कृषि विकासका लागि बजार व्यवस्थापन

सामान्य अर्थमा बजार भन्नाले त्यस्तो ठाउँ हो, जहाँ वस्तु वा सेवाहरूको खरिद तथा बिक्री हुने गर्छ । बजारको परिभाषाले त्यस्तो स्थान भन्ने जनाउँछ, जहाँ क्रेता र विक्रेताले एक–अर्कालाई भेटेर वस्तु वा सेवाको खरिद–बिक्री गर्छन् र स्वामित्वको हस्तान्तरण गर्छन् । बजारले वस्तु तथा सेवाको विनिमय गर्ने, वस्तु तथा सेवा संग्रह गर्ने, उपभोक्ताका लागि थरी–थरीका वस्तु सजिलै उपलब्ध गराउने, खाद्य पदार्थको गुणस्तरमा सुधार गर्ने र उत्पादनपछि हुने क्षतिमा न्यूनीकरण गर्नेजस्ता कार्यहरू गर्छ । व्यावसायिक कृषि उत्पादन वृद्धि गर्न कृषि बजारको अहम् भूमिका रहेको हुन्छ ।
कृषि बजार सञ्चालनका लागि कृषि बजारसित सम्बन्धित बजारका पूर्वाधारहरूको निर्माण हुनु पनि त्यत्तिकै आवश्यक हुन्छ । हाम्रो जस्तो देशमा सातौं पञ्चवर्षीय योजनासम्म कृषिक्षेत्रको उत्पादनमा मात्रै विशेष जोड दिइयो भने यसको बजार विकासको क्षेत्रलाई गौण रूपमा हेरियो, जसका कारण आज विभिन्न फलफूल तथा तरकारी पकेट क्षेत्रहरू जस्तै— मुस्ताङ, जुम्ला, डोल्पा आदि ठाउँका स्याउ उत्पादक कृषकहरू बजार पूर्वाधारको कमीले गर्दा आफूले लगाएका फलफूलका बिरुवा नष्ट गर्नसमेत पुगेका छन् । खाद्य तथा कृषि संगठनको परिभाषाअनुसार बजार सूचना प्रायशः सरकारी क्षेत्रबाट सञ्चालित सेवा हो । जसमा नियमित रूपमा मूल्यसम्बन्धी जानकारी र केही हदसम्म उल्लेख्य रूपमा ग्रामीण संकलन केन्द्र, थोक बजार तथा खुद्रा बजारहरूबाट कारोबार भएका वस्तुहरूको परिमाण नियमित रूपमा संकलन गर्ने तथा यी सूचनाहरूलाई विभिन्न सञ्चारमाध्यमद्वारा कृषक, व्यापारी, सरकारी निकाय, नीति निर्माता र अन्य क्षेत्रहरूलाई समयमै नियमित रूपमा पठाउने कार्यहरू समावेश हुन्छन् ।
विश्व मानचित्रमा ०.०३ प्रतिशत र एसियामा ०.३ प्रतिशत भू–भाग ओगेटेर दुई विशाल देश चीन र भारतको बीचमा रहेको नेपाल मूलतः कृषिप्रधान देश हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा कृषिक्षेत्रले ओगटेको छ भने यो पेसा समग्र नेपाली जीवन प्रकृतिकै एउटा अभिन्न पाटो हो भन्दा अत्युक्ति नहोला । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६५.७ प्रतिशत नेपाली कृषिमा आश्रित छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रले करिब ३५ प्रतिशत योगदान पुर्याएको अनुमान छ, जसमा राष्ट्रिय आय तथा रोजगारीमा कृषि क्षेत्रले उल्लेखनीय स्थान ओगटेको छ ।
बढ्दो जनसंख्याको भरणपोषणलगायत जीविकोपार्जन र आयआर्जनमा यसको ठूलो हिस्सा रहेको छ । यसबाट के कुराको अवगत हुन्छ भने कृषि नै अर्थतन्त्रको मेरुदण्ड हो । राष्ट्रमा दिनप्रतिदिन बढ्दो रूपमा जनसंख्या वृद्धि, खेतीयोग्य भूमिको सीमितता, खेतीपाती गर्ने पुरानै प्रचलन, प्राकृतिक स्रोतहरूको जथाभावी प्रयोग एवं अज्ञानता आदि कारणले गर्दा कृषि उत्पादनमा क्रमिक रूपमा ह्रास आउँदै गएको छ । केही दशकअघि खाद्यान्न निर्यात गर्ने देश आज आएर खाद्यान्न आयात गर्नुपर्ने स्थिति आएको छ । यसले गर्दा हाल देशमा खाद्य संकटको स्थिति एकातिर गुज्रिरहेको छ भने अर्कातिर उत्पादित फसलहरूले बजार नपाएको अवस्था पनि त्यत्तिकै छ । यसप्रति सम्बन्धित निकायले समयमा नै ध्यान नदिने हो भने भविष्यमा गएर विकराल स्थिति नआउला भन्न सकिन्न ।
कृषि बजार प्रणालीमा समयानुकूल परिवर्तन गर्नका लागि उपर्युक्त विषय र समस्याहरूलाई उचित प्रकारले सम्बोधन र समाधान गरिनुपर्छ । बजार प्रणालीमा गरिने यस प्रकारको सुधारले उपभोक्ताको हितका साथै उचित मूल्यमा वस्तुको निमित आपूर्तिलाई समेत सुनिश्चित गर्छ । यसबाट व्यावसायिक कृषि उत्पादनमा संलग्न किसानहरूले आफ्नै उत्पादनको उचित मूल्य पाउनुका साथै बजारको सुनिश्चितताले गर्दा उत्पादन वृद्धिमा समेत निरन्तरता रहने गर्छ । यसर्थ कृषि बजार सेवाले व्यवस्थित बजार क्रियाकलाप एवं सेवाहरूलाई जनाउँछ । यसका साथसाथै बजार सेवाभित्र कुनै वस्तु वा उपजको उत्पादनस्थलदेखि उपभोक्तासम्म पुग्ने क्रियाकलापका साथै बजारका लागि आवश्यक सूचना उपलब्ध गराउने कार्यहरूसमेत पर्छन् । यसैगरी व्यावसायिक कृषि उत्पादनका साथसाथै कृषि उपज बजार पूर्वाधार निर्माणसम्बन्धी माग पनि दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ ।
तर, बजार पूर्वाधारका लागि नेपाल सरकारबाट स्वीकृत मापदण्डबिनाका बजारहरू अव्यवस्थित रूपले सञ्चालन भएका पाइन्छन् । यस्ता बजारहरू दीर्घकालसम्म सञ्चालनमा समेत आउन सकेका छैनन् । यसर्थ, व्यवस्थित रूपमा सञ्चालन भएका कृषि बजारहरूले किसान तथा उपभोक्ताहरूलाई दीर्घकालसम्म सेवा पुर्याएको पाइन्छ र यस्ता बजारहरूले आ–आफ्नो ठाउँमा निरन्तरतासमेत पाएको पाइन्छ । व्यवस्थित बजारमा उत्पादन योजना, बाली लिनु, केलाउनु वा सफा गर्नु, किसान थलोबाट ढुवानी गर्ने वा भण्डारण गर्ने, उपज ग्रेडिङ गर्ने, प्याकेजिङ साधनको खोजी, प्राप्ति र प्याकिङ, ओसारपसार र ढुवानी, भण्डारण, प्रशोधन तथा क्रेतासँग सम्पर्क, बजारको खोजी, बिक्री–वितरण, उत्पादनस्थल र बजारबीच दोहोरो पारदर्शी बजार सूचना आदान–प्रदान गर्ने आदि कार्यहरू गर्छ ।
समग्रमा भन्नुपर्दा विश्व बजारमा सन् १९६५ पछि अमेरिकालगायत युरोपियन देशहरूमा खडेरी, बाढी, भूकम्प, कोरोना, पहिरो, भूक्षय, मौसम परिवर्तन आदि कारणहरूले गर्दा खाद्यान्नको उत्पादनमा कमी आई मूल्य वृद्धि हुने कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूले औंल्याएका छन् । त्यसैगरी हाम्रो देशमा पनि नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार गत वर्षको दाँजोमा यस वर्ष २ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको आँकडा प्रस्तुत गरेको छ । यस वर्ष पनि समयमा मल तथा बीउबिजन उपलब्ध नभएको र कृषकहरूले धान रोप्ने बेलामा वर्षा नभएका कारण धान र मकैजस्ता प्रमुख खाद्यान्न बालीहरूको उत्पादन घटेकाले आर्थिक वृद्धिदर पनि कम हुने कुरा सम्बन्धित क्षेत्रका अधिकारीहरूले बताएका छन् ।
