सुनील र विकल अख्तियारको नियन्त्रणमा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले बुधबार दुवैलाई पक्राउ गरेको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनीहरु दुवैविरुद्ध भिन्दाभिन्दै भ्रष्टाचारका मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । टेलिकमका पौडेल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा मुछिएका छन् भने केन्द्रका पौडेल सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तानिएका छन् ।
अख्तियारले २०८० असोज १५ मा टेलिकमका पौडेलसहित व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यस्तै, २०८० वैशाखमा केन्द्रका पौडेलसहितका व्यक्तिविरुद्ध २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो । पौडेल एक्लैको ६९ करोड ८ लाख रुपैयाँ मागदाबीसहित अख्तियारले मुद्दा दायर गरेको थियो ।
मुद्दा दायरपछि दुवै पौडेल निलम्बनमा छन् । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, स्रोतसाधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंका गरी अख्तियारले उनीहरुलाई थप छानबिनका लागि नियन्त्रणमा लिएको हो ।
अहिले उनीहरु दुवैलाई अख्तियारको हिरासतमा राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित उनीहरुका निवासमा अख्तियारको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ । आयोगले दुवैलाई अहिले पक्राउ गर्नुका पछाडि केही कारण भएको खुलाएको छ । अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, सरकारी सेवामा रहेकै बेला अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा काम गरेको र सरकारी सेवामा रहेकै बेला अमेरिकाको ग्रीनकार्ड लिएको देखिएकाले प्रमाण नष्ट गर्न सक्ने र भाग्न सक्ने सम्भावनालाई हेरेर नियन्त्रणमा लिएको जनाइएको छ ।