Logo

नेपालगन्ज उपमहानगरद्वारा एकै दिन तीन योजना शिलान्यास

नेपालगन्ज– पछिल्लो समय सडक निर्माणलाई तीव्रता दिएको नेपालगन्ज उपमहानगरपालिकाले एकै दिन तीन योजनाको शिलान्यास गरेको छ । उपमहानगरभित्रका दुई मुख्य सडक स्तरोन्नति गर्ने कार्यका साथै वागेश्वरी मन्दिरस्थित चिल्ड्रेन पार्कको सौन्दर्यकरण गर्ने कार्यको बुधबार शिलान्यास गरिएको हो ।

उपमहानगरपालिकाको सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने पासाङ ल्हामुमार्ग स्तरोन्नति र वडा नम्बर १९ फुटाहादेखि एसके डेरी उद्योगसम्मको फुटाहा सडक अस्फाल्ट पीच हुने भएका हुन् भने वागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण हुने भएको हो । यी तीनवटै योजनाको बुधबार नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे । सुर्खेतरोडदेखि टाँगा स्टेसन जोड्ने ५५० मिटर लामो र आठ मिटर चौडा पासाङ ल्हामुमार्ग नगरस्तरीय ७५ लाख रुपैयाँ बजेटमा अस्फाल्ट पीच हुने भएको हो ।

निर्माण कम्पनी पिके कन्स्ट्रक्सनले ठेक्का पाएको पासाङ ल्हामुमार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको नेपालगन्ज उपमहानगरका इन्जिनियर मवीन्द्रमान श्रेष्ठले जानकारी दिए । त्यस्तै नेपालगन्ज १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म ३७५ मिटर लामो फुटाहा सडक ६० लाखको लागतमा बन्न लागेको इन्जिनियर इश्वरी सापकोटाले बताए ।

उक्त सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त लागतमा निर्माण हुने उनले जानकारी दिए । सात भाइ निर्माण सेवाले ठेक्का पाएको उक्त सड्क असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको इन्जिनियर सापकोटाको भनाइ छ । अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए ।

उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताए । विष्टले सडक पूर्वाधार विकासमा नेपालगन्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । नगर उपप्रमुख कमरुद्दिन राईले पूर्वाधार विकासको मुख्य कडी मानिने सडक स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको बताए ।

निर्माण कम्पनीलाई समयमै गुणस्तरीय ढंगले निर्माण गर्न निर्देशन दिँदै उनले सडकको गुणस्तरमा कुनै सम्झौता नगर्न अनुरोध गरे । वडा नम्बर ११ का वडाध्यक्ष नन्दकिशोर कश्यप र वडा नम्बर १९ का वडाध्यक्ष पर्शुराम कुर्मीले सडक स्तरोन्नति हुँदै गर्दा निकै खुसी लागेको बताउँदै निर्वाचनताका नागरिकसमक्ष गरिएको बाचा पूरा हुने चरणमा रहेको उल्लेख गरे । यस्तै उपहानगरपालिकाले वागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको वागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्यसमेत चाँडै सुरु उपमहानरपालिकाले जनाएको छ ।

नगर प्रमुख विष्टले बुधबार एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उक्त योजना निर्माणको जिम्मा वागेश्वरी काल भैरव कन्स्ट्रक्सन प्रालिले पाएको छ । कुल ३० लाख बजेटमा निर्माण हुने पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताए ।

उक्त कार्य असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको उनको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी व्यापारिक सटर डोजर लगाएर भत्काएको थियो । बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रूपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगन्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङस्थलका रूपमा पनि छुट्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्