अर्थतन्त्र विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा काम गर्छौं

नेपाल एसबिआई बैंकमार्फत करिब १२ वर्ष लामो बैंकिङ करिअरमा रहेर काम गरेका चार्टर्ड एकाउन्टेन्ट लेखनाथ पोखरेल यतिखेर मर्चेन्ट बैंकिङ क्षेत्रतर्फ अगाडि बढेका छन् । पोखरेलले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको करिब ५ महिनामात्रै भयो । यसबीचमा इन्भेस्टमेन्ट बैंकिङले गरिरहेको कामलाई विस्तार गर्नुपर्ने भन्दै उनले त्यसका लागि गृहकार्य गरिरहेका छन् । एसबिआई ग्रुपको पुँजीबजारमा काम गर्ने बहुराष्ट्रिय कम्पनी एसबिआई क्यापिटलको समूह कम्पनीको रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
एसबिआई बैंकभित्रै रहेर विभिन्न क्षेत्रमा काम गरेका पोखरेलले एसबिआई मर्चेन्ट बैंकिङको नेतृत्व गरिरहँदा अर्थतन्त्रलाई पुँजी जुटाउनका लागि हरसम्भव काम गर्ने योजना लिएको बताउँछन् । इन्भेस्टमेन्ट बैंकिङ नेपालमा एकदमै उदीयमान रहेको र यसको भविष्य एकदमै उज्ज्वल रहेको भन्दै उनी यस क्षेत्रमा आएको बताउँछन् । प्रस्तुत छ, अहिलेको मर्चेन्ट बैंकिङको अवस्था र चुनौती, कार्यक्रमलगायतका समसामयिक विषयमा एसबिआई मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत पोखरेलसँग कारोबारकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सार :
लामो समय बैंकमा रहेर कार्यसम्पादन गरिरहनुभएको तपाईं मर्चेन्ट बैंकिङ क्षेत्रतर्फ किन प्रवेश गर्नुभयो ?
मैले करिब १२ वर्ष बैंकिङ क्षेत्रमा बिताएँ । त्यसरी काम गर्दा मर्चेन्ट बैंकिङ अथवा इन्भेस्टमेन्ट बैंकिङ नेपालमा एकदमै उदीयमान रूपमा आएको भन्ने लाग्यो । यसको भविष्य एकदमै उज्ज्वल छ । नेपालमा इन्भेस्टमेन्ट बैंकिङलाई डोर्याउँदै जाँदा यसले थप राम्रो बनाउन सक्छ र यस क्षेत्रलाई थप उचाइ दिन सकिन्छ भन्ने सोचेर यस क्षेत्रमा प्रवेश गरेँ ।
मर्चेन्ट बैंकिङको अवधारणा र नेपालमा यसले गर्दै आएको कामबीच कस्तो तादात्म्यता पाउनुभयो ?
मर्चेन्ट बैंकिङको उदय पुँजीसम्बन्धी काम गर्ने सन्दर्भमा नै भएको हो । त्यो पछ्याउँदै गर्दा विकसित देशहरूको मर्चेन्ट बैंकिङको यो चरणले राम्रो उचाइ हासिल गरिसकेको छ । नेपालमा वाणिज्य बैंक र ऋणको बजारचाहिँ राम्रै अवस्थामा पुगेको छ । हामीले मर्चेन्ट बैंकिङ पुँजीबजारको बजार सुनिश्चितता गर्नेतर्फ लामै समय बिताएका छौँ ।
यसका स्टक होल्डर स्थापना गर्ने, जनता पुँजीबजारप्रतिको विश्वास बढाउने, चाहे हामीजस्ता संस्थाहरूको स्थापना, ब्रोकरलगायतको काम डिजिटलाइज गर्दै दोस्रो बजारका रूपमा लगानी गर्नका निम्ति आजका दिनमा राम्रो हुँदै गएको छ । स्टक डिलर, पोर्टफोलियो म्यानेजमेन्ट, म्युचुअल फण्डको व्यवस्थापनले बजारको सुनिश्चितता, आम जनताको सहभागिता बढाउन, पुँजीको विकास गर्न तथा उद्यमका लागि संस्थाहरूले पुँजी खोज्दै गर्दा अर्थतन्त्रलाई पुँजी जुटाउन समस्या नपरोस् भन्ने हिसाबले बजारको आकार बढाउन मर्चेन्ट बैंकिङको ठूलो योगदान छ । अब हामी बिस्तारै वाणिज्य बैंक र इन्भेस्टमेन्ट बैंकमध्ये छानेर अगाडि बढ्न मिल्ने गरी जानुपर्नेछ ।
मर्चेन्ट कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको आरोप आइरहेको पाइन्छ ? त्यस्तो देख्नुभयो ?
