होमस्टेमा पर्यटकको चहलपहल
पर्वत- गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पर्वतका सात वटै पालिकाका न्यायिक समितिका पदाधिकारीको क्षमता अभिवृद्धि कार्यक्रम प्रसिद्ध पर्यटकीय गाउँ चित्रेमा सम्पन्न गर्यो । पर्वतका सातवटै पालिकाका ४० जना दुई दिनसम्म चित्रेको घरवासमा बसेर फर्किए । चित्रे गाउँ पर्वत, कास्की र स्याङ्जाको संगम स्थलमा अवस्थित पञ्चासे नजिकैको मोदी गाउँपालिका–८ मा अवस्थित छ ।
दुई साताअघि पर्वत उद्योग बाणिज्य संघले आफ्नो कार्यसमिति बैठक मोदी गाउँपालिका–१ भुकदेउरालीमा रहेको भुकदेउराली सामुदायिक होमस्टेमा सम्पन्न ग¥यो । सदरमुकामदेखि झण्डै २६ किलोमिटर टाढा रहेको भुकदेउराली होमस्टेमा दुई दिन बसेर उद्योगी व्यवसायी सदरमुकाम फर्किए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ पर्वत शाखाको नियमित बैठक जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीमा रहेको लामतुन ग्रामीण पर्यटन होमस्टेमा पुगेर सम्पन्न गरेको छ ।
नेपाल निजामती कर्मचारी संगठन पर्वतले दुई दिने जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम पनि मोदी–१ कै भुकदेउराली र लप्सीबोट सामुदायिक होमस्टेमा लगेर सम्पन्न गरेको छ । जसमा दुई सय भन्दा बढी सहभागी थिए । यसैगरी माओवादी केन्द्रले कार्यकर्ताका लागि स्कुलिङ कार्यक्रम जलजला गाउँपालिकाको पर्यटकीय गाउँ बनौमा लगेर सम्पन्न गर्यो ।
यी त केही संस्थाका उदाहरण मात्र हुन् । सदरमुकामको कोलाहलपूर्ण वातावरण भन्दा ग्रामीण क्षेत्रमा जान रुचाउनेको संख्या बढ्दै जान थालेपछि बजार क्षेत्रमा हुने कार्यक्रम होमस्टेमा केन्द्रीत गर्न थालिएको हो । यीबाहेक जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघ संस्थाले पनि ग्रामीण क्षेत्रका होमस्टेमा कार्यक्रम गर्न थालेका छन् ।
बजारमा कार्यक्रम गर्दा सहभागी एकत्रित नहुने, छिनछिनमै निस्किने, लामो समय कार्यक्रममा सहभागी नहुने जस्ता समस्या हुने भएपछि संघ संस्थाले आफ्ना महत्वपूर्ण तालिम, गोष्ठी, बैठक, भेला, प्रशिक्षण गाउँ केन्द्रीत गर्न थालेका छन् । गाउँमा गएपछि मनोरञ्जन पनि हुने, कार्यक्रममा पूर्ण सहभागिता पनि जनाउने भएकाले संघ संस्थाले कार्यक्रम गाउँ केन्द्रीत गर्न थालेको होमस्टे व्यवसायीको भनाइ छ ।
यस्ता कार्यक्रमले विगतका वर्ष भन्दा होमस्टेमा अझै बढी चहलपहल बढेको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडा अध्यक्ष टेकबहादुर गुरुङले बताए । जनजातीको बाहुल्यता रहेका पर्वतका होमस्टे सञ्चालित गाउँहरु सबैजसो मनमोहक रहेको छन् । बस्तीका सबै घरमा सुविधासम्पन्न सुत्ने कोठा, शौचालय, पानीको व्यवस्था रहेको छ ।
यस वर्षको हिउँदे सिजन लागेपछि झण्डै आधा दर्जन संघसंस्थाका कार्यक्रम भुकदेउराली र लप्सीबोट होमस्टेमा सञ्चालन भएको स्थानीय होमस्टे सञ्चालिका इन्द्रकुमारी गुरुङले बताइन् । भुकदेउरालीको फेदीबाट भवरकोट, जलजला र हम्पालका लेकमा ट्रेकिङसमेत जान सकिन्छ । घना जंगलका बीचमा रहेको बस्तीमा जंगली जनावरको अवलोकनदेखि सूर्योदयसँगै हिमाली दृश्यको अवलोकन गर्न सकिन्छ ।
यता ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा नेपालका विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सुशीलालादेवी गुरुङ बताउँछिन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । अहिले आन्तरिक पर्यटक आउने क्रम कोभिड भन्दा अघिकै यामजस्तै हुन थालेको उनले बताइन् । पोखरा र काठमाडौंबाट समेत विभिन्न समुहमा र कार्यक्रम गर्नका लागि आन्तरिक पर्यटक आउन थालेको अध्यक्ष गुरुङले बताइन् ।
चित्रेमा मात्रै वार्षिक तीन हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ । अहिले आन्तरिक मात्र नभएर बाह्य पर्यटक आउने क्रम पनि सुरु भएको छ’ गुरुङले भनिन्, ‘बिस्तारै पुरानै लयमा फर्किएको अनुभुति भएको छ ।’ चित्रेको होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० देखि ८० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको छ । धेरै घरमा सुधार गरिएको अध्यक्ष गुरुङले बताइन् ।
जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीमा रहेको लामतुन ग्रामीण पर्यटन होमस्टेमा समेत पर्यटकको उत्तिकै भिडभाड रहेको छ । गाउँमा चिटिक्क पारेर सजाइएका घरमा घरबास सञ्चालन, लोक संस्कृति र प्रकृति दुवै देख्न पाइने हुनाले आन्तरिक पर्यटक बढ्न थालेका हुन् । शान्त वातवरणमा गाउँको परिवेशमा रमाउने र स्थानीय रहसनसहन र संस्कृतिमा चासो राख्नेका लागि लाम्तुन होमस्टे रोजाइ बन्न पुगेको हो ।
२०७५ सालमा स्थापना भएको यस होमस्टेमा पर्वतलगायत अन्य जिल्लाबाट समेत पाहुना आउने गरेका छन् । यहाँ स्याङजा कास्की र बाग्लुङबाट समेत विभिन्न समुहमा पाहुना आउने गरेको होमस्टेका सचिव मनमाया गुरुङले जानकारी दिइन् । होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादन कोदो, चामलको रोटी, मकै, भट्मास तथा अन्य परिकार बनाउने गरेको साथै लोकल कुखुरा स्थानीय स्तरमा बनेका खानाका परिकारले स्वागत गर्ने गरेको उनले बताइन् ।
होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको सख्ंया बढेपछि व्यवसायी हर्षित बनेका छन् । वर्षायाममा सुनसान जस्तै हुने होमस्टेहरु हिउँदयाम लागेपछि ब्यस्त बनेका मात्र छैनन् पर्याप्त आम्दानीसमेत हुने गरेको मोदी–८ चित्रेका वडा अध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिए ।