कृषिमन्त्रीको वर्ष दिनको उपलब्धि
कर्णालीमा तीन अर्बका खसी बोका बिक्री

सुर्खेत– कर्णाली प्रदेशमा तीन अर्ब २४ करोड रुपैयाँको खुसी बोका बिक्री भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले प्रगती विवरणमा राखेका छन् । एक वर्षे कार्यकाल पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर मन्त्री शर्माले ३२ उपलब्धि सार्वजनिक गरेका हुन् ।
कृषि र पशुपालन क्षेत्रमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले डोल्पामा चाैंरी विकास फर्म, दैलेखमा बाख्रा विकास फर्म, सल्यानमा सुन्तला जात बाली विकास, सुर्खेतमा प्रदेश रिफल भेटनरी अस्पताल, हुम्लाको बागबानी विकास केन्द्रलाई प्राङ्गारिक कृषि प्रविधि विकास तथा प्रवद्र्धन केन्द्र, सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरी कर्णालीको कृषि तथा पशुपालन क्षेत्रमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताइएको छ ।
किसानलाई कृषि र पशुपालनमा आकर्षण बढाउन उत्पादन पकेट क्षेत्र निर्धारण गरी प्रदेश सरकारले नीति अवलम्बन गरेको बताउँदै मन्त्री शर्माले प्रदेशभर ७८८ वटा साना सिँचाइ योजना निर्माणबाट एक हजार ५० हेक्टर क्षेत्रफल सिँचाइ सुधार तथा ११५ हेक्टर सिँचाइ सुविधा थप भएको उल्लेख गरे । उनले साना सिँचाइ योजना मर्मतबाट १५ हजार २२० जनालाई दुई महिना बराबरको अस्थायी रोजगारी सिजनाबाट १८ हजार ४५६ घरधुरी लाभान्वित भएको बताए ।
आर्थिक वर्ष २०७९/०८० मा बाढी पहिरोबाट प्रभावित सिँचाइ संरचाना निर्माण गर्न ६ करोड १३ लाख रकम विनियोजित गरी २१३ सिँचाइ संरचना निर्माणबाट किसानको धान रोपाइँ सहज भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ मा किसानलाई सिँचाइ सुविधा दिइ ५०५ नयाँ सिँचाइ योजना सम्झौता गरी निर्माण कार्य सुरु भएको बताइएको छ ।
हिउँदे फलफूल क्षेत्र विकासका लागि ४९ हजार ८ सय स्याउ, २६ हजार ४३६ ओखर, ८ हजार ९ सय किवीफल, ६ सय ड्रागन फल गरी जम्मा ८५ हजार ७३६ बिरुवा वितरण गरी २१५ हेक्टर क्षेत्रफलमा फलफूल खेती बिस्तार भएकोसमेत मन्त्री शर्माको एक वर्षे उपलब्धीमा उल्लेख छ । ३ हजार ५ सय घरधुरी प्रत्यक्ष लाभान्वित भइ २५० जनाले १५ दिन बराबरको रोजगारी र ३ सय जना स्वरोजगार भएका छन् ।
लक्षित वर्ग विशेष कार्यक्रमबाट ४ हजार ८३५ घरधुरी लाभान्वित हुँदा ९४७ जना स्वरोजगार भएको र ४ हजार ९६ जनालाई ४ महिना बराबरको रोजगारी सिर्जना भएको बताउँदै मन्त्री शर्माले दुग्ध प्रवद्र्धन कार्यक्रममार्फत पहाडी जिल्लामा प्रतिलिटर ५ र हिमाली जिल्लामा १० रुपैयाँका दरले एक करोड २७ लाख ४८ हजार प्रोत्साहनबाट २३ लाख ९२ हजार ९८८ लिटर दूध संगठित बजारमा पुगेको जानकारी दिए । प्रदेश सरकारले पशु खोपतर्फ १५ लाख ७३ हजार ४६७ पशुपन्छीलाई प्रमुख संक्रामक रोगविरुद्ध खोप लगाइएको छ ।