संख्याका हिसाबले ३०/३१ वटा मर्चेन्ट बैंकर छन् । बजारमा सहभागिताका हिसाबले करिब ६० लाखको हाराहारीमा डिम्याट खाता, कुनै कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी गर्दा पनि करिब २०/२५ लाख मानिसले आईपीओ भर्ने अहिलेको अवस्था एकदमै राम्रो हो । तर, यसको क्षेत्र बढाउनुपर्ने देखिन्छ ।
अहिले मर्चेन्ट बैंकरहरू सानो क्षेत्रमा बसिरहेको अवस्था छ । यसको दायरा बढाएर इन्भेस्टमेन्ट बैंकिङतर्फ जानुपर्ने आवश्यकता देखिन्छ । सानो क्षेत्रमा प्रतिस्पर्धा भइरहेको छ, अब यसलाई बढाउनुपर्ने देखिन्छ । केही कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको हुन सक्छ । विशेष गरी सेवाशुल्कबारे यस्ता गुनासा बढी देखिन्छन् । त्यसलाई चिर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।
इन्भेस्टमेन्ट बैंकिङको कुरा गर्नुभयो । सेयर बजारमा लगानी गरेर अर्थतन्त्रले पाउने फाइदाबारे विभिन्न तहमा चर्चा–परिचर्चा भइरहेको हुन्छ । सेयर बजारमा लगानी गरेर अर्थतन्त्रले कसरी लाभ लिन सक्छ ? सामान्य लगानीकर्ता वा लगानी गर्न चाहनेले बुझ्ने गरी बताइदिनुस् न ।
सुरु–सुरुमा मलाई पनि यो प्रश्न आइरहन्थ्यो । पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्रीलगायतले जुवाघर पनि भनिदिनुभएको थियो । तर, यसलाई गहन ढंगले बुझ्नुपर्ने आवश्यकता अझै छ । हामीले आस्बा बैंकहरूमार्फत दोस्रो बजारमा लगानी गर्ने संस्था बनाएर बजारमा विश्वास कायम गरिएको हो । बजार हिजोको आज बन्ने कुरा होइन । यसमा लामो समय बिताएपछि विभिन्न आरोह–अवरोह पार गर्दै बजारले विश्वास कमाएको हो ।
आजको दिनमा जलविद्युत क्षेत्रले करिब ७० प्रतिशत बैंकबाट फाइनान्सिङ पाएको छ । बाँकी ३० प्रतिशतमा प्रोमोटरले कति र जनताले कति लगानी गरेका छन्, हेरौँ । जुनसुकै जलविद्युतले पनि आईपीओ जारी गरेर पुँजी जुटाउँछु भन्दै गर्दा कसैले पनि अभाव झेल्नुपरेन । यस्तो जलविद्युत परियोजना निर्माण गर्न यो बजारले सहयोग गरेको हो । सबै संस्थाले धितोपत्रको दोस्रो बजारमा विश्वास देखाउन सक्दा यो सहज भएको हो ।
अहिले सेयर बजारमा सहभागिता बढ्दो छ । मर्चेन्ट बैंकरले सेयर बजारमा सहभागिता बढ्दै जाँदा साक्षरता कम गरेको हो कि जस्तो देखिन्छ । मर्चेन्ट बैंकरले के काम गरिरहेका छन् अहिले ?
