Logo

नेपाल आउने विदेशी कामदारमध्ये बढी चिनियाँ

काठमाडौं– गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको संख्या २४ प्रतिशतले बढेको छ । चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न १ हजार १४२ विदेशीलाई श्रमस्वीकृति प्रदान गरिएको छ । गत वर्षको साउनदेखि पुससम्म श्रमस्वीकृति लिनेको संख्या ९१८ थियो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले गत वर्षको तुलनामा श्रमस्वीकृति लिने गैरनेपालीको संख्या बढेको बताए । कोभिडपछि चालु आवमा ठूला परियोजना सञ्चालन हुन थालेपछि रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको उनको भनाइ छ । सबैभन्दा बढी श्रमस्वीकृति लिने चिनियाँ नागरिक छन् । चालु आवको पुससम्म ७७२ जना चिनियाँले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । यसैगरी बेलायत र अमेरिकाबाट ४५–४५, कोरियाबाट ३३, जापानबाट २९ र अन्य देशबाट २१८ जनाले श्रमस्वीकृति लिएको तथ्यांक छ ।

नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी राख्न पाउने व्यवस्थाअनुसार विदेशीलाई नेपालमा काम गर्न अनुमति प्रदान गरिएको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या केही बढेको छ । कोरोना महामारीका कारण लामो समय परियोजना बन्द हुँदा रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या घटेको थियो । परियोजनाहरु सुचारु हुन थालेपछि काम गर्न आउने विदेशीको संख्या पनि बढेको हो ।

विभागका निर्देशक गोपले आर्थिक वर्षको शुरुमा श्रमस्वीकृति लिने विदेशी घटेको देखिए पनि अब क्रमशः बढ्ने बताए । विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रमस्वीकृति लिने विदेशीको संख्या बढ्दो दरमा रहेको देखिन्छ । गत आवको पुससम्म नवीकरण र नयाँ गरी १ हजार १४६ विदेशीले श्रमस्वीकृति लिएका थिए । चालु आवको सोही अवधिमा नयाँ श्रमस्वीकृति र नवीकरण गर्नेको संख्या सामान्य बढेर १ हजार १४२ पुगेको छ ।

विदेशी नागरिकहरुको श्रम इजाजत व्यवस्था सम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ । यसबाहेक नेपाल सरकारका विभिन्न निकायहरुसँग भएका सम्झौता बमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदार पनि यहाँ आउने गरेको पाइन्छ । यसरी दक्ष नेपाली श्रमिकले स्वदेशमा रोजगारी नपाउने र विदेशी अर्धदक्ष श्रमिक आउँदा अर्बां रुपैयाँ विदेश जाने गरेको छ ।

विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिक कटौती गरी विदेशी श्रमिक यथावत् राख्ने गरेको पाइए पनि त्यसको अनुगमन हुन सकेको छैन । नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष र सीपयुक्त विदेशी जनशक्तिलाई मात्र श्रमस्वीकृति दिनुपर्ने विज्ञहरुको सुझाव छ । नेपालमा काम गर्ने विदेशीको श्रमस्वीकृति अधिकतम ६ वर्षसम्म नवीकरण हुने व्यवस्था छ । यसैगरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सीप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम पनि छ । नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशतमात्र विदेशी कामदार राख्न सक्ने प्रावधान श्रम ऐनमा छ ।

नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् । रसुवागढी, त्रिशूली, मध्य भोटेकोसी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिक कामदार विदेशीले श्रमस्वीकृति लिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्