इन्डो प्यासिफिक रणनीतिमा सहभागी भए नेपाल रणमैदान हुन सक्ने

इन्डो प्यासिफिक रणनीनिले नेपाललाई रणमैदान बनाउन सक्ने विज्ञ तथा सरोकारवाला व्यक्तिहरुले धारणा राखेका छन् । नेपाल विश्व मामिला प्रतिस्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले आर्थिक, राजनीति र सैन्य विषयमा इन्डो प्यासिफिक रणनीतिमा समेटिएकोले नेपाल यसमा संलग्न भए ठूलो मूल्य चुकाउनु पर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिमा सहभागी भएमा नेपालले मान्दै आएको असंलग्न परराष्ट्र नीति खारेज हुने बताए । उनले राष्ट्रियता र सुरक्षासँग.इन्डो प्यासिफिक जोडिएकोले बताउँदै नेपाल अफगानिस्तान हुन सक्ने बताए ।
सत्तारुढ (नेकपा)को जोसँग पनि ठिक्क पर्ने बानीका कारण नेपालमाथि खतरा बढ्दै गएको बताउँदै गजुरेलले भने, “सत्ताधारीहरुले राष्ट्रपतिलाई चीन पठाए, लगत्त्तै परराष्ट्रमन्त्रीलाई इन्डो प्यासिफिकमा हस्ताक्षर गर्न पठाए । यो अमेरिकाले चीनविरुद्ध ल्याएको हो । यो आर्थिक, राजनीतिक र सैन्य रणनीतिसँग सम्बन्धित छ । यसको पाटनर भए नेपालले ठूलो समस्या भोग्नुपर्ने हुन्छ ।” उनले सडकबाट यसलाई अस्वीकार गर्न पनि अपील गरे ।
कार्यक्रममा बोल्दै डा. नन्दबहादु सिंहले २१ औं शताब्दीको केन्द्र एसिया भएको बुझेर नै अमेरिकाले इन्डो प्यासिफिक रणनीति अगाडि सारेको बताए । उनले चीन र भारतबीच लडाइँ नहुने भन्दै इन्डो प्यासिफिक रणनीतिमा सहभागी भए अहिलेभन्दा नेपाल झन समस्यामा पर्ने बताए । यो रणनीतिबाट अमेरिकाका सुरक्षा विज्ञ तथा थिङट्यांक नै सन्तुष्ट नभएको बताए ।
नेपाली सेनाका पूर्वजर्नेल प्रेससिंह बस्न्यातले इन्डो प्यासिफिक रणनीतिले नेपालमा थप जटिलता पैदा गर्ने भन्दै अस्वीकार गर्नुपर्ने धारणा राखे । उनले अमेरिका इन्डो प्यासिफिक रणनीतिमार्फत नेपालमा प्रवेश गरेर चीनमाथि घेर्ने योजनामा रहेकोले त्यसबाट नेपाल तटस्थ रहनुपर्ने बताए ।
डा. मृर्गेन्द्र बहादुर कार्कीले इन्डो प्यासिफिक रणनीति चीनले अगाडि सारेको बिआरआईको विरुद्ध ल्याएको बताए । उनले चीनले विश्वशक्ति शान्तिपूर्ण रुपमा आफूमा सार्न बिआरआई अगाडि सारेकोले त्यसको विरुद्ध अमेरिका लागेको भन्दै नेपाल त्यसबाट अलग रहनुपर्ने धारणा राखे । अरुको लहैलहैमा पछि लाग्नुभन्दा कुन देशसँग नजिक हुने भन्ने नेपालको आफ्नै नीति हुनुपर्ने बताए ।
बरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको आन्तरिक मामलामा अमेरिका प्रवेश गर्न लागेको बताउँदै सचेत हुनुपर्ने धारणा राखे । उनले सरकारले यसलाई हल्का रुपमा लिएको भन्दै त्यसको .परिणाम ठूलो हुन सक्ने बताए ।
त्यसैगरी कार्यक्रममा समिर सिंह, नरबहादुर कार्कीलगायत धारणा राखेका थिए ।