Logo

तस्करी बढ्दा सुन आयात ६० प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्ष वैधानिक रुपमा सुन आयात करिब ६० प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार गत आवको पुससम्म २९ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको थियो । चालु वर्षको सोही अवधिमा ११ अर्ब ८९ करोडको मात्र आयात भएको छ । यो गत वर्षको तुलनामा ५९.२८ प्रतिशत कम हो ।

भन्सार नाकाबाट सुन आयात घटे पनि बजारमा भने पर्याप्त छ । विवाह र अन्य सिजनमा उपभोक्ताले सुन अभाव भएको महसुस गरेको अवस्था छैन । सुनचाँदी व्यवसायीहरु अहिले मुलुकभरका पसलमा गरेर दैनिक औसत २५ किलो सुन बिक्री हुने बताउँछन् । अहिले भन्सारमार्फत वैध रुपमा भएको आयातले यो माग धानेको देखिँदैन ।

आइतबारको बजार मूल्यअनुसार एक किलो सुनको ९० लाख रुपैयाँभन्दा माथि पर्छ । यो हिसाबले मुलुकभर दैनिक करिब २३ करोडको सुन कारोबार छ । यसअनुसार चालु आवका ६ महिनामा कम्तिमा पनि ४० अर्ब रुपैयाँको सुन कारोबार भएको देखिन्छ । चाडपर्वको महिनामा यसको किनबेच झनै बढ्छ ।

सुनचाँदी व्यवसायीहरु बजारमा किनबेच हुने सुनमध्ये आधा पुरानो सुन आउने दाबी गर्छन् । तर, अहिलेसम्म कतैबाट पनि यसको पुष्टि हुन सकेको छैन । व्यवसायीको भनाइलाई मान्ने हो भने पनि यो वर्ष २० अर्ब रुपैयाँभन्दा बढीको सुन आयात हुनुपर्ने थियो । तर, यसको आधामात्र भएको छ । बजारको माग र आपूर्तिको यही तथ्यांकले सुनको आपूर्ति अवैध रुपमा भइरहेको प्रष्ट पार्छ ।

सरकारी उच्च अधिकारीहरुका अनुसार विगतमा नेपालमा अवैध रुपबाट भित्रिने सुन धेरैजसो उत्तरी छिमेकी चीनबाट आउने गरेको थियो । पहिले खासा–तातोपानी मार्ग भएर बढी सुन आउने गरेकामा पछि त्यसको स्थान केरुङ–रसुवा मार्ग बनेको थियो । तर, अहिले भने अवैध रुपमा खाडी मुलुकहरुबाट सुन आइरहेको छ । चीनबाट आउने क्रम पनि रोकिएको छैन । सत्ताको पहुँच हुनेले काठमाडौं एयरपोर्टबाट सेटिङ मिलाएर ल्याउने गरेको ती अधिकारीको दाबी छ ।

उनका अनुसार सुन कारोबारमा सानो परिमाणलाई पनि ठूलो रकम पर्ने भएकाले पुँजी कम भएका व्यक्तिहरु यसमा लाग्दैनन् । यसैले राज्यको उपल्लो तहमा पहुँच नपुगेसम्म यो कारोबारमा संलग्न हुँदा ठूलो जोखिम मोल्नुपर्छ । ‘एक किलो सुन सरकारले समाते करिब करोड रुपैयाँ जान्छ,’ ती अधिकारीले आइतबार कारोबारसँग भने, ‘यो धेरै जोखिमयुक्त व्यापार हो । त्यसैले यसको कारोबारमा पहुँच पुग्ने ठूला व्यक्ति मात्र लागेका छन् ।’

ती अधिकारीले भनेजस्तै यो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टनका टन सुन बरामद भएका घटना छरपस्ट बनेका छन् । अहिले नेकपा माओवादी नेतृत्वको मिलिजुली सरकार छ । माओवादीकै केही उच्चस्तरका नेता अवैध सुन ल्याउनेमा मुछिएका छन् । यसले सत्तासँगको पहुँचको फाइदा उठाएर सुनको अवैध आयात भइरहेको देखिन्छ ।

प्रमुख प्रतिपक्षीले सुन तस्करीका सम्बन्धमा छानबिन गर्न संसद्मा आवाज उठाए पनि त्यो परिणाममुखी देखिन सकेको छैन । सरकारले तस्करीमार्फत भित्रिएको सुन पटकपटक विमानस्थलबाटै पक्राउ गर्दै आएको छ । तर, तस्करीका मुख्य अभियुक्त अझै पक्राउ पर्न सकेका छैनन् । सुन तस्करीको क्रम पनि रोकिएको छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले अवैध बाटोबाट आउने सुनको मात्रा बजारमा केही रुपमा भएको स्वीकार गरे । तर, उनले अहिले बजारमा पहिलेजस्तो ठूलो माग नै नभएकोले सुन आयात घटेको बताए । चालु वर्षको सुरुवातदेखि सुनको माग नभएको उल्लेख गर्दै उनले मूल्य बढेका कारण पनि खपत कम भएको दाबी गरे । ‘जब सुनको भाउ प्रतितोला लाख रुपैयाँ नाघ्यो, तब बजारमा माग पनि घटेको अवस्था छ,’ शाक्यले भने । मूल्यका कारण सुन बिक्री धेरै घटेको भने छैन ।

सेटिङ भत्काउने अभियानमा छौं: महानिर्देशक पौडेल
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारमा हुने सेटिङ भत्काउने अभियानमा लागेको बताएका छन् । भन्सार दिवसको साप्ताहिक कार्यक्रम अन्तर्गत आइतबार आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया गर्दै महानिर्देशक पौडेलले तस्कर र कर्मचारीबीच हुने सेटिङ भत्काउने अभियानमा विभाग लागेको बताएका हुन् ।

प्रविधिमार्फत भन्सार जाँचपास सुरु गरिएको र यसले भन्सार जाँसपासमा सुधारको थालनी समेत भएको उनले बताए । ‘विभागका सबै कर्मचारी खराब छन्, भन्सारका एजेन्सी सबै खराब छन् भन्ने होइन । हामी जति सक्छौं हाल भएको सेटिङ भत्काउँदै जानेछौं,’ उनले भने । सुनलगायतका वस्तु अवैध रुपमा भित्रिरहेकामा त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको उनको भनाइ थियो । भन्सार कार्यालयमा हुने सेटिङ भत्काउने काम भइरहेको तर तस्करहरु एक कदम अगाडि भएकोले चुनौती भएको उनले बताए । खुला सीमा अर्को चुनौती रहेको उनको भनाइ थियो ।

भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेसिन खरिद आवश्यक रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा निकै कम कर्मचारी रहेको उल्लेख गर्दै उनले समग्र निगरानी संयन्त्रमै समस्या रहेको बताए ।

महानिर्देशक पौडेलले तस्करहरुले सुशासन कमजोर भएको देशबाट तस्करीको काम गर्ने भएकाले मुलुकमा सुशासन भएमात्रै तस्करी रोक्न सकिने धारणा राखे । ‘जुन देशको गभर्नेन्स कमजोर छ, तस्करले त्यही देशमार्फत तस्करी गर्छन्,’ पौडेलले भने, ‘सकेसम्म चनाखो हुने र प्रविधिमार्फत जाँच गर्ने हो । हामीले त्यसै गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्