वैदेशिक रोजगारीमा मृत्यु
६ महिनामा ६५६ नेपालीको शव भित्रियो

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा करिब सात खर्ब रेमिटेन्स भित्रिँदा रोजगारीको सिलसिलामा विदेसिएका ६५६ नेपालीको शव भित्रिएको छ ।
६ महिनामा तीन लाख ५० हजार वैदेशिक रोजगारीमा जाँदा ६५६ नेपाली श्रमिकको विदेशी भूमिमा मृत्यु हुनु सामान्य देखिएपनि स्वास्थ्य परीक्षण पास गरेर गएकाहरुको मृत्यु हुनु सामान्य होइन । सरकारले रेमिटेन्स बढाउन विभिन्न योजना सार्वजानिक गरिरहेका बेला मृत्युको आँकडा उकालो लाग्नुले श्रमिक निर्यात गर्ने नेपाल नै युवा मृत्युदरको कारण खोज्न असफल हुँदै गएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारीमा मृत्यु र अंगभग भएर आर्थिक सहायता लिने श्रमिकको संख्या गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको छ । दुई वर्ष अघिको कोभिडपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै मृत्यु तथा अंगभग भएर आर्थिक सहायता लिनेको संख्या बढेको हो । विदेशमा मृत्यु भएपनि आर्थिक सहायता पाउने मापदण्डमा नपरेका मृतक जोड्ने हो भने संख्या अझ बढ्छ ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले स्थानीय तह र प्रदेशस्तरमा वैदेशिक रोजगारीमा हुने मृत्यु र अंगभंग हुनेले पाउने आर्थिक सहायताको जानकारी बढ्दै गएसँगै सहायता लिनेको संख्या बढेको बताए । बोर्डले चालु आवको ६ महिनामा विभिन्न ६ शीर्षकमा ५० करोड पाँच लाख ९८ हजार रुपैयाँ काल्याणकारी कार्यमा खर्च गरेको छ । यसमध्ये सबै भन्दा बढी ३७ करोड पाँच लाख मृतक श्रमिकका परिवारलाई आर्थिक सहायता वितरण गरेको बोर्डले जनाएको छ ।
वैदेशिक रोजगार बोर्डले सार्वजानिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म रोजगारीकै क्रममा ६५६ नेपालीले मृत्युवरण गरेका थिए भने ३०७ जना अंगभंग तथा बिरामी भएर स्वदेश फर्किएका थिए । गत आवको साउनदेखि पुससम्म ६१५ श्रमिकको मृत्यु भएको थियो भने ११५ श्रमिक अंगभंग भएको थियो । गत आवको सो अवधिमा भने आर्थिक सहायताका लागि ३५ करोड ४२ लाख वितरण गरिएको थियो ।
बोर्डले श्रम स्वीकृति लिई सो अवधीभित्र स्वदेश वा विदेशमा मृत्यु भएको अवस्थामा मृतकका नजिकका हकवालालाई सात लाख आर्थिक सहायता दिने गरेको छ । विदेशमा मृत्यु भएका तर सरकारबाट आर्थिक सहायता पाउने मापदण्डमा नपरेकाको संख्या जोड्दा विदेशमा मृत्यु हुनेको संख्या अझ बढी हुने विज्ञको भनाइ छ । यद्दपि गत आर्थिक वर्ष भने हालसम्मकै सबैभन्दा बढी नेपाली श्रमिकले विदेशी भूमिमा मृत्युवरण गरेको बोर्डले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख गरेको थियो ।
बोर्डले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन अनुसार वैदेशिक रोजगारीको सिलसिलामा ४५ महिलासहित एक हजार २०८ नेपाली श्रमिकको मृत्यु भएको थियो । विगत ३ वर्षयता रोजगारीका क्रममा मृत्यु भई आर्थिक सहायता लिने बढ्दै गएको बोर्डले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम पाउने मापदण्डको दायरा फराकिलो भएसँगै आर्थिक सहायता खर्चसमेत वृद्धि भएको छ ।
बोर्डले आर्थिक सहायता र अन्य सामाजिक कार्यका लागि दिँदै आएको सेवा अनलाइनमार्पmत गरेसँगै सेवाग्राही संख्यासँगै सहयोग रकम पनि बढेको हो । यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउनेमा वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन भएर श्रम स्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि सात लाख रुपैयाँ पाउने निर्णय भएपछि सहयोग लिनेको संख्या वृद्धि भएको बोर्डको भनाइ छ ।
विगत आवमा बिरामीका कारण ४६६, प्राकृतिक मृत्यु २३६, सडक दुर्घटना १३५, आत्महत्या १०५, हृदयघात ९४, थाहा नभएको ६१, कार्यस्थल दुर्घटना ५२ र अन्य ११७ रहेको छ । यो अवधिमा सबै भन्दा बढी नेपाली श्रमिकको मृत्यु मलेसियामा ४११, साउदी अरब ३८९, कतार २९४, यूएई २०६, कुवेत ६५, कोरिया १६ र अन्य देशमा ९८ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । गत आवमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका एक हजार ४३३ श्रमिकका आफन्तले ८३ करोड ६० लाख आर्थिक सहायता लिएको बोर्डले जनाएको छ ।