Logo

राष्ट्रिय सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट विजयी भएका सत्ता गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुदेवी सापकोटा ।

काठमाडौं- आज बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको छ । रिक्त हुन लागेका १९ सदस्य चयनका लागि आज मतदान भएको थियो ।

निर्वाचन आयोगका अनुसार १९ सिटका लागि ५२ जना उम्मेदवार थिए । सत्ता गठबन्धनले सबै प्रदेश र एमाले-राप्रपाले कोशी प्रदेशमा तालमेल गरेका थिए ।

मत परिणामअनुसार कोशी प्रदेशको एक सिटबाहेक अरूतिर गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कोशी प्रदेशबाट अन्यमा कांग्रेसका कृष्ण सिटौला र महिलामा एमालेकी रूक्मिणी कोइराला विजयी भएका छन् ।

मधेशबाट महिला कोटामा जसपाकी पूजा चौधरी र अन्यमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन् ।

बागमतीमा कांग्रेसबाट विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीबाट श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल विजयी भएका छन् ।

गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।

लुम्बिनीमा कांग्रेसबाट विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।

कर्णालीमा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय निर्वाचित भएका छन् ।

सुदूरपश्चिममा कांग्रेसका बलदेव बोहोरा र नारायणदत्त भट्ट तथा माओवादीका रेणु चन्द निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्