Logo

दोस्रो त्रैमासका सूचकले खस्कियो सेयर बजार

काठमाडौं– वाणिज्य बैंकहरूको दोस्रो त्रैमासमा खराब कर्जामा सुधार नभएसँगै यसको प्रभाव सेयर बजारमा पनि परेको छ ।
अधिकांश वाणिज्य बैंकको खराब कर्जामा सुधार हुन नसकेका कारण प्रोभिजन रकम बढेको छ । यसकै कारण उनीहरूको नाफा घटेको छ । विकास बैंकहरूमा पनि धेरैको नाफा घटेको छ भने केही नोक्सानमा छन् । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा ६० प्रतिशत माथि छ ।

बैंक तथा वित्तीय संस्थाको नाफा घट्दा त्यसको असर प्रतिसेयर आम्दानी (ईपीएस)मा परेको छ । लगानीकर्ताले सबैभन्दा महत्वपूर्ण सूचकका रुपमा हेर्ने गरेको प्रतिसेयर आम्दानी घट्दा उनीहरू निराश बनेका हुन् । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन परिसूचक ३.९४ अंक घटेर २०८४.०९ विन्दु कायम भएको हो । यससँगै नेप्से परिसूचक लगातार सात कारोबार दिन घटेको छ । यो अवधिमा परिसूचक ९१.०५ अंक घटेको छ ।

केही दिनअघि ९ अर्ब ७६ करोड पुगेको कारोबार रकम अहिले फेरि घटेर ३ अर्ब हाराहारीमा आइसकेको छ । नेप्से परिसूचक ‘इन्ट्रा डे’ कारोबारमा २२ सय विन्दु माथि पुगेको थियो । परिसूचक घटेर अहिले २ हजारको लाइनमा झरेको छ । विशेषगरी बैंक–वित्तीय संस्थाले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गर्न थालेपछि सेयर बजार प्रभावित भएको जानकार बताउँछन् । प्रफिट बुक गरेकाहरू ‘पर्ख र हेर’को अवस्थामा रहँदा पनि समग्र सेयर बजार सुस्त बनेको हो ।

बजार लगातार घट्दा कम्पनीको मूल्य निकै तल्लो विन्दुमा झरिसकेको छ । घटेका कम्पनीको सेयरमा पुनः लगानीकर्ता आकर्षित हुँदै जाँदा बजारले पुनः गति लिन सक्ने जानकार बताउँछन् । बिहीबार सेन्सेटिभ इन्डेक्स ०.२५ प्रतिशत, फ्लोट इन्डेक्स ०.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ प्रतिशत घटेको छ । बुधबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २०८८ विन्दुमा झ¥यो भने कारोबार रकम पनि घटेर तीन अर्ब ८९ करोड रूपैयाँमा सीमित भयो ।

मंगलबार पनि नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा झरेको थियो भने चार अर्ब २९ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो । हालै २१७८ सम्म पुगेको नेप्से त्यसयता लगातार घटेको हो । नेप्से करिब डेढ वर्षदेखि १८०० देखि २२ सयको विन्दु आसपासमा उतारचढाव हुँदै आएको छ ।

वाणिज्य बैंकहरूको समूहमा सुधार आएमात्रै २२ सयको प्रतिरोध तोडिने आशमा रहेका लगानीकर्ता बैंकहरूको वित्तीय विवरण सोचेअनुरुप नआएसँगै हतास देखिएका हुन् । यही कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएको जानकारहरू बताउँछन् । सोमबार नेप्से परिसूचक ३१.४९ अंकले घटेको थियो भने ६ अर्ब ३६ करोड रूपैयाँको सेयर कारोबार भएको थियो । यस्तै आइतबार नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३० विन्दुमा झर्यो । आइतबार सात अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

केही समयदेखि ‘साइडवेज मुभमेन्ट’ अर्थात् निश्चित विन्दुबीच रहेर तलमाथि हुने क्रममा नेप्से थियो । यो प्रवृत्ति टुंगिएर बजार बढ्न बैंकहरूको मूल्यमा सुधार हुनुपर्ने आशंका गरिएको थियो । तर, बैंकहरूकै वित्तीय विवरणमा सुधार नदेखिएपछि यसको प्रभाव नेप्सेमा परेको जानकारहरू बताउँछन् ।

अधिकांश बैंकको खराज कर्जामा सुधार नआएको र नाफा घटेका कारण यसको प्रभाव सेयर बजारमा देखिएको हो । सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा सुधार नदेखिएको, राम्रा कम्पनीको पनि लाभांश दर कम रहेको र कतिपयले लाभांश नदिएको लगायतका कारण बजार घट्दै गइरहेको छ ।

सेयर बजारका जानकार महेश रिजाल अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेको, नाफा घटेको, प्रतिसेयर आम्दानी घटेको कारण सेयर बजारमा गिरावट आएको बताउँछन् । उनले भने, ‘बैंकहरूको रिपोर्ट राम्रो नआएपछि बैंकको बढ्ने कुरा भएन । हाइड्रो बढ्दै जाँदा यसमा करेक्सन आएको छ, यो बढी माथि जान सकेन ।’

प्रतिक्रिया दिनुहोस्