यसर्थ, कुनै पनि देशका किसानहरूले बजार सूचनाका आधारमा नै आफ्नो उपजको बढी मूल्य पाउन सक्छन् । यस्ता बजार सूचनाहरू कृषि प्रसार कार्यकर्ता, गैरसरकारी संस्था, योजना अधिकृतलगायतका व्यक्तिहरूले किसानहरूलाई उपलब्ध गराई सघाउ पुर्याउन सक्छन् । यस्ता सूचना पाएर कृषकहरूले थोक बजारमा लगेर बिक्री गर्दा उचित फाइदा लिन सकिन्छ भन्ने विषयमा सोच्न सक्छन् । अतः किसानहरूको व्यापारीसँग मोलमोलाइ गर्ने क्षमता यस्ता बजार सूचनामा भर पर्छ । विशेषतः थोकबजार, हाटबजार, संकलन केन्द्रमा धेरै व्यापारी जम्मा भए भने मोलमोलाइ धेरै गर्न सकिने सम्भावना रहन्छ । यसका साथसाथै स्थानीय संकलन केन्द्र वा हाटबजारमा किनिएका कृषि उपजहरूको मूल्य उपभोक्तासँग धेरै तह पार गरेर आउनुपर्दा बढी हुने गर्छ । यसमा किसानहरूले आफूले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच जेजति फरक छ त्यसबारे पनि जानकारी लिएर उचित निर्णय लिन सक्छन् ।
मूलतः बजार सूचना दिने बजार प्रसार कार्यकर्ता-संस्था-व्यक्तिले किसानहरूलाई कुरा बुझाउन सक्नुपर्छ । यदि टाढाको बजारमा मूल्य १५ रुपैयाँ छ र स्थानीय संकलन केन्द्रमा किसानले १० रुपैयाँ पाउँछ भने त्यसबीचको मूल्य अन्तरलाई केलाएर ठीक–बेठीक छुट्ट्याउनुपर्छ । यसर्थ कृषि बजार योजना तयार गरी उत्पादन गरेमा निश्चय पनि आफ्नो उत्पादनबाट चाहेजस्तो फाइदा लिन सकिन्छ । आज विकसित देशहरूले कम लगानी तथा कम श्रम गरेर कृषि क्षेत्रबाट अधिकभन्दा अधिक फाइदा लिएको हामी पाउँछौं । जबकि हाम्रो जस्तो अविकसित मुलुकहरूले बढी लगानी र बढी श्रम खर्च गरेर पनि नगन्य रूपमा नाफा लिएको हुन्छ । किसानले उत्पादन गरेको फसललाई बजार व्यवस्थापन आवश्यक पर्छ ।
सम्बन्धित क्षेत्रले बेलैमा यस कुरामा ध्यान पुर्याएको खण्डमा यो कार्य सफल हुन सक्छ । यस कार्यबाट कृषिको चौतर्फी विकास हुन सक्ने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । यथार्थमा भन्ने हो भने कृषि विकासका लागि सरकारी बजेटमा पनि वृद्धि आवश्यक छ । जबकि छिमेकी देशहरूमा कुल बजेटको १० प्रतिशतभन्दा बढी बजेट कृषि विकास कार्यका लागि छुट्ट्याइएको हुन्छ भने हाम्रो देशमा भर्खरै कुल बजेटको ३ प्रतिशतजति मात्र बजेट छुट्ट्याइएको छ । यसका साथसाथै दक्ष प्राविधिक, दक्ष योजनाकार, कृषि बजार योजना आदिको अभावले गर्दा नै कृषिको विकास हुन नसकेको हो भन्नुमा अत्युक्ति नहोला ।