भूकम्प पीडितलाई एनआरएनको सवा करोड सहयोग «
Logo

भूकम्प पीडितलाई एनआरएनको सवा करोड सहयोग

काठमाडौं– जाजरकोट र रुकुममा गएको विनाकारी भूकम्प पीडितलाई दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिलगायतबाट संकलित करिब एक करोड २४ लाख रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको जनाइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को गत अक्टोबरमा सम्पन्न ११औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आफ्नो कार्यकाल ९० दिन पूरा गरेको अवसरमा सो जानकारी दिएको हो । नयाँ कार्यसमितिले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीका बीच विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु शनिकार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नयाँ कार्य समितिले जाजरकोट र रुकुम गएको भूकम्प पीडितलाई गैरआवासीय नेपाली संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्रालाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै एक करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको थियो । गैरआवासीय नेपाली संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेको संघले जनाएको छ ।

संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेश प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरेको जनाएको छ । यसैगरी आगामी २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघले स्थापनाकालदेखि नेपाली राष्ट्रिय खेलाडीको मनोबल बढाउन र खेल विकासका लागि आवश्यक सहयोग गर्दै आएको जनाएको छ ।

यसैबीच, टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीको सहयोगका लागि नेपाल क्रिकेट एशोसिएसन (क्यान) मार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ र नेपाली भलिबल राष्ट्रिय टिमका लागि ८ लाख रुपैयाँ सहयोग घोषण गरेको छ । यसैगरी छैटौं एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार रुपैयाँ, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार रुपैयाँ, एनआरएनए इलाम गोल्ड कपको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संघले धनगढीको सेती प्रादेशिक अस्पतालमा एक करोड २५ लाख रुपैयाँ, कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एक करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका डोटीका सुरेश सिल्लाको परिवारलाई संघ र कंगो कार्यसमितको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ ।

यस्तै, कञ्चनपुरको झलारीस्थित कृष्ण वैजनाथ बहुमुखी कलेजका छात्राहरूको शौचालय निर्माणका लागि २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । सडक बालबालिकाको शिक्षा तथा बसोबासको सहयोगार्थ युसेफ नेपाल, भक्तपुरमार्फत् ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । संघले गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानीलगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ ।

संघ र नेपाल सरकारको संयुक्त लगानीमा १० अर्बको लगानीमा सञ्चालन हुने इन्भेस्टमेन्ट कम्पनीमा गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन २ करोड बराबरको सीमा खारेज गरी लगानीको न्यूनतम सीमा नलाग्ने व्यवस्था गर्ने नेपाल सरकारको निर्णयप्रति संघले खुशी जनाएको छ । संघले सञ्चालन गरेका मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय काममा विगत ९० दिनमा मात्र करिब ६ करोड ६५ लाख ९१ रुपैयाँ बारबारको आर्थिक सहयोग गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्