पुँजीगत खर्च १५ प्रतिशतभन्दा कम
गोरखा– गोरखाका सरकारी कार्यालयहरूले चालु आर्थिक वर्षको ६ महिनामा १५ प्रतिशतभन्दा कम पुँजीगत खर्च गरेका छन् । जिल्लाका संघ र प्रदेशअन्तर्गतका कार्यालयहरूको चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको पुँजीगत खर्च १५ प्रतिशतभन्दा कम रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले जनाएको हो ।
संघीय सरकारअन्तर्गतका कार्यालयको पुँजीगत खर्च १३.६० र प्रदेशका कार्यालयहरूको खर्च १४.३७ प्रतिशत रहेको प्रमुख कोष नियन्त्रक महेन्द्रप्रसाद भण्डारीले बताए । संघतर्फ चालु खर्च ४९.५६ प्रतिशत र प्रदेशतर्फ चालु खर्च २६.८५ प्रतिशत रहेको उनको भनाइ छ । संघीय सरकारअन्तर्गतका कार्यालयका लागि पुँजीगततर्फ २ अर्ब २९ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा ३१ करोड २६ लाख रुपैयाँ खर्च भएको भण्डारीले बताए ।
यस्तै प्रदेशअन्तर्गतका कार्यालयका लागि पुँजीगततर्फ २ अर्ब २३ करोड ९३ लाख रुपैयाँ विनियोजन भएकोमा ३२ करोड १८ लाख खर्च भएको छ । यो खर्च जिल्लाका ११ वटा स्थानीय तहको हो । संघअन्तर्गतका कार्यालयको समग्र खर्च ४१ प्रतिशत र प्रदेशअन्तर्गतका कार्यालयको कुल खर्च १७ प्रतिशत रहेको कोलेनिकाले जनाएको छ । जिल्लाका संघीय र प्रदेश सरकार मातहतका कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ३७ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गरेका छन् ।
संघीय सरकारअन्तर्गतका कार्यालयबाट २९ करोड १९ लाख र प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट ८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको भण्डारीले बताए । संघअन्तर्गतका कार्यालयको राजस्व आम्दानी गत वर्षको तुलनामा घटेको छ । गत आर्थिक वर्षको ६ महिनामा संघतर्फका कार्यालयको राजस्व आम्दानी ६५ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको सोही अवधिको राजस्व संकलन ३६ करोड २६ लाख रुपैयाँले कम रहेको भण्डारीले जानकारी दिए । प्रदेशतर्फको राजस्व आम्दानी भने गत वर्षको तुलनामा बढेको छ । गत आर्थिक वर्षको ६ महिनामा प्रदेश कार्यालयले ७ करोड ४० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा चालु आर्थिक वर्षको ६ महिनाको राजस्व संकलन १ करोड १० लाख रुपैयाँले बढी रहेको कोलेनिकाले जनाएको छ ।