यो एकदमै गम्भीर विषय हो । विगतमा सेयर बजार भनेको केही पढेका तथा सहरी क्षेत्रका मानिसले मात्रै बजार हो भन्ने बुझिएको थियो । तर, आजको दिनमा के गाउँ के सहर, सबै क्षेत्रका नागरिकको सहभागिता सेयर बजारमा देखिन्छ । यसका लागि मचेन्ट बैंकरमात्र नभएर सबै क्षेत्रले उत्तिकै महत्त्वका साथ काम गरिरहेका छन् ।
नागरिकको सहभागिताचाहिँ बढ्यो, तर साक्षरताको विषयमा केही कम काम भयो । अहिले भने वित्तीय साक्षरतामा सेयर साक्षरता पनि समेटिएको छ । यसलाई वित्तीय क्षेत्रमा काम गर्ने सबै संस्थाले मिलेर नै काम गर्दै आएको छ । राष्ट्र बैैंकले समेत यसलाई प्राथमिकताका साथ वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ । मर्चेन्ट बैंकरले पनि वित्तीय साक्षरतालाई अगाडि बढाइरहेका छन् ।
अर्थतन्त्रमा आएको सुस्तताले सबै क्षेत्रमा असर परेको छ । यसमा पनि मर्चेन्ट बैंकरलाई कस्तो असर परेको छ ?
मर्चेन्ट बैंकरलाई पक्कै पनि अर्थतन्त्रमा आएको सुस्तताको असर छ । पुँजीबजारमा जुन खालको उत्साह थियो, ब्याजदर बढिसकेपछि त्यो उत्साह हराएको थियो । सहजै निस्कन मिल्ने बजार सेयर बजार भएकाले धेरै निस्किए । कर्जाको पनि माग छैन । नयाँ व्यवसाय स्थापना हुन नसक्दा त्यसतर्फ पनि असर परेको देखिन्छ । अब भने बिस्तारै सेयर बजारमा पनि उत्साह देखिन थालेको छ ।
अहिले नेपाल एसबिआई मर्चेन्टको अवस्था कस्तो छ ?
सन् २०१६ मा स्थापना भएको नेपाल एसबिआई मर्चेन्ट अहिले नवौँ वर्षमा दौडिरहेको छ । यसले अहिले दिने सेवामा परिमार्जन गर्दै लगेको छ । अण्डरराइटिङ, पोर्टफोलियो म्यानेजमेन्ट, डिम्याट सेवा, सेयर टु रजिस्टार (आरटिएस), कर्पोरेट एड्भाइजरी सेवा दिइरहेको छ । गत वर्ष एसबिआई क्यापिटल मुम्बईसँग एड्भाइजरी सेवाका लागि सहमति भएर काम अगाडि बढिरहेको छ, जसमा अनुभव आदानप्रदान गर्दै मिलेर काम गर्ने सहमति भएको छ । हामीले अहिले एड्भाइजरीको सेवालाई अझ बढाउँदै लगेका छौँ ।
अहिले तथ्यांक हेर्दा हामीले करिब ६० हजारभन्दा बढी डिम्याट खाता प्रदान गरिसकेका छौँ भने ३० करोड रुपैयाँ हाराहारीको पोर्टफोलियो म्यानेज गरिसकेका छौँ । अहिले कम्पनीले म्युचुअल फण्ड निष्कासन गर्ने तयारी गरिरहेको छ । यही आर्थिक वर्षभित्रमा म्युचुअल फण्ड ल्याउँछौँ । एसबिआई क्यापिटलले अन्तर्राष्ट्रिय बजारमा करिब ४० दशकभन्दा बढी सँगालेको अनुभव नेपालमा एसबिआई मर्चेन्टले अगाडि बढाउने योजना बनाएका छौँ । केही यहाँ भएकै अभ्यासहरूलाई मिलाएर नयाँ स्किम ल्याउने र अन्तर्राष्ट्रिय अभ्याससहितको स्किम पनि ल्याउने सोचमा छौँ ।
एसबिआई क्यापिटलसँगको साझेदारीबाट नेपाली बजारले के पाउँछ ?
