बेरोजगार युवा खच्चर व्यवसायमा
हुम्ला– सडक सञ्जाल नपुगेको स्थानमा दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न खच्चर व्यवसाय आम्दानीको स्रोत बन्दै गइरहेको छ । हुम्ला जिल्लामा हालसम्म सडक सञ्जालमा नजोडिएको कारण स्थानीय व्यवसायी र विद्यालय, स्वास्थ्य संस्था, निजी भवन निर्माणको लागि आवश्यक पर्ने सामान अहिलेसम्म पनि खच्चरबाट नै ढुवानी हुने गरेको छ ।
खच्चर व्यवसाय गाडी नपुग्दासम्म बेरोजगार युवाको लागि राम्रो आम्दानीको स्रोत बन्ने देखिएको छ । रुकुम पूर्वको तकसेरा मैकोट– ६ का विशालरोका मगर २३ वर्षका भए । पढ्ने–लेख्ने उमेरमा खच्चर व्यवसाय गर्दै आएका उनी व्यवसायकै सिलसिलामा रुकुमबाट हुम्ला पुगेका हुन् । खच्चर व्यवसायबाटै परिवारको खर्च जोहो गर्दै आएको ६/७ वर्ष भइसकेको उनले बताए ।
रुकुममा गाडी चल्न थालेपछि खच्चर विस्थापित भएकाले उनी हुम्ला आएका हुन् । पढ्ने–लेख्ने मन हुँदाहुँदै घरपरिवार ठूलो भएकाले खर्च जुटाउन उनी केही वर्ष भारत पनि बसे । अहिले खच्चर व्यवसायबाट उनले मासिक ५० देखि ६० हजारसम्म कमाइ गर्दै आएको बताए । मुगु जिल्लाको खत्याड गाउँपालिका– ९ नखजीका रमेश कार्कीले पनि खच्चर व्यवसाय अँगालेको ६ वर्ष भएको छ ।
‘१५ वर्षको उमेरमा रोजगारीका लागि भारत गएँ । गिटी, बालुवा बोकेर सात–आठ हजार कमाएर घरपरिवारको खर्चको जोहो गर्थ्ये,’ उनले भने, ‘अहिले आफ्नै ६ वटा खच्चरबाट महिनामा ६० हजार रुपैयाँसम्म आम्दानी गर्छु । धेरै खच्चर हुनेहरूले बढी नै कमाउँछन् ।’ उनका अनुसार चार वटा खच्चर भएका व्यक्तिले मासिक न्यूनतम २० हजार र नौ वटा खच्चर भएकाले एक लाख ३० हजारसम्म कमाउँछन् । मुगु र बाजुरामा गाडी पुगेपछि उनी पनि हुम्लातिर आएका हुन् ।
चंखेली गाउँपालिकाको सल्लीसल्ला हुँदै सदरमुकाम सिमकोटसम्म दैनिक चार/पाँच सय खच्चर ओहोरदोहोर गर्दै आएका कार्कीले बताए । मुगु जिल्लाकै खत्याड गाउँपालिका– ९ ज्यामिरेका १८ वर्षका नवीन भण्डारी पनि अघिल्लो वर्षको एसइईको परीक्षापछि खच्चर व्यवसाय गर्दै आएका छन् । हुम्लाको दक्षिणी सर्केगाड गाउँपालिकाको सल्लीसल्लादेखि सदरमुकाम सिमकोटसम्म प्रतिकेजी ४०/४५ रुपैयाँमा खच्चरबाट सामान ढुवानी गर्दै आएको भण्डारीले बताए ।
‘महिनामा सात–आठपटक आवतजावत गर्नुपर्छ । कहिले खच्चर बिरामी हुन्छ, कहिले गोठाला बिरामी हुन्छन्,’ उनले भने,‘एकपटक तीन–चार क्विन्टलसम्म खच्चरबाट सामान ढुवानी गर्नुपर्छ । बाटो अफ्ठ्यारो छ ।’ सदरमुकाम सिमकोट मात्रै नभई हुम्ला जिल्लाका विकट गाउँ बस्तीसम्म खच्चरबाटै सामान ढुवानी हुँदै आएको छ ।