लुम्बिनी बिजनेस समिटमा रिलायन्स फाइनान्सको साझेदारी

काठमाडौं– लुम्बिनी बिजनेस समिट २०८० मा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ । व्यावसायिक कृषि, वन पैदावर, जडिबुटी, पर्यटन, साना, मझौला, स्टार्टअप र नवप्रर्वतनलगायतका व्यवसायको विकास गर्दैै प्रदेशस्तरमा लगानीको अवसर र यसको प्रवद्र्धनका लागि पहिलो पटक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
साझेदारी सम्बन्धी समझदारी पत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र आयोजक संस्थाका तर्फबाट नेपाल बिजनेस इन्स्टिच्युट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरतासहितको आर्थिक विकास नै समृद्धिको मूल आधार भएकाले उद्यमशीलता र व्यावसायिक प्रवद्र्धनका लागि बिजनेस समिटमा वित्तीय संस्थाहरुको साझेदारी अनिवार्य रहने बताए ।
सम्मेलनले उद्यमी र वित्तीय संस्थाबीचको सम्बन्ध घनिष्ट भएर जाने उनको भनाइ छ । नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष गैरेले संघीय स्तरमा मात्र भइरहने यसखाले सम्मेलन प्रदेशस्तरमा आयोजना गर्दा स्थानीयस्तरमा उद्यमी तथा उद्यमशीलताको विकास, प्रवद्र्धन एवं बिस्तार, उत्पादन, उत्पादकत्व एवं रोजगारीको अभिबृद्धि तथा लगानीका क्षेत्रको पहिचान एवं लगानी बिस्तारमा सहजिकरण गर्ने बताए ।
चैत्रको दोस्रो हप्ता लुम्बिनी प्रदेशमा आयोजना हुने सम्मेलनमा प्रदेशभित्रका उद्यमी, वैदेशिक रोजगारीबाट फर्केका युवा उद्यमी, स्थानीय सरकार र प्रदेश सरकारका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायत ४०० जना प्रतिनिधिको सहभागीता रहने आयोजकको भनाइ छ ।