Logo

भैरहवा भन्सारको राजस्व संकलन ३०.६२ प्रतिशत मात्र

भैरहवा– भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ३०.६२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सार विभागले साउनदेखि पुससम्म ६ महिनाको लागि ६३ अर्ब १० करोड २७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर भैरहवाले ३९ अर्ब १४ करोड १२ लाख रुपैयाँ मात्रै संकलन गरेको प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए । ‘विभागले दिएको लक्ष्य पुरा गर्न नसकेको हो, तर गत वर्ष ०७९/८० को ६ महिनाको तुलनामा राजस्व संकलन बढेको छ ।

अघिल्लो वर्ष यही अवधिमा लक्ष्यको ४८ प्रतिशत असुली भएकोमा अहिले ६२ प्रतिशत पुगेको छ,’ प्रमुख भन्सार अधिकृत गौतमले भने । गौतमका अनुसार बढी राजस्व दिने सामानहरूको आयात घटनु, इन्धनबाट चल्ने ४ पांग्रे सवारी साधनको तुलनामा विद्युतीय सवारी साधन बढी भित्रिनु र विश्वव्यापी आर्थिक मन्दीका कारण अन्य सामानहरू पनि कम आयात हुँदा राजस्व संकलन प्रभावित भएको हो ।

‘सबैभन्दा बढी राजस्व प्राप्त सवारी साधनबाट हुने गथ्र्यो । सवारी साधनमा पनि चार पांग्रे कार, जिप, भ्यानले बढी राजस्व दिन्थे । अहिले ती चार पांग्रे सवारी साधन मात्र नभई मोटरसाइकलको आयात समेत खस्केको छ । विद्युतीय सवारी साधन अधिक भित्रेको छ । विद्युतीय सवारी साधनमा भन्सार दर न्यून छ । यसैले पनि भन्सार राजस्व कम भएको हो’, गौतमले भने ।

कार्यालयको तथ्यांक अनुसार गत ६ महिनामा एक हजार तीन सय ६३ वटा इन्धनले चल्ने जिप कार भ्यान आयात हुँदा विद्युतीय जिप कार भ्यान १६ सय ५६ वटा भित्रिएका छन् । एक हजार तीन सय ६३ वटा इन्धनले चल्ने जिप कार भ्यानबाट ३ अर्व ८८ करोड २३ लाख राजस्व संकलन हुँदा एक हजार ६ सय ५६ वटा विद्युतीय जिपकार भ्यानबाट एक अर्ब १८ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी मोटरसाइकल, पेट्रोल, टायल, मार्बल, एम एस ब्लेटलगायत धेरै सामानहरूको आयात गत वर्षको तुलनामा घटेको कारण राजस्व प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ ।

गत वर्षको तुलनामा चालु वर्षको ६ महिनामा आयात बढी भएका मुख्य वस्तुमा हाईस्पिड डिजेल र एलपि ग्यास छन् । यो नाका हुँदै गत ६ महिनामा २९ हजार २८ किलो लिटर हाईस्पिड डिजेल आयात भएको थियो । गत वर्षको सोही अवधिमा १८ हजार ५ सय १२ किलो लिटर आयात भएको थियो । त्यसैगरी गत वर्षको ६ महिनामा ३६ हजार १ सय ८८ मेट्रिक टन एलपि ग्यास आयात भएकोमा यो वर्षको अहिलेसम्म ४३ हजार ६ सय मेट्रिक टन आयात भएको छ ।

‘हामीहरू विभागले दिएको लक्ष्य पुरा गर्न कटिवद्ध छौं, खुला सीमा नाकाका कारण हुने अवैध व्यापार नियन्त्रणदेखि भन्सार प्रशासनलाई चुस्त बनाउन लागि परेका छौं, आम सर्वसाधारणले बजारबाट खरिद गरी ल्याउने सामानमा पनि नियम पूर्वक भन्सार महशुल तिर्नु पर्ने गराएका छौं’, प्रमुख भन्सार अधिकृत गौतमले भने,‘ ६ महिनामा मात्रै यात्रु शाखाबाट ९ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ । पुसमा मात्रै २ करोड ८ लाख संकलन भएको छ । यात्रु शाखाबाट संकलित राजस्व हालसम्मकै सर्वाधिक हो ।’

प्रतिक्रिया दिनुहोस्