Logo

जाजरकोटमा २२ प्रतिशत सुन्तला उत्पादन वृद्धि

किसानले कमाए २७ करोड

सुर्खेत– सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा यस आर्थिक वर्षमा सुन्तला उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/०८० को भन्दा यस आर्थिक वर्ष २०८०/०८१ मा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जाजरकोटले जनाएको छ ।

६२५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको परियोजना इकाइ कार्यालयका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए । अघिल्ले वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा अहिले प्रतिहेक्टर १३.१ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाभर यो आर्थिक वर्षमा आठ हजार १२० मेट्रिक टन सुन्तला उत्पादन भई झण्डै ३२ करोड ४८ लाख बराबरको सुन्तला रहेको उनले बताए । त्यसमध्ये झण्डै २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्यांक रहेको उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा १५ हेक्टर क्षेत्रफलसमेत बढेको परियोजना इकाइ कार्यालयले जनाएको छ ।

तीन हजार दुई सय मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यात भएको इकाइले जनाएको छ । सुन्तला प्रतिकेजी ८० मा बिक्री हुने गरेको छ । सुन्तला जोन चार पालिकामा लागू भएको थियो । कुशे, भेरी, नलगाड नगरपालिकामा सुन्तला जोन लागू भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा लागू भएको यस कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । २१ समूह, ११ सहकारी, १३१ निजी क्षेत्र इकाइ कार्यालयमा सूचिकृत भएर काम गरिरहेका छन् ।

वर्षेनी सुन्तलाखेती हुने जमिनको मात्रा बढदै जाँदा सुन्तला उत्पादनमा वृद्धि हुन पुगेको छ । कृषकको खेतबारीमा गएर प्राविद्यिकद्वारा विभिन्न तालिम र छलफलले किसानलाई थप बल पुगेको कृषक शक्तिबहादुर ओलीले बताए । परियोजनाद्वारा ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिँदा पनि किसानलाई थप फाइदा भएको छ ।

अगुवा कृषक नलगाड नगरपालिका–३ का कमल पुनले भने, ‘गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँ सुन्तलामय भएको छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले कृषकलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ ।

किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरी आर्थिक रूपमा सक्षम बनाउ जाजरकोटमा ६ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेशविक्रम शाहले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना परियोजना कार्यान्वन इकाइ कार्यालय जाजरकोटको आर्थिक सहयोगमा निर्माण भएका सेलार स्टोरमा सुन्तला जम्म गरी सुरक्षित राखेमा गर्मीयाममा राम्रो आम्दानी गर्न सकिने उनले बताए ।

सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ सेलार स्थापना गरिएको परियोजनाका प्रमुख पोखरेलले जानकारी दिए । कुशे गाउँपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकामा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा बढी सुन्तला उत्पादन हुने गर्दछ । सिजनमा सस्तोमा बिक्री वितरण तथा कुहिएर खेर जाने समस्या हल गर्नका लागि यो काम थालिएको पोखरेलले जानकारी दिए ।

प्रतिसेलार १५ लाख ८५ हजारमा निर्माण गरिएका सेलारलाई परियोजनाले १० लाख ३३ हजार रुपैयाँ र कृषकले पाँच लाख ६१ हजार रुपैयाँ बेहोरेर सेलार स्टोर निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्