Logo

आर्थिक मन्दीको असर इन्धन व्यापारमा

बिर्तामोड– देशमा भइरहेको आर्थिक मन्दीको असर पेट्रोलियम व्यवसायमा पनि परेको व्यवसायीहरुले बताएका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङका पेट्रोलियम व्यवसायीहरु संगठित रहेको मेची पेट्रोलियम डिलर्स एशोसिएशनको १६औं वार्षिक साधारणसभामा सहभागी पेट्रोलियम व्यवसायीहरुले यस्तो बताएका हुन् ।

नेपाल पेट्रोलियम व्यवसायी एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले आर्थिक मन्दीको असर पेट्रोलियम व्यवसायमा परेको बताए । चौतर्फी मन्दी भएका कारण वर्तमान अवस्थामा पेट्रोलियम व्यवसायीहरुले धैर्यधारण गर्नुको विकल्प नरहेको उल्लेख गर्दै प्रधानले सरकारले पेट्रोलियम व्यवसायीको हितका लागि ठोस योजना ल्याउनुपर्नेमा जोड दिए । गुणस्तरीय पेट्रोलियम पदार्थ सर्वसुलभ मूल्यमा उपलब्ध गराउन आफूहरु क्रियाशील रहेको उनको भनाइ छ ।

नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत, निर्देशक पूर्ण रिजाल, नेपाल आयल निगम चारआलीका प्रमुख शरण भट्टराई, पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका अध्यक्ष महेन्द्र अग्रवाल, व्यवसायी प्रेमप्रसाद दाहाललगायतले वर्तमान अवस्थामा पेट्रोलियम व्यवसाय अत्यन्त अफ्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए ।

मुलुकको अर्थतन्त्र र अन्य उद्योग–व्यवसायमा आएको मन्दीको असर पेट्रोलियम व्यवसायमा पनि परिरहेको बताउँदै उनीहरुले सरकारलाई आफूहरुको समस्या सुनिदिन आग्रह गरे । निगमले मुलुकका विभिन्न स्थानमा ७९ हजार ९९० किलोलिटर क्षमताका भण्डारण ट्यांकरमा आयातित इन्धन भण्डारण गरी बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्