सूचना महामार्गमा २१ प्रतिशत प्रगति «
Logo

ब्रोडब्यान्डमा शतप्रतिशत खर्च

सूचना महामार्गमा २१ प्रतिशत प्रगति

काठमाडौं– दूरसञ्चार क्षेत्रको नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको दुई महत्वाकांक्षी परियोजनामध्ये ब्रोडब्यान्ड इन्टरनेट सेवातर्फको प्रगति सन्तोषजनक रहे पनि सूचना महामार्गको प्रगति निराशाजनक रहेको पाइएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजना तथा मध्यपहाडी लोकमार्ग एवं जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माणका ठूला परियोजना सञ्चालन गरिरहेको छ ।

प्राधिकरणका अनुसार ब्रोडब्यान्ड परियोजनाको कार्य अन्तिम चरणमा पुगे पनि सूचना महामार्ग परियोजनाको प्रगति भने २१ प्रतिशतको हाराहारीमा सीमित छ । ब्रोडब्यान्ड परियोजनाको कूल लागत ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ रहेकोमा हालसम्म ५ अर्ब ४३ करोड ७२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । तर, कूल ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँ लागत रहेको मध्यपहाडी लोकमार्ग जोड्ने सूचना महामार्गको वित्तीय प्रगति भने २१.१६ प्रतिशत अर्थात २ अर्ब ९ करोड ३८ लाख ६७ हजार ५६ रुपैयाँमा सीमित छ ।

प्राधिकरण प्रवक्ता सन्तोष पौड्यालका अनुसार सूचना महामार्ग परियोजनाको दोस्रो प्याकेजअन्तर्गत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशभित्र पर्ने मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम सुरु समेत हुन नसक्दा भौतिक र वित्तीय प्रगति न्यून देखिएको हो । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशभित्र युनाइटेड टेलिकमले २ वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, निर्धारित मितिमा सम्झौता बमोजिम कार्यको प्रगति शून्य रहेको भन्दै प्राधिकरणले सम्झौताको म्याद थप नगर्ने निर्णय गरेपछि कम्पनी अदालत गएको छ ।

प्राधिकरणको निर्णय बदर गर्नको लागि सर्वोच्च अदालतमा यूटीएलले दायर गरेको रिट निवेदनमा अदालतले अन्तिम टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै परियोजना अलपत्र अवस्थामा छ । अदालतबाट फैसला नहुँदा परियोजनाको काम अघि बढाउन नसकेको उनी बताउँछन् । प्राधिकरणका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा समेत ढिलोगरी काम सुरु हुँदा समग्र परियोजनाको प्रगतिमा प्रभाव परेको छ ।

अघिल्लो सम्झौता तोडेर प्राधिकरणले नेपाल टेलिकमलाई २ वर्षभित्र कार्य सम्पन्न गर्ने गरी जिम्मा दिएको थियो । हालसम्म ३ सय ८ कि.मी. फाइबर जडान कार्य सम्पन्न भएको छ । यद्यपि, कोशी, मधेश र बागमती प्रदेशमा भने परियोजनाको भौतिक प्रगति ८१.२८ प्रतिशत रहेको छ । यी प्रदेशमा १ हजार ३ सय ८५ किलोमिटर अप्टिकल फाइबर बिच्छयाउने काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनालाई भने प्राधिकरणले १८ वटा प्याकेजमा विभाजन गरेको छ ।

जसमा कूल ७४ जिल्लाका ७ सय ८ स्थानीय तहका कार्यालयहरू, ५ हजार ९ सय ३३ वडा कार्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको छ । यस्तै, ५ हजार ३१८ सामुदायिक माध्यमिक विद्यालय र ४ हजार २४९ सामुदायिक स्वास्थ्य संस्था तथा अस्पतालमा पनि ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको जनाइएको छ । यसरी कूल १६ हजार २ सय ८ स्थानहरूमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्