ग्वार्को फ्लाइओभरः म्याद सकिन महिना बाँकी, काम ३५ प्रतिशतमात्र «
Logo

राजधानीका निर्माणाधीन पूर्वाधार- १

ग्वार्को फ्लाइओभरः म्याद सकिन महिना बाँकी, काम ३५ प्रतिशतमात्र

काठमाडौं– ललितपुरको ग्वार्को क्षेत्रको अत्यासलाग्दो ट्राफिक जाम घटाउने मुख्य उद्देश्य राखेर सरकारले बनाउन खोजेको फ्लाइओभर समयमा नबन्ने भएको छ ।

यो मुलुककै पहिलो फ्लाइओभर हो । यही कारण पनि सर्वसाधारणको चासो यसप्रति बढी छ । तर दुर्भाग्य, मुलुकमा निर्माणाधीन अन्य पूर्वाधारका आयोजनाजस्तै यसको निर्माण पनि समयमा नसकिने देखिएको छ । यो फ्लाइओभरको ठेक्का सम्झौता हुँदा दिइएको समय सकिन एक महिनामात्र बाँकी छ । तर, निर्माण प्रगति भने बल्ल ३५ प्रतिशत पुगेको छ ।
अर्कोतिर यो फ्लाइओभर समयमा नबन्दा त्यो क्षेत्र भएर अहिले आवतआवत गर्न झनै समस्या बढेको छ । फ्लाइओभर बनाउनका लागि अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । अहिले सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ ।

सरकारले महत्व दिएका केही आयोजनामध्ये यो पनि एक हो । संसारका धेरै मुलुकमा सडक पूर्वाधारमा फ्लाइओभर र टनेल निर्माणको विषय सामान्य भइसकेको छ । हाम्रोमा भने पहिलो पटक फ्लाइओभर र टनेल (नागढुंगा) बन्दैछन् । तर, यिनै आयोजना निर्माणको गति कछुवा शैलीमा छ ।

देशको राजधानीमै भौतिक पूर्वाधार निर्माणमा यस्तो खेलाँची गरिन्छ भने देशका अन्य दूरदराजमा बन्ने आयोजनाहरुमा कस्तो लापरवाही होला ? ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलाइले प्रश्न समेत उब्जाएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माण गर्न २०७८ फागुन १२ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग भएको सम्झौताको अन्तिम म्याद यही महिना थियो । त्यसअनुसार समय सकिन एक महिना (फागुन ११) मात्र छ । तर, ग्वार्को फ्लाइओभरको भौतिक काम ३५ प्रतिशतमात्र भएको छ ।

ग्वार्को फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । सरकार र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएपछि यसको डिजाइनमा त्रुुटि देखिएको थियो । फेरि डिजाइन गर्दा नै एक वर्ष समय लागेको थियो । त्यसपछि मात्र फ्लाइओभर निर्माणको काम सुरु भएकाले तोकिएको समयअनुसार काम हुन नसकेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । योमात्र होइन, मुलुकका अधिकांश आयोजनामा सुरुको डिजाइन असफल भएर अर्को बनाउनु सामान्य जस्तो भइसकेको छ । कतिपय स्थानमा पक्की पुल निर्माण गर्दा नदीको एकातिरको भागमा पिल्लर बनाएपछि अर्को भागमा पिल्लर बनाउँदा नमिल्ने गरी समस्या आएका घटना पनि छन् ।

‘सम्झौता हुँदा तोकिएको म्याद फागुनमा सकिँदैछ, तर निर्माणको काम पूरा हुने अवस्था छैन,’ विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले कारोबारलाई भने, ‘आगामी जेठ-असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य राखेर अहिले काम भइरहेको छ । अहिले पाइल निर्माण गर्ने, र्‍याड बनाउने र ग्राउन्ड इम्प्रुभमेन्टको काम जारी छ ।’ विगतमा भन्दा पछिल्लो समय कामले गति लिएकाले आगामी असारभित्र निर्माण पूरा हुने महर्जनको विश्वास छ ।

म्याद थप्न निवेदन
निर्माण कम्पनीले साउनसम्म म्याद थपको प्रस्ताव गरेको विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए । उनले भने, ‘निर्माण कम्पनीले साउनसम्मको म्याद थप प्रस्ताव गरेको छ । हामीले भने असारसम्म म्याद थप गर्ने योजना बनाएका छौं ।’ अहिले फागुन १२ सम्मको समय रहेकाले आवश्यक छलफल गरेर म्याद थपको निर्णय गर्ने शाक्यको भनाइ छ ।

ग्वार्को चोकमा फ्लाइओभर बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । यो योजना १७ करोड ६ लाख रुपैयाँ लागतमा बनिरहेको छ । ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।

यस्तै, विकास केन्द्रले चक्रपथको अति व्यस्त सवारी चाप हुने कलंकी–कोटेश्वर सडक खण्डअन्तर्गत सातदोबाटो र एकान्तकुना चोकमा इन्टरसेक्सन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पत्राचार गरेको छ । अहिलेसम्म यसको जवाफ प्राप्त नभएको निर्देशक शाक्यले बताए । उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर हामीले अर्थमा स्रोत माग गरेका छौं, तर हालसम्म कुनै जवाफ प्राप्त भएको छैन । सातदोबाटो र एकान्तकुना अन्डरपासको जियोकम-बीडीए-रेज जेभीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो ।

कस्तो बन्दैछ फ्लाइओभर ?
ग्वार्को फ्लाइओभर निर्माणका लागि बिएन्डबि अस्पतालबाट बालकुमारी नजिकसम्म र्‍याम उठाइने छ । फ्लाइओभरको फुल डेप्थ टेम्पोररी केसिङमा पाइल निर्माण गरी सिंगल स्प्यान (प्रिकास्ट प्रिस्ट्रेस्ड पोस्ट टेन्सनिङ गर्डर ब्रिज) को ओभरपास, यान्त्रिक रूपमा स्थिर (मेकानिकल्ली स्टेबलाइज अर्थ) प्रविधि सहितको वाल बालकुमारीतर्फ ३२० मिटर र सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको र्‍याम निर्माण गरिने छ ।

१.५ मिटरको ब्यास र ३४ मिटर लम्बाइ भएका ४-४ वटा पाइल भएको ओभरपास पुलसहितको डिजाइन सडक विभागले २०७९ माघ २३ मा स्वीकृत गरेको थियो । फ्लाइओभरको र्‍यामको लम्बाइ ५ सय ५ मिटर, ३६ मिटर पुल गरी कुल ५ सय ४१ मिटर हुनेछ । उचाइ ६ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्