Logo

वित्तीय संस्थाबाट अनुत्पादक क्षेत्रमा बढी लगानी हुँदा समस्या

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा र शेयर बजारजस्ता अनुत्पादक क्षेत्रमा बढी कर्जा विस्तार हुँदा त्यसले समस्या सृजना गरेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले विगतमा अनुत्पादक क्षेत्रमा ठूलो लगानी हुँदा समस्या देखिएको उल्लेख गर्दै अबका दिनमा उत्पादनमूलक र राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

“हिजोका दिनमा बैंकबाट भएको लगानी ठीक ठाउँमा गएन । शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो । त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका हुन् । ब्याजदर बढ्यो तर प्रतिफल छैन”, अर्थमन्त्रीले भने, “हाम्रा आवश्यकता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”

बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने अर्थमन्त्री महतले बताए । पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनले बताए । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने उनले उल्लेख गरे । सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैंकले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।

यस्तै ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको अर्थमन्त्रीले बताए । गत आर्थिक वर्षमा बैंकको नाफाबाट सरकारले पाँच दशमलव पाँच प्रतिशत लाभांश लिएको उल्लेख गर्दै उनले बढी सेवा सुविधा पाउनुपर्ने कर्मचारीको माग अनुचित हो भने । पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको पनि उनले बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा राष्ट्रिय वाणिज्य बैंकको महत्वपूर्ण भूमिका रहेको बताए । विगतमा कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा देखिएको र निकै खराब अवस्था व्यहोरिरहेको वाणिज्य बैंक अहिले निकै व्यावसायिक र प्रतिस्पर्धी बनेको गभर्नर अधिकारीले बताए । पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको बताउँदै उनले भने, “अर्थतन्त्रमा निकै राम्रो अवस्था हुँदै गएको छ । बाह्य क्षेत्रमा सुधार छ । बैंक तथा वित्तीय संस्थामा पनि कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन् ।”

बैंक वित्तीय क्षेत्रको वित्तीय स्वास्थ्यमा समस्या आउन नदिन नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न किसिमका ‘प्रोभिजनिङ’ को व्यवस्था ल्याउँदा उनीहरुको नाफा केही घटेको देखिएपनि समग्रमा यसले सकारात्मक प्रभाव नै देखाएको उनले बताए । पछिल्लो समय मुलुकको समग्र आर्थिक स्थिति शिथिल हुँदा कर्जा असुलीमा केही समस्या देखिएको गभर्नर अधिकारीले बताए । बैंक वित्तीय संस्थालाई अप्ठेरोमा पर्न नदिन राष्ट्र बैंकले नीतिहरुमा सहजीकरण गरिरहेको उनले बताए ।

पूर्वगभर्नर डा तिलक रावलले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्य खराब देखिँदै गएको बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको व्यनवसायिकता र कार्यशैलीमा निकै सुधार भएको बताए । आगामी दिनमा प्राथमिकताका क्षेत्रमा लगानी गरेर थप प्रतिस्पर्धी बैंकका रुपमा वाणिज्य बैकलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आजबाट आफ्नो स्थापनाको ५८ वर्ष पूरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ । २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचनाअनुसार नेपाल सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ ।

बैंकको पुँजी कोष रु ५० अर्ब ७४ करोड रहेको छ । गत असार मसान्तसम्ममा बैंकको निश्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको रु तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजार भन्दा बढी ग्राहकलाई रु दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९/८० मा बैंकले रु तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको थियो । गतवर्ष बढी खुद मुनाफा आर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्