नेपालको जलविद्युत क्षेत्रमा १० हजार मेगावाटको बजारलाई १० वर्षमा भारतीय बजार सुनिश्चित भएको छ । त्यसका लागि पुँजीको स्रोत, पहुँच वृद्धि गर्ने काम गर्छ । औसतमा २५ करोड प्रतिमेगावाट हेर्ने हो भने १० हजार मेगावाटको २५ खर्ब १० वर्षमा पुँजी निर्माण आवश्यक हुन्छ । यसरी हेर्दा कम्तीमा पनि १५ खर्ब हामीलाई चाहिन्छ । यसका लागि पूर्वाधारको क्षेत्रमा पुँजी आवश्यक छ भने त्यसलाई नेपाली बैंकिङबाट प्राप्त नहुँदा भारतीय बैंकिङसम्मको पहुँच हामी पुर्याइदिन्छौँ भनेका छौँ ।
कुनै पनि परियोजनामा मल्टिनेसनल बैंकहरूको पनि कर्जा लिन मिल्ने राष्ट्र बैंकको गाइडलाइन छ । नेपालको जलविद्युतले त्यस्तो फण्ड इण्डियन बैंकहरूबाट चाहन्छ भने हामी त्यसका लागि पनि परामर्श गरिदिन्छाँै । यसका लागि हामीले एसबिआई क्यापिटलसँग सहकार्य गरेका हौँ । यसमा केही परियोजना परामर्शमा रहेका छन् । आशा छ, ती परियोजनालाई आवश्यक फण्ड इण्डियन बैंकबाट पूर्ति गर्न सक्नेछाँै । अहिले करिब दुई सय मेगावाट जलविद्युतको कामका लागि परामर्श गरिरहेका छाँै ।
एसबिआई मर्चेन्टले दिने सेवामा बढी आकर्षण केमा देखिएको छ ?
हामीले दिने सेवाहरूमध्ये इस्यु म्यानेजर तथा कर्पोरेट एड्भाइजरीमा बढी मात्रामा आकर्षण देखिएको छ । अझ पछिल्लो समय मर्जर तथा एक्विजिसनबारे परामर्शका लागि पनि बढी काम भइरहेको छ । मल्टिनेसनल बैंकको सहायक कम्पनी भएकाले नेपाली अर्थतन्त्रको विकासका लागि जलविद्युत क्षेत्रमा पुँजी जुटाउन परामर्श दिन सक्छौँ ।
एसबिआई मर्चेन्टलाई आगामी दिनमा कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ?
विगत आठ वर्षको अनुभव जे रह्यो, त्यसको गतिलाई अझ बढी तीव्रताका साथ लैजाने र पुँजीबजारमा नयाँ–नयाँ सेवा दिँदै जाने योजना छ । एसबिआई बैंकको अनुभव पनि नेपाली बजारमा भावी दिनमा पस्किने योजना छ । ग्राहकबेस बढाउने, इस्यु म्यानेजमेन्टको संख्या बढाउने तथा सफल रुपमा चलिरहेका व्यवसायलाई पुँजीबजारको माध्यमबाट अझ विस्तार गर्न सहयोग गर्ने गरी काम गर्छौं ।
म आइसकेपछि अझ जोडदारका साथ कर्पोरेट एड्भाइजरीलाई प्राथमिकताका साथ काम गर्दै छौँ । म्युचुअल फण्ड अगाडि बढाउने पनि योजना छँदै छ । अबको दिनमा बन्ड मार्केटलाई प्राथमिकताका साथ अगाडि बढाउनेतर्फ ध्यान दिन्छौँ । त्यसपछि प्राइभेट इक्विटी भेञ्चरका लागि पनि प्रक्रिया अगाडि बढाउँछौँ ।
मर्चेन्ट बैंकिङको चुनौती के देख्नुहुन्छ ?
अर्थतन्त्रमा मर्चेन्ट बैंकिङले खेल्न सक्ने अहम् भूमिका छ । बजार पनि यसतर्फ एकदमै तयार भएको देखिन्छ । सम्भावना पनि असाध्यै ठूलो भएको क्षेत्र हो यो । अब हातेमालो गरेर यसको दायरा विस्तार गर्दै आम्दानीमा हुने बचतको अंशलाई बढाउने र त्यसलाई पुँजीको रूपमा परिचालन गर्ने र प्रतिफल दिनेतर्फ लाग्नुपर्छ । यसले बचतको बानीको पनि विकास गर्नका लागि बजारको विस्तार गर्नु नै अहिलेको चुनौती हो ।