमा विद्युत्को आवश्यकता पूरा गर्न पावर एक्सचेन्ज सम्झौता भएको छ । सीमावर्ती क्षेत्रमा विद्युत् आदानप्रदान र विद्युत् व्यापारका लागि प्रयोग हुने २० भन्दा बढी १ सय ३२ केभी, ३३ केभी र ११ केभी प्रसारण अन्तरसम्बन्धहरू छन् । कृषिमा नयाँ साझेदारी भारतीय सहयोगको एक पक्ष हो । दुई देशका विशाल जनसंख्या मुख्यतया आफ्नो जीविकोपार्जनका लागि कृषि र सम्बन्धित गतिविधिहरूमा निर्भर हुने भएकाले यो महत्वपूर्ण र समयसापेक्ष पहल होे ।

त्यस्तै, नेपाल र भारतबीच रक्षा क्षेत्रमा व्यापक सहयोग रहेको छ । सन् १९५० देखि नेपाल र भारतले दुई सेनाबीचको आपसी सुमधुर सम्बन्धको कदर गर्दै एकअर्काका सेना प्रमुखलाई मानार्थ जनरलको उपाधि प्रदान गर्दै आएका छन् । भारतले नेपाली सेनाको आधुनिकीकरणमा उपकरण आपूर्ति र तालिम प्रदान गर्दै आएको छ । भारतीय सेनाको गोर्खा रेजिमेन्टहरू आंशिक रूपमा नेपालको पहाडी जिल्लाहरूबाट भर्ती गरेर खडा गर्ने गरिएको छ । हाल नेपालबाट करिब ३२ हजार गोरखा सैनिक भारतीय सेनामा कार्यरत छन् । काठमाडौंमा सैनिक निवृत्तिभरण शाखाबाहेक पोखरा र धरानमा दुई पेन्सन तिर्ने कार्यालयहरू छन् । मित्रहरू बदल्न सकिन्छ तर छिमेकी बदल्न सकिँदैन भन्ने कथ्य नेपालका लागि कूटनीतिक सन्दर्भमा सार्थक छ ।

छिमेकीसँगको सम्बन्धको असर सरकार–सरकारबीच मात्र नभएर नागरिक तहसम्मै पर्दै आएको छ । नेपाल र भारतबीच सबै पक्षमा मित्रता सकारात्मक भए पनि राजनीतिक वृत्तमा भने केही असमझदारीपूर्ण तर्क हुँदै आएका छन् । नेपालमा बदलिरहने सरकार र त्यसले लिने नीतिका कारण विदेश मामिलाका सम्बन्धमा उतारचढाव हुँदै आएका छन् । जसको असर नेपाल–भारत सम्बन्धमा बेलाबखत देखिँदै आएको छ । नेपालले चीनले अघि सारेको बीआरआई नामको अत्यन्तै महत्वाकांक्षी रणनीतिमा हस्ताक्षर गरेपछि भारत खुसी नभएको भारतीय अधिकारीको अभिव्यक्तिबाट छर्लंगै हुन्छ ।

नेपालले चीनसँग कुन हदसम्मको सम्बन्ध विस्तार गर्न चाहेको हो ? भन्ने प्रश्नको जवाफ भारतले खोजिरहेको देखिन्छ । नेपालमार्फत भारतविरुद्ध विदेशी चलखेल हुन नसकोस् भन्ने चाहना भारतको छ । नेपालको खुला सिमानाका कारण भारतले विशेष चासो र चिन्ता राख्ने गर्छ । भारतसँग नेपालको सम्बन्ध सुमधुर हुनु भनेको विश्वका धेरै देशसँग पनि सम्बन्ध सुमधुर हुनु हो । बीआरआईमा हस्ताक्षर गरेयता नेपालले तेस्रो मुलुकबाट पाउँदै आएका आर्थिक सहयोग घटिरहेको छ ।

पाँच वर्षअघि नेपालको ऋण ३ खर्ब रुपैयाँको हाराहारीमा थियो । अहिले वैदेशिक ऋण २० खर्ब नाघेको छ । दाताहरूले अनुदान दिन छाडेका छन् । नेपालबाट निरन्तर उच्च तहको राजनीतिक भ्रमण भइरहेको छ । भारतबाट पनि उच्च तहको भ्रमणका लागि वातावरण बन्नुपर्छ । राजनीतिक र कूटनीतिक तहमा हुने यस्ता भ्रमणले दुई देशबीचको विश्वासको वातावरण बढाउनुपर्छ । दरिलो सम्बन्ध स्थापित गर्न भूमिका खेल्नुपर्छ । यसका लागि राजनीतिक नेतृत्व सचेत हुन जरुरी छ । नेतृत्व सचेत भएमा दुई देशबीचमा कहिल्यै पनि अविश्वासको खाडल पर्दैन ।

(लेखक नेपाल–भारत मैत्री संघका उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्